Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

आन्तरिक राजस्व कार्यालय बालाजुमा कर अधिकृतहरूको आतंक,  उद्योगी /व्यापारी त्रासमा

आन्तरिक राजस्व कार्यालय बालाजुमा कर अधिकृतहरूको आतंक,  उद्योगी /व्यापारी त्रासमा

  • काठमाडौं । आन्तरिक राजस्व कार्यालय बालाजुमा कार्यरत कर अधिकृतहरूले उद्योगी / व्यापारीहरूलाई आतंकित पारेका छन् । कर अधिकृतहरूले कर असुली तथा व्यवसायिक फर्महरूको लेखापरीक्षण तथा कारोबार परीक्षणको नाममा त्यस क्षेत्रका उद्योगी / व्यापारीहरूलाई त्रसित बनाएका हुन् । 

    आन्तरिक राजस्व कार्यालय बालाजु अन्तर्गत काठमाडौं महानगरपालिका वडा नंं. १६, तारकेश्वर नगरपालिका , टोखा नगरपालिकाका वडा नंं. ८ देखि ११सम्म र रसुवा जिल्ला कार्यक्षेत्र तोकिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुमा कार्यरत कर अधिकृतहरूले  उद्योगी व्यवसायीहरूलाई फोन गर्ने, व्यवसायिक फर्महरूका कागजपत्र नियन्त्रणमा लिने , कर असुलीका नाममा उद्योगी व्यवसायीहरूलाई अनावश्यक दुःख दिने र अतिरिक्त रकम बार्गेनिङ गरी गरी असुली गर्ने गरेको बालाजुका एक व्यवसायीले नयाँ सडकलाई बताए ।

    आन्तरिक राजस्व कार्यालय बालाजुमा रामहरि निरौला, शम्भूप्रसाद भट्टराई, डिल्लीराम चौलागाई , रोबिन शाह, टंकमणि घिमिरे र विजय प्रसाद लामिछानेलगायत कर अधिकृतहरू  कार्यरत छन् ।करअधिकृतहरूले व्यवसायिक फर्महरूको कारोबार परीक्षणको नाममा कागजपत्र नियन्त्रणमा लिने,  व्यवसायीहरूलाई अन्दाजको भरमा मौखिक रकम तोक्ने, कार्यालय प्रमुखलाई समेत जानकारी नदिई व्यवसायिक फर्महरूबाट अतिरिक्त रकम असुल्ने गरेको त्यस क्षेत्रका उद्योगी व्यवसायीहरूले बताएका छन् ।

    आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय बालाजुलाई वार्षिक ११ अर्ब १४ करोड बराबर राजस्व उठाउने लक्ष्य दिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुका सूचना अधिकारी विजयप्रसाद लामिछानेका अनुसार फागुन मसान्तसम्म कार्यालयले ५ अर्ब ८७ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।यो वार्षिक लक्ष्यको ५३ प्रतिशत भएको लामिछानेले बताए ।

    आन्तरिक राजस्व कार्यालय बालाजुमा कर परीक्षण तथा अनुसन्धान शाखा , कर संकलन शाखा, करदाता सेवा शाखा छन् । तीनवटै शाखामा कार्यरत कर अधिकृतहरूले बजारमा आर्थिक सुस्तता छाएको र उद्योगी व्यवसायीहरू निराश भएको अवस्थामा आक्रामकरूपमा व्यापारीहरूमाझ प्रस्तुत हुँदा त्रासदी सिर्जना भएको छ ।

    राज्य आयको प्रमुख स्रोत राजस्व हो । आयकर, भन्सार महसूल, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी कर आदि राज्यका प्रमुख आयस्रोत हुन् ।आन्तरिक राजस्व कार्यालय , भन्सार कार्यालय,  मालपोत कार्यालय, यातायात कार्यालय आदि प्रमुख कर संकलन हुने कार्यालयहरू हुन् । आन्तरिक राजस्व कार्यालय बालाजुमा कार्यरत कर अधिकृतहरूले पदको दुरुपयोग गरी उद्योगी व्यवसायीहरूबाट अतिरिक्त रकम असुली आतंक मच्चाउनुले व्यवसायीहरू त्रसित बनेको उद्योगी व्यवसायीहरूको गुनासो छ ।

    आन्तरिक राजस्व कार्यालय बालाजुका प्रमुख कर अधिकृत लालप्रसाद शर्मा पंगेनी  राजस्व समूहका क्षमतावान कर अधिकृत हुन् । क्षमतावान कर अधिकृत पंगेनी कार्यरत अड्डामै कर अधिकृतहरू बेलगाम हुँदा उद्योगी व्यवसायीहरू पीडित हुनुलाई आश्चर्यको रूपमा लिइएको छ ।

    केही समय अगाडि आन्तरिक राजस्व कार्यालय बालाजुमा कार्यारत एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको थियो भने अख्तियारले आन्तरिक राजस्व कार्यालय बालाजुमा कार्यरहतहरू सचेत गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij