Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत ८ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 513
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत ८ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत ८ बिहीबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नेप्सेमा शेयर मूल्य समायोजन

    काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ४ हजार ५६२ दशमलव ६१ कायम भएको छ ।

    बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५ हजार २५७ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर सोमवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

    सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गर्नुभयो ।

     

    “निर्वाचन क्षेत्र र प्रादेशिक सन्तुलन बजेटमा हुनुपर्छ भन्ने विषय संसद्मा पनि उठेको छ । यो विषयम समितिमा पनि आएको छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “निर्वाचन क्षेत्रमा न्यूनतम सन्तुलन कायम गर्नेगरी स्रोतसाधन र सीमाभित्र रहेर बजेटलाई सन्तुलन कायम गर्ने प्रयास गर्नेछौँ ।” उहाँले आगामी बजेटमा कृषिको आधुनिकीकरण, बजारीकरण, आन्तरिक राजस्व, भन्सारलाई दक्ष जनशक्ति व्यवस्थापन र पारदर्शी बनाउनेलगायत विषयलाई प्राथमिकता दिइने बताउनुभयो ।

    जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली

    भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताउनुभएको छ ।   

     

    नेकपा (एमाले) बागमती प्रदेशले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर टिकट नदिने बताउनुभयो । पार्टीको सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर मात्र टिकट नबाँडिने उल्लेख गर्दै उहाँले देश, जनता र पार्टीको काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनावमा टिकट दिइने बताउनुभयो ।

    मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरी स्पष्टीकरण पेस गर्न भनेको छ ।

    कम्पनीले चैत ७ गते साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा चैत ८ गते ११ः१७ बजे कारोबार समयमा प्राप्त भएकाले नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । 

    शेयर बजार : नेप्से परिसूचक १५ दशमलव ३७ अङ्कले  घट्यो , ४ अर्ब ३१ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक १५ दशमलव ३७ अङ्कले घटेको छ ।  आज ४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज  २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
    यस दिन ३१५ कम्पनीको १ करोड ८५ लाखभन्दा बडी कित्ता सेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको संस्थापक सेयर सबैभन्दा बढी १ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र शिवम् सिमेन्ट्स परेका छन् ।

    मैलुङ खोला जलविद्युतको बोनस सेयर घोषणा

    काठमाडौं ।  मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले कुल २.३३ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको चैत ७ गते बसेको सञ्चालक समिति बैठकले २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    कुमारी बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री खुला

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख ४ हजार ७२१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान

    काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ । 

     

    सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको  संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो ।  जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिनुभयो । 

    आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । यस संस्थाको बुधबार  बसेको सञ्चालक समिति बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । यस सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

    प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    पिपुल्स हाइड्रोपावरको साधारण सभा  चैत ३० गते , हकप्रद निष्काशन प्रस्ताव पारित गर्ने

    पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३० गते, शुक्रबार, क्यालिटि बैंकेट, बुद्धनगर, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    आज रिडी पावरको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन अन्तिम दिन

    काठमाडौं ।  रिडी पावरको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज बिहीबार  अन्तिम दिन रहेको छ । बिहीबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । कम्पनीले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

    आज ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं  ।  ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज बिहीबार चैत ८ गते अन्तिम दिन रहेको छ  ।
    ग्रीन डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३.८% बोनस सेयर र कर प्रयोजनका लागि ०.२०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न चैत २७ गते साधारण सभा बस्दैछ ।  सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई१ ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

    सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोलाको १ लाख २७ हजार रुपैयाँ 

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ १ लाख २७ हजार रुपैयाँ कायम रहेको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २७ हजार २०० रुपैयाँ कायम रहेको छ ।बिहीबार सुनसँगै चाँदीको भाउ पनि उच्च दरमा बढेको छ। बिहीबार चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेको छ।

    १ सय ४१ जना डीएसपीको सरुवा, हेर्नुस कसको कहाँ सरुवा भयो  

    काठमाडौं । नेपाल प्रहरीले १ सय ४१ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

    चैत महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनीहरुको काज सरुवा तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    हेर्नुस कसको कहाँ सरुवा भयो 

    ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर 

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ ।

    कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर रहेको छ । 
    न्यूनतम् सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराख्नु भएका महानुभावहरुलाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।

    नेपाल प्रहरीका पेट्रोलपम्प २४सै घण्टा सञ्चालन हुने

    काठमाडौँ ।  नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् ।

    २४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

    काठमाडौँ ।  ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित हुनुहुन्छ ।  

     

    ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाइरहनुभएको छ । “कर्मचारी बढाउनुपर्छ, क्याफे पनि अलि चिटिक्क पार्दैछु”, सन्तोषले रासससँग भन्नुभयो, “अब भने पर्यटक फर्काउनु पीडा हुँदैन भन्नेमा ढुक्क छु ।”

    गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी 

    काठमाडौँ ।  गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो । 

     

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्नेगरी स्थानीय प्रशासनको कामकारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले उक्त निर्देशन जारी गरेको उहाँको सचिवालयले जनाएको छ । निर्देशनमा शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माणका काममा समन्वय र सहजीकरणलगायत विषय समेटिएका छन् ।

    जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने घोषणा

    टोकियो । जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। 

    कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७–९ जहाज ल्याउने जनाएको छ ।

    एयरलाइन्सका प्रवक्ताले आदेशको वित्तीय विवरणबारे टिप्पणी गर्न भने अस्वीकार गर्नुभयो । 

    “यी नयाँ विमानहरूको खरिदले उत्तर अमेरिका, एशिया र भारतजस्ता क्षेत्रहरूमा प्राथमिक ध्यान केन्द्रित गर्दै एयरलाइन्सको अन्तर्राष्ट्रिय आवागमनको क्षमता बढाउने र विस्तार गर्ने लक्ष्य राखेको छ,” जापान एअरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।

    यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ ।

    कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    राष्ट्रिय योजना आयोगका सदस्यमा चारजना नियुक्त गर्ने मन्त्रीपरिषद बैठकको निर्णय

    काठमाडौँ । राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा सरकारले चारजनालाई नियुक्त गरेको छ ।बिहिबार बसेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।  ललितपुरका डा‍. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा। शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका सदस्य बनेका छन् ।

    ‘आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन’ : बिनोद चौधरी

    काठमाडौँ ।नेपाली काँग्रेसका सांसद तथा उद्योगपति बनोद चौधरीले बाँसवारी छालाजुत्ता उद्योग जग्गा प्रकरणमा आफुलाई राजनीतिक स्टन्ड गर्न मुछिएको बताएका छन ।

    उनले सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) मा बिहीबार बिहान बयान दिएपछि पत्रकारसँग कुरा गर्दै आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने बताएका हुन ।

    उनले भने ‘आज यो इस्यूमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्न खोजेको प्रष्टसँग देखियो । देशको अर्थतन्त्र अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिएरहेको बेला मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि विश्वभरि रहेका नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले कुन सन्देश मनमा लिएर जान्छन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो ।

    रुसमा नेपालीको मुत्यु प्रकरण : शव पहिचान गर्न आफन्तको ‘डिएनए’ परिक्षण गरिँदै

    काठमाडौँ ।  रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उहाँहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ ।

    परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मङ्गलबार सात जनाको र आज एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ । विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डिएनए’ परीक्षणका लागि पठाएको हो ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस