Logo

May 03 2024 | २०८१, वैशाख २१गते

images

चालू र आगामी आवमा नेपालको आर्थिक वृद्धि न्यून रहने


नया सडक

२०८०, चैत २१ बुधबार

  • 879
    Shares

  • चालू र आगामी आवमा नेपालको आर्थिक वृद्धि न्यून रहने

    काठमाडौं । अफगानिस्तानबाहेक दक्षिण एसियाको चालू आवमा ६ प्रतिशत आर्थिक वृद्धि हुँदा नेपाल ३ दशमलव ३ प्रतिशतमा र आगामी आवमा दक्षिण एसियाको ६ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुँदा नेपाल ४ दशमलव ६ प्रतिशतमा सीमित रहने भएको छ ।

    images

    विश्व बैंकले मंगलबार आर्थिक परिदृश्य सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धि श्रीलंकाभन्दा मात्र माथि रहने प्रक्षेपण गरेको हो ।

    विश्व बैंकका अनुसार मालदिभ्सको चालू आवमा ४ दशमलव ७ प्रतिशत, श्रीलंकाको २ दशमलव २ प्रतिशत, बंगलादेशको ५ दशमलव ६ प्रतिशत, भुटानको ४ दशमलव ९ प्रतिशत र भारतको ७ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हुनेछ । आगामी आवमा भने मालदिभ्सको ५ दशमलव २, श्रीलंकाको २ दशमलव ५, बंगलादेशको ५ दशमलव ७, भुटानको ५ दशमलव ७ र भारतको ६ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।

    दक्षिण एसियाको समग्रमा ६ प्रतिशत वृद्धि हुँदा नेपाल ३ दशमलव ३ मा सीमित

    विश्व बैंकले चालू आवमा नेपालको ३ दशमलव ३ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर विश्व बैंकले सो प्रक्षेपण गरेको हो ।

    यसअघि गत असोजमा विश्व बैंकले चालू आवमा ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । सरकारले भने चालू आवमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । गत आवमा नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत मात्र भएको थियो ।

    आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशतमा सीमित हुने भए पनि पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल वृद्धि, नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेको मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदाद जर्भोसले बताए ।

    उनले रोजगारी सिर्जना, व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरूको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण गर्नुपर्ने सुझाव दिएका छन् । उनले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि आधार तयार गर्न आवश्यक भएकामा जोड दिएका छन् ।

    नेपालले आर्थिक विकासका लागि गरेको सुधार सराहनीय रहेको भन्दै देशीय निर्देशक जर्भोसले तीनै तहका सरकार मिलेर निजी लगानी प्रवद्र्धनमा सघाउनुपर्ने बताए ।

    विश्व बैंकले मंगलबार आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा मुलुकको आर्थिक वृृद्धि ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ । यसअघि गत असोजमा विश्व बैंकले आगामी आवमा ५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

    ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक वर्ष सन् २०२५ मा थप ४ दशमलव ६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको हो । यद्यपि, यो प्रक्षेपण बहुचुनौतिसहितको रहेको विश्व बैंकले उल्लेख गरेको छ ।

    विश्व बैंकले भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरूको सुस्त वृद्धि हुने भएका कारण विपे्रषण र पर्यटनमा गिरावट आउनसक्ने पनि रिपोर्टमा उल्लेख गरेको छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुने भनाइ विश्व बैंकको छ ।

    ‘पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणका सवालमा महŒवपूर्ण छन्,’ मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले भने ।

    नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रूपमा तयार गरिएको छ । जसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकहरूले बेहोर्नुपरेका नीतिगत चुनौतिहरूको विश्लेषण गर्छ ।

    ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको २०२४ अप्रिलको सो संस्करणले विश्वका कुनै पनि उदाउँदा बजारहरू र विकासशील मुलुकहरूमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ । विश्व बैंकका अनुसार दक्षिण एसियामा सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५ मा ६ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।यो समाचार राजधानीबाट साभार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस