Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १२ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, चैत १२ सोमबार

  • 570
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १२ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १२ सोमबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कोरोबार फुकुवा

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको शेयर सोमबारदेखि नेप्सेले फुकुवा गरेको हो ।कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि शेयर कारोबार खुला गरिएको हो ।

    तारागाउँ रिजेन्सी होटल्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको ७ लाख ५४ हजार ६६१.६० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।

    शेयर बजार : नेप्से परिसूचक  १७ दशमलव ०१ अङ्कले  घट्यो , २ अर्ब ४८ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेको छ ।आज २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ४ वटा समूहको सूचकमात्र बढेका छन् । 
    आज  ३०४ कम्पनीको ७० लाख ६१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ९० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । आजदोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट् र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।

    सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट , प्रतिकित्ता रू.८१३ .८० पुग्यो

    काठमाडौं । कारोबारमा आएको चौथो दिन पनि सर्वोत्तम सिमेन्ट्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोवार दिनको तुलनामा आज ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ८१३ दशमलव ८० पुगेको छ ।

    सिंगटी हाइड्रो इनर्जीको ४६ लाख ११ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आजदेखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

    माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक गणेश बहादुर क्षेत्रीले आफ्नो नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । काठमाडौं स् माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक गणेश बहादुर क्षेत्रीले आफ्नो नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । 

     
    ठमेल  र दरबारमार्ग क्षेत्र २४ घन्टा खुलाउन स्थानीय निकाय र व्यवसायीबीच छलफल

    काठमाडौं । संघीय राजधानी काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे  स्थानीय निकाय र उद्योगी व्यवसायीबीच छलफल भएको छ ।
    सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसमेतको उपस्थितिमा उनीहरूबीच छलफल भएको हो ।उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएपछि  जिल्ला प्रशासन काठमाडौंले यो छलफल गरेको छ ।
    यस विषयमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ।

    एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू

    सुन्दरहरैँचा (मोरङ) ।  एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरू भएको हो ।त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ । एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर सडक चार लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

    काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

     

    मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोही बमोजिम कार्यान्वयन गर्न÷गराउन आग्रह गरेको हो ।

    सुनको मूल्य प्रतितोला  दुई सयले बढ्यो , प्रतितोला १ लाख २६ हजार 

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख २६ हजार ७०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

    केन्द्रीय बैंकले २० अर्बको ट्रेजरी बिल जारी गर्ने

    काठमाडौं ।नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । २० अर्ब ७१ करोड जसमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

    भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित आम्रपाली सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मलङ्गवा सर्लाहीबाट आर्थिक वर्ष २०७५÷०७६ मा कृषि सेड निर्माणका लागि उपलब्ध सरकारी बजेटमा भ्रष्टाचार भएको पाइएको छ ।

    फागुन मसान्तसम्म ७ अर्ब बढीको ६२ हजार बढी मेट्रिक टन चामल आयात, बासमती चामल आयातको हिस्सा बढी

    काठमाडौं । चालु आर्थिक वर्षको सुरुको आठ महिना फागुन मसान्तसम्म ६२ हजार मेट्रिक टन बढीको चामल आयात गरिएको छ ।६२ हजार मेट्रिक टन चामलको भन्सार मूल्यांकन  सवा ६ अर्ब रुपैयाँ बढीको गरिएको छ ।राजस्व आम्दानी गरी फागुन मसान्तसम्म ७ अर्ब बढीको चामल आयात भएको हो ।
    फागुन मसान्तसम्मको आठ महिनामा कुल ८ खर्ब ९७ अर्ब बढीको आयातमा चामल मात्रको आयात ७ प्रतिशत बढीको रहेको छ ।

    होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

    काठमाडौँ ।  होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । 

    गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति  उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको  हकमा छानबिन भइरहेको छ ।”

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा दीपक कार्की नियुक्त

    काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा जनता समाजवादी पार्टीका नेता दीपक कार्कीलाई नियुक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।सोमबार दिउँसो नै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

    मेलम्चीका पूर्वठेकेदार र परामर्शदातालाई बयानका लागि विशेष अदालतमा बोलाइयो

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालियन कम्पनी सीएमसी रेभेना र परामर्शदाता इप्टिसालाई बयानका लागि बोलाइएको छ । विशेष अदालतले  बाटोको हदम्यादबाहेक १५ दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन कम्पनीका प्रतिनिधिहरुलाई बोलाएको हो ।

    गत ६ फागुनमा  मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी मन्त्रालयका तत्कालीन ३ सचिवसहित १५ जना  र परामर्शदाता र निर्माण कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। 

    चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन। भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताए।

    अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

    काठमाडौं । अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको छ।

    सोमबार बिहान भएको दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ।अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको छ।

    सोमबार बिहान भएको दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ।

     
     
     

     

     
     
     
     

     

     
     

     

     

     


      

     

     

    प्रतिक्रिया दिनुहोस