Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  चैत ९ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 552
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  चैत ९ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत ९ शुक्रबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं  ।रिभर फल्स पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १:१ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिको लागि पेश हुनेछ ।  हकप्रदबाट प्राप्त रकमले यस कम्पनीले बैंक ऋणा भुक्तानी गर्ने जनाएको छ ।

    सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

    काठमाडौँ । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवद्र्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ ।

     

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलाई भेटेर स्थानीय उत्पादनको एकीकृत प्रवद्र्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आग्रह गरेको हो । चेम्बरले विप्रेषणबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई आग्रह गरेको छ ।

    अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षबीच छलफल

    काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन जना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअलमाध्यमबाट बैठक भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
         
    बैठकमा एसियाली विकास बैंक (एडिबी)का नेपाल निर्देशक आर्नो कोस्वा र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का प्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो । त्यसैगरी अर्थसविच कृष्णहरि पुष्कर, राजस्व सचिव डा रामप्रसाद घिमिरे, सहसचिवहरु उत्तरकुमार खत्री, रितेशकुमार शाक्य, श्रीकृष्ण नेपाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी हुनुहुन्थ्यो ।

    मानुषी लघुवित्तको साधारण सभा चैत ३० गते

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल, उग्रचण्डी बनेपा नगरपालिका ७ काभ्रेपलान्चोकमा बिहान बिहान १०:३० बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि संस्थाले चैत १९ गते बुक क्लोज गर्ने भएको छ ।

     
    मैलुङ्ग खोला जलविद्युतको साधारण सभा चैत २९ गते , लाभांश प्रस्ताव पारित गर्न

    काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले हाल कायम चुक्ता पुँजीको २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    घोराही सिमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घोराही सिमेन्टको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । 

     

    प्रभु बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं ।  प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

    नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज शुक्रबार चैत ९ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने लागेको छ  ।

    आज शिखर इन्सुरेन्स , जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको साधारण सभा

    काठमाडौं ।  आज  शिखर इन्सुरेन्स, जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले वार्षिक साधारण सभा रहेको छ । 
    शिखर इन्सुरेन्सको वार्षिक साधारण सभा केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ । यसले लभांश प्रस्ताव बिना नै साधारण सभा डाकेको हो । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

    जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । यसले लभांश प्रस्ताव बिना नै साधारण सभा डाकेको हो । लघुवित्तको सभाले किसान लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । यी दुई कम्पनी एक आपसमा १ बराबर ०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने लागेका हुन् ।

    कक्षा ४ र ६ को प्रश्नपत्र एउटै !

    पथरी  ।मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ ।  कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ ।  नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए ।

    कक्षा ६ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र कक्षा ४ को रहेको थियो । बिहान कक्षा ४ को परीक्षा भएको र सोही प्रश्नपत्र कक्षा ६ मा पनि दोहोरिएको विद्यार्थीको भनाइ छ । परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेपछि विषयसूची भन्दा बाहिरको भएपछि प्रश्नपत्र फिर्ता गरिएको विद्यार्थीको भनाइ छ ।

    प्रधानमन्त्रीलाई ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे जानकारी

    काठमाडौँ । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट)बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइएको छ । प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन गरेको प्राविधिक परीक्षण समितिले आज प्रधानमन्त्रीलाई भेटगरेर ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण प्रतिवेदन बुझाउँदै विभागको प्राविधिक अवस्थाबारे जानकारी गराएको हो ।

    नेपाल ट्रष्टको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई

    चितवन ।भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबीच आज एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो ।

     

    सम्झौतापत्रमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम अधिकारी र महानगरका  तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार महानगरले यही चैत ९ गतेदेखि विसं २०८२ असार मसान्तसम्म उक्त बङ्गाल सञ्चालन गर्नेछ ।

    ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता 

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

    सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

    काठमाडौँ । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा चासो दिएपछि  आयोजनामा उल्लेख्य प्रगति देखिएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ ।

     

    सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ किलोमिटर ७९ मिटर सुरुङ निर्माण भइसकेको छ । यो विवरण बिहीबार रातिसम्मको हो ।

     

    “सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ । कुनै भौर्गभिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छौ”, आयोजना प्रमुख बरालले भन्नुभयो ।

    पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

    काठमाडौँ ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ । महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का  प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको टोलीले पूर्वसभामुख महराको आज बयान सकिएपछि उहाँलाई हाजिरी जमानीमा रिहा गरिएको हो । 

     

    यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिनुभएको थियो । महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

    आजको मौसम : हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ । आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भवना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

     

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङगा नगरकोटीले जानकारी दिनुभयो ।

    स्रोत नखुलेको १० लाख भन्दा बढी  रकम सहित एक जना पक्राउ

    सिरहा।सिरहामा स्रोत नखुलेको १० लाख भन्दा बढी  रकम सहित एक जनालाई  प्रहरीले पक्राउ  गरेको  छ।
    जिल्लाको  लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.६ सितापुर बस्ने अं. वर्ष ३० को मुकेश कुमार साहलाई स्रोत नखुलेको अक्षरूपी दश लाख एक हजार छ सय तीस रुपैया सहित  पक्राउ  गरेको  हो।
      लहान नगरपालिका वडा नं. १  गोलचक्कर स्थित इ.प्र.का. लहान सिरहाबाट प्र।नि।लिलाभक्त वादे र जि।प्र।का।सिरहाबाट प्र।स।नि। दुर्गा यादवको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले पूर्व पश्‍चिम लोकमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा पुर्वबाट आईरहेको प्र ०१२-०१-००२ प ३९६९ नं.को सुपर स्प्लेण्डर मोटरसाईकलमा सवार भई आएका  साहलाई शंका लागि चेकजाँच तथा शरीर खानतलासी गर्दा निजले आफ्नो साथमा बोकेको रातो रंङको झोलाबाट श्रोत नखुलेको नेपाल एसबिआई बैंकको स्टीकर लागेको रु.१,०००।–  दरको नोटको १० वटा प्याकेट र अन्य रू.१६३०।( गरी जम्मा रु.१०,०१,६३०।– (अक्षरूपी दश लाख एक हजार छ सय तीस रुपैया) फेला परेकोले निजलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको  छ।
    पक्राउ  परेका साहलाई  इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाईएको  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको  छ।

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस