Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १५ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, चैत १५ बिहीबार

  • 273
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १५ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १५ बिहीबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    images

    हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयोः अध्यक्ष ढकाल

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् । 

    बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले नेपालमा यात्रा गर्ने विदेशीहरू कम भएकाले पर्यटन व्यवसायमा नकारात्मक असर परेको दाबी गरे । उनले सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्सन गर्नु आवश्यक रहेको बताए ।

    सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौं । सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  
    कम्पनीकोबीचमा  आज  भएको सम्झौतापत्रमा सिद्धि हाइड्रो कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

    मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
    नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ ।

    नेप्सेल बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो ।

    शेयर बजार :  नेप्से परिसूचक ४ दशमलव ७८ अङ्कले बढ्यो , २ अर्ब ६५ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ४ दशमलव ७८ अङ्कले बढेको छ । आज २ अर्ब ६५ करोडको कारोबारको कारोबार भएको छ ।आज  २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ५ वटा समूह घटेका छन् बाँकी समूहका सूचक सकारात्मक रहेका छन् ।
    यस दिन ३१३ कम्पनीको ६६ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ३७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सर्वोत्तम सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र    शिवम् सिमेन्ट्स परेका छन् ।

    रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइन परीक्षण अन्तिम चरणमा

    रसुवा ।  उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ ।

     

    स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले निर्माण गरेका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो ।

     

    तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न भइसकेको र बाँकी एकको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेका अनुसार रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने कार्य, बालुवा थिग्रयाउने, तीन पोखरी तथा रेडरेस एवं पेनस्टक सुरुङ र विद्युत्गृहसमेतका संरचना सम्पन्न गरी जडान गरिएका सबै उपकरणको परीक्षणमा पूर्ण रूपको सफलता मिलेकाले हालसम्म कार्यरत प्राविधिक उत्साहित भएका छन् ।

    वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

    वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।  

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताउनुभयो । “विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।”

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत 

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
    ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै चैत १८ गते अर्थात आइतवारदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । आगामी १० वर्ष अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।

    तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न , धितोपत्र बोर्डमा माग्यो अनुमति

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

    हाल कम्पनीको चुक्ता पूँजी रू ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि  चुक्ता पूँजी रू८० करोड पुग्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा  चैत २० गते

    काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चैत २० गते मंंगलबार साधारण सभा बस्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ । बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गरेको छ ।

    आज मैलुङ खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं ।  मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ  ।कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले शुक्रबार  बुक क्लोज गर्दैछ ।
    कम्पनीले गत वर्षको नाफाबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    आज फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज  अन्तिम दिन रहेको छ ।यसमा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले चैत १३ गतेदेखि उक्त संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

    सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोलाको १ लाख २७ हजार ९०० रुपैयाँ 

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १५ सय १० रुपैयाँ कायम भएको छ ।

    लगानीकर्ताको विश्वास बजारप्रति टुट्दै गएकोले नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

    नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको सेक्युरिटिज प्रालि, नेपालगञ्जका प्रमुख उदय अधिकारीले जानकारी दिनुभयो ।

    इलाम–२ उपनिर्वाचन  : रास्वपाबाट लिम्बू उम्मेदवार

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । 

     

    रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आउनुभएका लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णयबारे जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिवसमेत रहनुभएका लिम्बूलाई पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारहरुबीच छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको थियो ।

    यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णयहरू, लम्साललाई सचिवमा बढुवा , पर्यटन बोर्डमा तीन जना नियुक्त

    काठमाडौं । सरकारले बिहीबार विभिन्न निर्णयहरू गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट देहाय बमोजिमको निर्णयहरू भएका छन् ।

     

    १. नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने ।

    २. आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु. ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु. ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु. ६० अर्ब र स्थानीय तहहरुको लागि रु. ८८ अर्ब स्वीकृत गर्ने ।

    ३. चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु. २७०७/२८ न्यूनतम समर्थन मूल्य तोक्ने । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने ।

    ४. नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा श्री ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने । ५. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री हरिप्रसाद लम्साललाई बढुवा गर्ने ।

    मापदण्डविपरीत सञ्चालित चार नदीजन्य उद्योग बन्द गरिने

    दाङ । जिल्ला अनुगमन समितिले मापदण्डविपरीत सञ्चालित चारवटा नदीजन्य उद्योगलाई बन्द गर्ने जनाएको छ । स्थलगत अनुगमनपछि आज तुलसीपुरमा बसेको समितिको बैठकले ती उद्योग मापदण्ड र कानुनविपरीत सञ्चालनमा आएको निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको हो ।

     

    जिल्ला अनुगमन समितिका संयोजक नित्यानन्द शर्माको नेतत्वमा समितिका सदस्यसहितको टोलीले जिल्लामा सञ्चालित दश क्रसर तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि चार उद्योगलाई तत्काल बन्द गर्न पत्राचार गर्ने र बाँकीलाई अपुग कागजात पेस गर्न, मापदण्डअनुरुप व्यवस्थित गर्न निर्देशन दिने निर्णय भएको अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।

    \प्रतिकूल मौसमले हवाई उडान प्रभावित

    काठमाडौँ ।प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

     

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो ।

     

    उहाँका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड)भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ । 

    आजको मौसम : देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

    काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

     

    विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो । 

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस