Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत ७ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, चैत ७ बुधबार

  • 543
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत ७ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत ७ बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    समता घरेलु लघुविक्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा  आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकुलाई नियुत्त गरेको छ ।

    कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।

    दिगो विकासका लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गरिन्छ : अर्थमन्त्री पुन

    काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुनले शासनका हरेक पक्षमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उहाँले आर्थिक क्षेत्रमा संलग्न निकायमा पारदर्शिता र व्यावसायिकता विकास गरी सुशासन कायम गरिने बताउनुभयो ।

     

    बजेट प्रणाली र आर्थिक सुधारका लागि चालिएका कदमलाई तीव्रताका साथ कार्यान्वयन गरिने जानकारी दिँदै अर्थमन्त्री पुनले अन्तरराष्ट्रिय प्रतिबद्धताअनुसार दिगो विकास लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक ऋणलाई उत्पादनमूलक र बढी प्रतिफल दिने क्षेत्रमा परिचालन गरिने बताउनुभयो । 

    आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छ :  डा महत

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका डा प्रकाशशरण महतले आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । आर्थिक वर्ष २०८१/ ८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उहाँले  भन्नुभयो “अर्थतन्त्रलाई सुदृढ बढाउन कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँछ, कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँदैन भनेर लक्षित गरेर बजेट बनाउन जरुरी छ । लगानी बिस्तारै बढ्न थालेको छ, पर्यटक बिस्तारै आउन थालेका छन्, बिस्तारै आर्थिक अवस्थामा सुधार हुँदै जान्छ ।”

    शेयर बजार : नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घट्यो ,  ३ अर्ब ४९ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घटेको छ ।  आज ३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।यस दिन ३०५ कम्पनीको ९४ लाख ४५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ५२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । आज  दोस्रो स्थानमा शिवम् सिमेन्ट्स र तेस्रोमा गोर्खाज फाइनान्स परेका छन् ।

    जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई अर्थमन्त्री पुनको आग्रह

     

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय पुग्नुभएका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँग अर्थमन्त्री पुनले यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    “हामीले विद्युत् खपतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालमा जलविद्युत् उपयुक्त क्षेत्र हो”, अर्थमन्त्री पुनले भन्नुभयो, “सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । यसमा लगानी गर्न रुस इच्छुक भएमा त्यसको वातावरण मनाउन हामी तयार छौँ ।”  नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन पनि अर्थमन्त्री पुनले राजदूत नोभिकोभलाई आग्रह गर्नुभयो ।

    रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर

    काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरिएको छ ।

    विशेष अदालतले उनलाई शेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको हो।

    अदालतले सजाय निर्धारणका लागि १५ चैतमा पेश गर्न आदेश दिएको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो ग¥यो ।

    प्रि ओपन सेसन : नेप्से सूचक ५.१३ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.१३ विन्दुले बढेको छ । यससँगै सूचक २०७२.४७ अंकमा आएको छ । १० लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको १७ सय ६७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो ।

    साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा चैत २३ गते , लाभांश वितरण  प्रस्ताव पारित गर्ने

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले शुक्रबार चैत ९ गते बुक क्लोज गर्ने भएको छ ।

    महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं ।  महिला लघुवित्तले १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तका ९ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि बिक्री खुला गरिएको कम्पनीले जानकारी गराएको छ ।यसमा आजदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, साँगा काभ्रेपलाञ्चोक तथा सेयर रजिष्टर्ड नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    लगानी सम्मेलनको गृहकार्यलाई तीव्रता दिन निर्देशन

    काठमाडौँ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ ।

     

    उक्त बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएको छ । बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो । नेपालले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछ ।

    नयाँ वर्षदेखि ठमेल र दरबार मार्ग क्षेत्रको बजार २४सै घन्टा खुला गर्ने तयारी

    काठमाडौं ।काठमाडौंको ठमेल र दरबार मार्ग क्षेत्रको बजार २४सै घन्टा खुला गर्ने तयारी भइरहेको छ ।

    उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको हो ।

    सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले लिने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने कार्य अगाडि बढेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले  जानकारी सार्वजनिक गरे अनुसार  आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ ।’

    फागुन मसान्तसम्म १० खर्ब बढीको आयातमा ३ खर्ब बढी १० वस्तुको आयातमा खर्च ,यो सूचीको शीर्षमा डिजेल पुछारमा हवाई इन्धन

    काठमाडौं । चालु आवको फागुन मसान्तसम्म १० वस्तुको आयात गर्दा ३ खर्ब २ अर्ब ४० लाख २३ हजार रुपैयाँ खर्चिँदा ८५ अर्ब ४७ करोड २६लााख ४१ हजार रुपैया राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।विभागका अनुसार सो अवधिमा सबैभन्दा धेरै विदेशी मुद्रा डिजेल आयातमा खर्चिन परेको छ ।

     कुल ८ लाख ४३ हजार १ सय ७० किलोलिटर डिजेल आयात गर्दा ८८ अर्ब ८८ करोड ९३ लाख १२ हजार रुपैयाँ बाहिरियो ।सरकारले डिजेल आयातबाट ३४ अर्ब २४ करोड ४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन ग¥यो । गत आर्थिक वर्षको सोही अवधिमा ८ लाख २० हजार ७७० किलो लिटर डिजेल आयात भएको थियो। चलु आवमा २० हजार किलोलिटरको आयात वृद्धि भई  आठ महिनामा २.७३ प्रतिशतले बढी भयो  ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ कायम रहेको छ ।  आज तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर तोलाको १५ सय २० रुपैयाँ कायम भएको छ ।

    कच्चा पदार्थको अभावमा कैलालीका एक सय ३७ साना उद्योग बन्द

    गोदावरी ।कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित  एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् । 

    घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ ।

    चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

    चितवन । चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।

     

    हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ मा २५ विगाहा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका घननाथ महतोले उत्पादनले बजार नपाउँदा थन्काएर राख्नुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “केरा बिक्रीका लागि तयार भएको १२ दिन भयो कतै बेच्न सकेको छैन ।”

    काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा

    काठमाडौँ । देशका धेरै भू–भागमा आज वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनले जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४ दशमलव छ तथा सर्लाहीको चुरेमाईमा ३१ दशमलव आठ र सिन्धुलीमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ । ललितपुरको लेलेमा १३ दशमलव छ, काठमाडौँको ढापड्याममा १० दशमलव चार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात दशमलव चार मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बङ्लादेशको चालु खाता सञ्चिति तीन अर्ब अमेरिकी डलरभन्दा बढी

    ढाका । बङ्गलादेशको चालु खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्ममा तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । 

    बङ्गलादेश बैङ्कद्वारा प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार चालु खाता पुँजीले अघिल्लो आर्थिक वर्ष २०२२/२३ को सोही अवधिमा चार अर्ब ६४ करोड ८० लाख डलरको घाटाको तुलनामा आर्थिक वर्षको पहिलो सात महिनामा तीन अर्ब १४ करोड ८० डलरको जम्मा पुँजी देखाएको छ ।

    बङ्गलादेशले आर्थिक वर्ष २०२२/२३ मा निर्यात र विप्रेषणमा कमजोर वृद्धिको कारण २.६७ अर्ब डलरको चालु खाता घाटा व्यहोरेको थियो ।

    एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

     

    चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

    अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई दुई जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ ।  सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

     

    सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार  एसएल आर २२बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    नेपाल राष्ट्र बैकद्वारा ७ अर्ब ६९ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गरिँदै

    काठमाडौं ।नेपाल राष्ट्र बैंकले  आन्तरिक ऋण उठाउने प्रयोजनका लागि ७ अर्ब ६९ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकले  विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंक सूचना आह्वान गरी जनाएको हो ।

    ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने र   ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सकिनेछ । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा जनाएको छ ।

     

     
     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस