Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत १३ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 390
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत १३ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १३ मंगलबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित एक जना पक्राउ

    काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ५० ग्राम सुन सहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–११ का पुरुषोत्तम शर्मालाई नियन्त्रणमा लिएको हो ।भन्सार छलेर सुन ल्याएको भन्दै २३ वर्षीय शर्मा पक्राउ परेका हुन् । उनीबाट ५० ग्रामको सुनको ब्रासलेट बरामद गरिएको हो ।

    सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्र शिथिलतामा गयोः अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र संकट वा महासंकटमा नरहेको बताएका छन् । यद्यपि अर्थतन्त्रमा शिथिलता भने रहेको उनले बताए । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तर मन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको उल्लेख गरे ।राजश्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न उनले मन्त्रालयका दुवै सचिव, सह–सचिवहरु र विभागीय प्रमुखलाई निर्देशन दिए । उनले अर्थ मन्त्रालयले अरु मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो उति नै छिटो नतिजा आउने बताए। मन्त्री पुनले विगतमा खर्च गर्न कसिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा जोड दिए । ‘खर्च गर्न टाइट गरिएका कारण राजश्व संकलन पनि खुम्चियो’, मन्त्री पुनले भने, ‘अर्थले खर्चका लागि प्रेरित गर्ने बित्तिकै अरुले पनि खर्च बढाउँछन् ।’

    सस्तो ब्याजदरमा लगानी बढाउन कुलमानले गरे एसियाली पूर्वाधार लगानी बैंकका प्रतिनिधिलाई आग्रह

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेको छ ।एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम.पी. रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरे ।नेपालको ऊर्जा क्षेत्रको रुपरेखा तथा लगानी आवश्यकता सम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरुसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताए ।

    शेयर बजार : नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढ्यो , २ अर्ब ३५ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेको छ । आज २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० समूहको सूचक बढेका छन् । यस दिन ३१० कम्पनीको ६८ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र जोशी हाइड्रोपावर परेका छन् ।

    हिमालयन लाइफको संस्थापक शेयर १७५ रूपैयाँमा बिक्री खुला

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर चैत १३ गतेदेखि विक्रीमा आएको छ ।यो शेयरको मूल्य प्रतिकित्ता १७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन दिदा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    यी शेयर खरीदका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

    फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (चैत १३ गतेदेखि )१ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । यसमा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत १५ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा बुझाउन सक्नेछन् ।

    युनाइटेड अजोड इन्सुरेन्सको डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 

    काठमाडौं ।  युनाइटेड अजोड इन्सुरेन्सले १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २७० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबारबाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल, सुन्धारा काठमाडौं आवेदन दिनुपर्नेछ ।

    आज सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको सेयर लिलामी भर्ने अन्तिम दिन 

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । बैंकले चैत ४ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

    सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम २४५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम ७५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली पेश गर्न सकिनेछ ।

    सिद्धार्थ प्रिमियर इन्सुरेन्सको २ लाख ८७ हजार कित्ता सेयर लिलामी खुला

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आजदेखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत २० गतेसम्म आवेदन दिन मिल्नेछ ।

    एनआईसी एसिया बैंकद्वारा बिमाबापत १ करोड २० लाख भुक्तानी

    काठमाडौँ । एनआईसी एसिया बैंकले १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले कुल १ करोड २० लाख बिमा रकम भुक्तानी गरेको छ ।

    बैंकको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत यही असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बिमाबापत सात जना र दुर्घटनामा परेका पाँच जनालाई कुल १ करोड २० लाख बिमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बिमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको हो ।

    बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक तथा परिवार सदस्यलाई बिमा कम्पनीहरूले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो । बैंकको बिमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैयाँभन्दा बढी बिमा दाबी रकम हस्तान्तरण भइसकेको छ ।

    आज  माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा , लाभांश प्रस्ताव पारित गर्ने

    काठमाडौं  । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा आज चैत १३ गते मंगलबार बस्दै छ । सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । साधारण सभाले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज गरिसकेको छ ।

    सपोर्ट लघुवित्तको साधारण सभा  चैत १७ गते

    काठमाडौं । सपोर्ट लघुवित्तको चैत १७ गते शुनिबार नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

    रोजगारी र उत्पादन बढाउने खालका कार्यक्रम बनाउन राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले  राष्ट्रिय योजना आयोगलाई उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न  निर्देशन दिएका छन।प्रधानमन्त्री कार्यालयमा मंगलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्न निर्देशन दिएका हुन् ।

    त्यसबेला उत्पादन र रोजगारी कम  हुनु देशको प्रमुख समस्या भएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको  जनाएका थिए ।

    काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र

    काठमाडौँ काठमाडौँ उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको  माग भएपनि यसले मूर्तरुप लिन भने सकेको छैन । 

    बालाजु, पाटन र भक्तपुरमा सञ्चालित औद्योगिक क्षेत्रहरुको जीर्ण पूर्वाधार संरचना, घना मानवबस्तीमा सुरक्षा जोखिम र प्रदुषणको असरलगायत कारण स्थानान्तरण गरिनुपर्ने आवाज उठ्दै आएको छ । तर, एकातर्फ सरकारको योजना कार्यान्वयनमा सुस्तता देखिएको छ भने अर्कोतर्फ उद्योगीहरु पनि स्थानान्तरण गर्दा सिर्जना हुनेसक्ने समस्यामा सरकारको साथ खोजिरहेका छन् । यी क्षेत्रका उद्योगलाई कहाँ, कसरी र कहिले सार्ने टुङ्गो लाग्न सकेको छैन ।

     

         पहिलोपटक आर्थिक वर्ष २०७३र७४ को बजेट वक्तव्यमार्फत् सरकारले उपत्यकाभित्रका उद्योगहरु सार्ने नीति सार्वजनिक गरेको थियो । उक्त आर्थिक वर्षको बजेटमा दुई वर्षभित्र काठमाडौँ उपत्यकामा रहेका औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर्ने व्यवस्था मिलाइने उल्लेख थियो । बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रका उद्योगलाई हेटौँडाको मयुरधापमा सार्ने योजना सरकारको थियो । तर मयुरधाप औद्योगिक क्षेत्र आफै बन्ने नबन्ने टुङ्गो नलाग्दा त्यहाँ उद्योग सार्ने योजना कार्यान्वयन हुन सकेन ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई राज्य व्यवस्था समितिको छलफलमा बोलाइयो 

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न बोलाएको छ ।समितिले  बुधबार बिहान ११ बजे हुने छलफल बैठकमा  उपप्रधानमन्त्री लामिछानेलाई बोलाएको हो ।

    सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने सो बैठकमा  गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ ।

    श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

    काठमाडौँ।  निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो । 

     

    एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

    बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुलमा आंशिक क्षति, २० भन्दा बढी व्यक्ति फसेको आशङ्का

    वासिङ्टन । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मङ्गलबार जनाएको छ । 

    पानीजहाजको ठक्करका कारण ‘आई–६९५ कि ब्रिज’ मा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गरी साझा गरेको पोस्टमा उल्लेख गरिएको छ । प्राधिकरणले भिडियोमार्फत सवारी चालकहरूलाई पटाप्सको नदीको पुल प्रयोग नगर्न निर्देशन दिएको छ । 

    आन्तरिक राजस्व विभागका महानिर्देशकको सरुवा , महत्वपूर्ण जिम्मेवारी दिने गरी अर्थमा तीन सहसचिव लगियो

    काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक तथा उपमहानिर्देशकलाई सरुवा गरेको छ ।अर्थमन्त्रालयले टेलिकमको बिलिङ ठेक्का प्रकरणमा विवादित रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक भूपाल बरालको सरुवा गरेको हो ।

    यस्तै मन्त्रालयले  उपमहानिर्देशक अर्जुन प्रसाद भट्टराईको पनि सरुवा गरेको छ ।भूपाल बराललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको जिम्मेवारी दिइएको छ भने भट्टराईलाई संघीय मामिला तथा   सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

    नेपाल लगानीको प्राथमिकतामा छः एआइआइबी

    काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई लगानीको प्राथमिकतामा राखिएको जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

     

    त्यस अवसरमा अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गर्नुभएको थियो । जवाफमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका एआइआइबी निर्देशक आरएमपी रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा स्रोतको उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइने बताउनुभयो ।

    मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

     

    मौसमविद् राजु प्राधानाङ्गले आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली हुने सम्भावना रहेको जानकारी दिनुभयो । विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ । 

     
     
     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस