Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

लगानी सम्मेलनको अपेक्षित सफलताका लागि सरकारले विश्वासको वातावरण बनाउन आवश्यक


नया सडक

२०८०, चैत २२ बिहीबार

  • 690
    Shares

  • लगानी सम्मेलनको अपेक्षित सफलताका लागि सरकारले विश्वासको वातावरण बनाउन आवश्यक

    काठमाडौं । सरकारले बैशाखमा हुने लगानी सम्मेलनका लागि भरमग्दुर प्रयास गरेपनि लगानी सम्मेलनले अपेक्षित सफलता प्राप्त गर्न नसक्ने सरोकारवाला निकायका प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् ।सरकार र सरकारी निकायका पछिल्ला क्रियाकलापले लगानी सम्मेलनलाई असर पार्ने भएकाले उद्योगी व्यवसायीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

    तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी बैशाख १६ र १७ गते आयोजना भइरहेको छ । उद्योगी व्यवसायीहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्री वर्षमान पुनसँग चिन्ता चासो व्यक्त गरेका छन् । 

    उद्योग वाणिज्य महासंघका एक उच्च पदाधिकारीले सरकारले गर्ने काम सही भएपनि लगानी सम्मेलनको मुखमा गर्न हुने बताए ।उनका अनुसार सरकारले विद्युत बक्यौता सम्बन्धी विवाद चर्काएको थियो भने अर्बपति सांसद विनोद चौधरीको विवाद सतहमा आयो । हाल अमेरिकी कम्पनी कोटिभिटीको कर छली विवाद चर्किएको छ ।

    लगानी सम्मेलनका बेला यस्ता विवादले अन्तर्राष्ट्रिय लगानीकर्ता माझ भ्रम सिर्जना हुन जान्छ र यस्ता भ्रम सफा गर्न गाह्रो हुने गरेको ती व्यापारी नेताले बताए ।कोटिभिटी नेपालको विवाद सतहमा आएपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले अर्थमन्त्री पुनसँगको भेटमा अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास आर्जन गर्न आग्रह गरेका थिए ।विश्वका ठुला लगानीकर्ताको सहभागिता नहुने देखिएकोले उद्योगी व्यापारीले अर्थमन्त्री पुनसमक्ष यस्तो आह्वान गरेका हुन् ।

    तेस्रो लगानी सम्मेलन निर्देशक समितिले विभिन्न देशका संघ, संस्था तथा व्यवसायिक समूहलाई सम्मेलनमा सहभागी हुनका लागि अनुरोध गरेपनि अधिकांश ठाउँबाट सहभागिता नहुने सन्देश आइरहेको छ । लगानी सम्मेलनमा सहभागिताका  लागि अहिलेसम्म विभिन्न देश, संस्था र लगानीकर्ता गरेर एक हजार भन्दा बढीलाई औपचारिक रूपमा निमन्त्रणा गरिसकेको लगानी बोर्डका प्रवक्ता प्रद्युमनप्रसाद उपाध्यायले जानकारी सार्वजनिक गरेका हुन् ।

    उनले जनाए अनुसार आमन्त्रण गरिएका मध्ये अहिलेसम्म विभिन्न देशका गरी ५ देखि ६ दर्जन संघ संस्था तथा व्यावसायिक समूहको तर्फबाट मात्रै सहभागिताको प्रतिबद्धता प्राप्त भएको छ ।

    विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको  देश चीनको ठुलो चिनियाँ लगानीकर्ता ज्याक माको फाउन्डेसन पनि सहभागी नहुने सन्देश पठाइसकेको छ ।
    उदीयमान अर्थतन्त्र भारतका ठूला लगानीकर्ताहरू  गौतम अडानी, मुकेश अम्बानी र उनीहरूको व्यावसायिक प्रतिनिधित्व  सुनिश्चित भई सकेको छैन् । लगानी सम्मेलनमा अमेरिकी अर्बपति एलन मस्क र उनको व्यावसायिक समूह पनि सहभागिता सुनिश्चित हुन सकेको छैन् । 

    अर्थमन्त्री पुनले लगानी सम्मेलन सफल पार्न त्यसअघि नै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि बाधा हटाउन कानुनहरू संशोधन गरिने बताएबाट केही आशा पलाएको छ ।तर ती कानुनहरू  पारित हुने र त्यसबारे अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको समूहमा जानकारी दिई विश्वास गराउने समय नभएकोले उद्योगी व्यवसायीको चिन्ता बढेको हो ।

    पाँच तारे सोल्टी होटेलमो तेस्रो लगानी सम्मेलनको आयोजनाको तयारी भइरहेको छ । स्टल निर्माणदेखि प्राविधिक पक्षको व्यवस्थापन अमेजिङ प्रालि ललितपुरले जिम्मा लिएको छ । प्रवक्ता उपाध्यायकाअनुसार बेलायतको फरेन कमनवेल्थ डेभलपमेन्ट अफिसको आर्थिक सहयोगमा सो सम्मेलन भइरहेको छ ।  दाताले नै व्यवस्थापन पक्षको  छनोट गरेको हो ।

    सरकारलाई लगानी सम्मेलनको सफलताका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरू माझ विश्वास स्थापित गर्नुपर्ने चुनौती रहेको ती व्यापारी नेताले नयाँ सडकसँगको कुराकानीमा बताए ।

    प्रतिक्रिया दिनुहोस