Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत १९ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत १९ सोमबार

  • 678
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत १९ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १९ सोमबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

    काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका छन् । लगानी सम्मेलन सफल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उनको भनाई थियो । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो ।

    भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भयो । अर्थमन्त्रीले लगानी सम्मेलनको राम्रो तयारी भएको भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानुनी र प्रक्रियागत सुधारको तयारी भइरहेको बताए । ‘सम्माननीय प्रधानमन्त्रीले हामी मन्त्रीहरुलाई मन्त्रिपरिषद बैठकमै सबै खाले तयारी गर्न निर्देशन दिनुभएको छ’, पुनले भने, ‘लगानीको वातावरण निर्माण हुने भएकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ता ल्याइदिन यहाँ र दूतावासबाट सहयोगको अपेक्षा गरेका छौं ।’ राजदूत थम्प्सनले लगानी सम्मेलनको पूर्वसन्ध्यामा लगानी वातावरण रहेको सन्देश दिए मन्त्री पुनलाई आग्रह गरेका थिए । नेपालले लगानी वातावरण सुधारका लागि क्रेडिट मूल्याङ्कन (कन्ट्री रेटिङ) को काम अघि बढेको जानकारी पनि मन्त्री पुनले राजदूत थम्प्सनलाई दिए । सरकारले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गर्ने संस्था फिचमार्फत नेपालको क्रेडिट मूल्याङकन लागि प्रक्रिया अघि बढाएको छ । बेलायती सहयोग नियोगअन्तर्गतको ‘फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) ले नेपालको आग्रहमा कन्ट्री रेटिङ गर्दा लाग्ने सेवा शुल्क फिचलाई भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

    शेयर बजार : नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घट्यो ,२ अर्ब ८७ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घटेको छ । आज २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये २ समूहका सूचकमात्र बढेका छन् ।आज २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

    यस दिन ३१५ कम्पनीको ७२ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४७ करोड २९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सर्वोत्तम सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र गोर्खाज फाइनान्स परेका छन् ।

    साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

    १० अर्ब ३६ करोड बढीको कर छली मुद्दामा अर्थमन्त्रालयका तीन दर्जन बढी अधिकारीहरूमाथि अख्तियारले छानबिन गर्ने 

    काठमाडौं । राजस्व अनुसन्धान विभागले चैत्र १८ गते दायर गरेको कर छली मुद्दामा अर्थमन्त्रालयका तीन दर्जन बढी अधिकारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको छ । अमेरिकी लगानीको कोटिभिटी नेपाल प्रालि विरुद्ध राजस्व अनुसन्धान विभागले चैत्र १८ गते आइतबार दायर गरेको १० अर्ब ३६ करोड ४५ लाख २० हजार बिगो मागदाबी सहितको  मुद्दाको अख्तियारले समेत छानबिन गर्ने भएको हो ।

    अमेरिकामा रहेको कम्पनीले नेपालमा सिस्टर कम्पनी खोली विभिन्न सफ्टवेयरहरूको उत्पादन गरी आफ्नै र आफ्ना माताहतका विदेशी कम्पनीलाई निर्यात  गरेको थियो । कम्पनीले नेपालमा उत्पादन भएको सफ्टवेयर आफ्नै र आफ्नै मातहतका कम्पनीहरूलाई विगत २०६२/६३ देखि निर्यात गर्दै आएको थियो ।कम्पनीले वस्तु निर्यात वापत् निर्यात गर्दा शून्य भ्याटमा निर्यात गरेको थियो । राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा कम्पनीले वस्तु निर्यात वापत् भ्याट  मात्र   ४ अर्ब ७६ करोड ५८ लाख ४३ हजार राजस्व छलेको उल्लेख गरेको छ ।

    चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घट्यो

    काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घटेको पाइएको छ । 

    गत साउनदेखि फागुन मसान्तसम्ममा चार लाख ६८ हजार १३५ जना नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति  पुनः श्रम स्वीकृतिसहित लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागको तथ्याङ्क अनुसार गत साउनमा ५५ हजार ५७५ नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका थिए । यसमा   पुनः श्रम स्वीकृति लिएकाहरूको तथ्याङ्क समावेश छ ।

    सुनको मूल्य प्रतितोला रु एक हजार छ सयले बढ्यो , प्रतितोला रु एक लाख ३१ हजार छ सय

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ । 

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ । 

     

    यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

    काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक १.१६ विन्दुले घटेको छ । यससँगै सूचक २०१७.१७ अंकमा आएको छ । १८ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४ हजार ७ सय २४ कित्ता सेयर कारोबार भएको छ ।

    केन्द्रीय बैंकले १३ अर्बको ट्रेजरी बिल नवीकरण गर्ने

    काठमाडौं  ।नेपाल राष्ट्र बैंकले १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

    बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार चैत २० गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

    यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुनेछ । साथै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असोज १५ गते परिपक्व हुनेछ ।

    कोभिड–१९ उपचार सामग्री खरिदमा भ्रष्टाचार : विशाल पण्डितलगायतविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ ।अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशीको आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता,  खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनलका बजार व्यवस्थापक मनोज आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ राज्यलाई हानी/नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    कोशी अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरुलाई मुद्दा दायर गरिएको हो । स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी अस्पतालको कोभिड–१९ केन्द्रका लागि आह्वान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरी अनियमितता गरिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

    पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले वृद्धि

    काठमाडौँ । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ ।

    सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ । 

    निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

    उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट

    काठमाडौं ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ ।  आज गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँले विश्व बैङ्कले सामाजिक संरक्षण, ‘डिजिटलाइजेसन’ तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा सहयोग गर्न पाएकाप्रति खुसी अभिव्यक्त गर्नुभयो । 

    सगरमाथा आरोहणका लागि हालसम्म ६३ आरोहीले लिए अनुमति

    काठमाडौँ । वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।

     

    विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । हिमाल आरोहणको अनुमति बापत्  हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो

    दैलेख ।दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् । 

     

    पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ । ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन् । रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ ।  

     

    भारतको रुपैडिया नाकाबाट करिब एक सय ५० बढी ट्रक दैलेखका लागि हिँडिसकेको जनाइएको छ । अगाडि आएका सामान अनलोड गर्दै धमाधम जडानको काम सुरु गरिएको छ । सुरक्षा व्यवस्थालगायतका अन्य कामका बारेमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आयोजनास्थलको अनुगमन गर्नुभएको छ ।

    दुई वर्ष पछि आउने चुनौतीका लागि सरकारले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु जरुरी

    काठमाडौं । सरकारले देशको आर्थिक गतिविधिलाई प्रोत्साहन नगरे २६ नोभेम्बर २०२६बाट अल्पविकसित देशहरूको सूचीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य पूरा नहुने देखिएको छ ।गत वर्ष मार्च ५–९ मा दोहामा सम्पन्न अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा अतिकम विकसित देश (एलडीसी) समूहको अध्यक्षता गरेको थियो ।त्यतिखेर यो अवसर नेपालको लागि अन्तिम हुने भनिएको थियो । तर सरकारले आर्थिक गतिविधिलाई प्रोत्साहन नगरे त्यो समूहमा जाने मापदण्डहरू पूरा हुन नसक्ने विज्ञहरूको भनाइ रहेको छ ।

    न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ दिन निगमलाई संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी जहाज खरिद प्रक्रियासम्बन्धमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

    सोमबार बसेको समिति बैठकले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न भनेको हो । समिति सभापति राजकिशोर यादवले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गर्ने बताउँदै न्यारोबडी जहाज खरिद सम्झौताका समय भएका सबै प्रक्रिया बारे पनि पेस गर्न निर्देशन दिएको जानकारी दिए ।

    चीन भ्रमणले दुई मुलुकबीचको आपसी विश्वास थप सुदृढः उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ ।  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभएको छ ।

     

          जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भ्रमणबाट दुई देशको विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पु¥याएको उल्लेख गर्नुभयो ।

    हुण्डी कारोबार गरेको आरोपमा दुई जनापक्राउ

    बरहथवा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले रु २७ लाख ७५ हजार नौ सय ७० सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

     

    पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलङ्गवा नगरपालिका–९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् ।

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस