Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १६ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 582
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १६ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १६ शुक्रबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिनुभएको छ ।  विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज मन्त्रालयमा भएको भेटमा उहाँले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताउनुभयो ।
     
    निवर्तमान अर्थमन्त्री डा महतले संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उहाँको भनाइ थियो । “मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन । राज्यको नीतिमा स्थायित्व चाहिन्छ”, पुनले भन्नुभयो, “कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो । तर मैले त्यसो गर्नु उपयुक्त ठानिन ।” सिद्धान्त र प्राथमिकताबारे सङ्घीय संसद्का दुवै सदनमा सांसदले हरेक प्रश्नको जवाफ दिएको र जस्ताको तस्तै पारित भएको मन्त्री पुनले बताउनुभयो ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । यस बैंकले गत फागुन १ गतेदेखि फागुन ४ गतेसम्म बिक्री खुला गरेको ‘१०% एनआइएमबी डिबेन्चर २०९०’ सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र बिक्री गरेको थियो ।

    तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर वितरण

    काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले पुस २४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  चैत १४ गते बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको कम्पनीले पुस ११ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

    नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा वैशाख १८ गते 

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा वैशाख १८ गते बोलाएको छ । सभा होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११:३० बजेबाट सुरु हुनेछ ।बैंकको लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।

    सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।बैंकको केन्द्रीय कार्यालयको ठेगना परिवर्तन गर्ने एजेन्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

    एनएमबि बैंकको ५२ हजार १७२ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । एनएमबि बैंकले आजदेखि ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ तोकिएको छ ।यसमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

    आज नेसनल लघुवित्तको साधारण सभा , लाभांश वितरण प्रस्ताव पारित गर्ने

    काठमाडौं । नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज शुक्रबार  बस्दैछ । सभा, धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । साधारण सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभामा ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि पेश  गर्नेछ  ।संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।  साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ ।

    आरम्भ चौतारीको साधारण सभा चैत ३० गते 

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते बुक क्लोज गर्ने भएको छ ।

    टोकन लिएकै दिन श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालय ताहचलमा तीन सिफ्टमा काम सुरु

    काठमाडौं । श्रम स्वीकृति लिनेहरूको चाप बढेकाले त्यो काम तीन सिफ्टमा  सेवाग्राहीहरूलाई सेवा दिन सुरु गरिएको छ । वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको हो । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ वटा सिफ्टबाट ३ वटामा विस्तार गरिएको छ । श्रम अधिकारीहरूका अनुसार  अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने भएको छ ।

    सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोलाको १ लाख ३० हजार रुपैयाँ 

    काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (चैत १६ गते) छापावाल सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

    यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय

    काठमाडौँ ।सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङ्ख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयबारे  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । बैठकले चैते धानको न्यूनतम समर्थन मूल्यसमेत तोकेको उहाँले जानकारी दिनुभयो । 

    चालु आर्थिक वर्षमा २०८०÷८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरेको हो ।

    आव २०८१÷८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्साबमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि रु ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु ६० अर्ब स्वीकृत गर्ने र स्थानीय तहहरूका लागि रु ८८ अर्ब स्वीकृत गर्ने निर्णय बैठकले मन्त्री शर्माले जानकारी दिनुभयो । 

    एनआरएनएको ११औँ महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको छानिबिन समितिको ठहर

    काठमाडौं । सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको समितिले  गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको ठहर गरेको छ ।  चौहान समितिले  एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहने १२ वटा कारण औँल्याएको हो ।

    एनआरएनको इतिहासमा पहिलोपटक अनलाइनबाट गरेको मतदानको वैधानिकतामाथि प्रश्न उठेको थियो । सो निर्वाचन विवादमा परेपछि गत माघ ९ गते मन्त्रिपरिषदको बैठकले छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष निर्वाचन त्रुटिपुर्ण रहेको ठहर भएको प्रतिवेदन प्रस्तुत गरेको  हो ।कात्तिक ३ गते (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेको थियो ।

    गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

    हेटौंडा(मकवानपुर) ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको बताउनुभयो ।

    चालु आर्थिकमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् ।

     

    कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आवमा परेका निवेदनमध्ये एक सय ६५ मुद्दा दर्ता भइसकेको उहाँले जानकारी दिनुभयो ।

     

    शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ । केही छलफलकै क्रममा छन् ।”

    कपनबाट पेस्तोलसहित एकजना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो ।

     

    परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको छ ।

    पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक

    गण्डकी ।पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक रहेका पाइएको छ । बालश्रम न्यूनीकरण सम्बन्धमा पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

     

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले हाल केन्द्रले किडासालगायत दाताहरूको सहयोगमा बालश्रम न्यूनीकरण, जीविकोपार्जन तथा शिक्षालगायत चारवटा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

    मौसम : भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने

    काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने  महाशाखाको   पूर्वानुमान छ । 

    महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको बताउनुभयो । “हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि  सुधार हुनेछ ।”

    करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

    काठमाडौँ।  सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ ।  प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो । 

    राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिनुभयो ।  विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उहाँको भनाइ छ ।

    त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन

    काठमाडौं ।   त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ । 

      त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आज गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिन भित्र प्रतिवेदन पेश गर्न उक्त  समिति गठन भएको हो । त्रिभुवन विश्वविद्यालयबाट आज जारी प्रेस विज्ञप्तिमा उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा उल्लेख गरिएको छ । 

    विसं २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२ ) र शिक्षाशास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२ ) को उत्तरपुस्तिका हराएपछि विश्वविद्यालयले यही चैत २१ गते यी दुई विषयका परीक्षा सञ्चालन हुने गरी सूचना प्रकाशित भइसकेको जानकारी दिइसकेको छ ।

     
     
     
     
     
     
     
     

     

     
     
     
     

     

     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस