Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत २५ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत २५ आइतबार

  • 663
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत २५ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत २५ आइतबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतवार ९आज० मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको २ लाख ७९ हजार ३१७ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ । 

    करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँ : अर्थमन्त्री पुन

    वीरगञ्ज । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताउनुभएको छ । 

     

    अर्थमन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले विगतका वर्षमा बजेट वक्तव्यमार्फत करको दररेट बढाउँदा वा घटाउँदा विवादास्पद विषय बनेको भन्दै आगामी आवमा करको घटबढ हुनुको कारणसहित स्पष्टिकरण समेट्ने बताउनुभयो ।

     

    “आगामी आवको बजेट निर्माण गर्दा करका दर घटाउँदा वा बढाउँदा त्यो गर्नुको उद्देश्य स्पष्ट ढङ्गले खुलाउने छौँ, उहाँले भन्नुभयो, “राजस्वको दररेट घटाउनुको बाध्यतासहितको कारण खुलाउने छौँ । यसले विगतका समयमा जस्तै आएको विवादलाई निरुपण गर्ने अपेक्षा लिएका छौँ ।”

    शेयर बजार : नेप्से परिसूचक २२ दशमलव ७५ अङ्कले बढ्यो  , ४ अर्ब २५ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २२ दशमलव ७५ अङ्कले बढेको छ ।  आज ४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।यस दिन २ वटा बाहेक बाँकी सबै समूहका सूचकमा वृद्धि भएको छ ।यस दिन ३ सय ११ कम्पनीको १ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९५ करोड २० लाख रुपैयाँको कारोबारसहित नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र सूर्यज्योति लाइफ इन्सुरेन्स परेका छन् ।

    प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला

    काठमाडौं । प्रभु बैंक र स्वावलम्बन लघुवित्तको आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।  प्रभु बैंकको ६१ हजार ७६२ कित्ता सेयर रहेको छ । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  
    स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको लिलामीमा वैशाख १६ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

    यसपटक थ्रीस्टार हाइड्रोपावरले लाभांश वितरण नगर्ने , साधारण सभा २०८१ वैशाख २३ गते

    काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले २०८१ वैशाख २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ ।सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    एचआइडीसीएलको आजदेखि १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को संस्थापक सेयर व्यक्ति र संस्थाका लागि बिक्री खुला गरिएको छ ।  कम्पनीले १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको हो ।उक्त सेयर खरिद गर्न  जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ ।

     लगानकिर्ताले   बैशाख ९ गतेभित्र ग्लोबल आइएमई क्यापिटल लिमिटेड, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौं तथा नारायणचौर, नक्साल, काठमाण्डौंमा आवेदन दिन सक्ने छन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक ४.९९ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ विन्दुले बढेको छ । यससँगै सूचक २००९.०५ अंकमा आएको छ । ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार भएको छ ।

    डिप्रोक्स लघुवित्तको साधारण सभा आज

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा चितवनको पार्क सफारी रिसोर्ट सौराहामा बिहान १० बजेदेखि सुरु हुनेछ ।

    सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गरिसकेको छ ।

    सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ३५ हजार ६०० रुपैयाँ

    काठमाडौं ।  सुनको भाउले आइतबार नयाँ कीर्तिमान कायम गरेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार  छापावाल सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ ।

    भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गर्नुभयो । 

    “भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।” उहाँले केही दशक अगाडि घना जङ्गल र झाडीले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर अस्पताल निर्माण भएको स्मरण गर्नुभयो । यस क्षेत्रकै आमजनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल–अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्यप्रारम्भ भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको बताउनुभयो ।

    एनआईसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा गा्रहक छुट योजना ल्याएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ ।

    लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

     

    आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ । आयोगले प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ । 

    निर्वाचन आयोगद्वारा राखिएका विषय व्यवहारिक छन्ः गृहमन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लोकतन्त्रलाई सुदृढ र निर्वाचन प्रणालीलाई व्यवस्थित तुल्याउन गरी अघि बढाइएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सार्वभौमसत्ता सम्पन्न संसद्ले थप समृद्ध तुल्याउने बताउनुभएको छ ।

    निर्वाचन व्यवस्थापन विधेयक र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका सम्बन्धमा निर्वाचन आयोगद्वारा आयोजित अन्तक्रियामा उहाँले जुन विषयवस्तुले निर्वाचन प्रणाली र संसद्लाई  समृद्ध र प्रभावकारी तुल्याउँछ त्यसलाई सबै पक्षले सहयोग र समर्थन गर्नुपर्छ भन्नुभयो । 

    उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, “अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीप्रति उठेका प्रश्न र राजनीतिमा देखिएको विचलनलाई सुधार गर्दै निर्वाचनलाई सही ढङ्गबाट अघि बढाउने आयोगले व्यवहारिक विषय राखेको छ ।” उहाँले निर्वाचन व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदामा आयोगले दिएका सुझाव समावेश गर्न सकिएमा दलहरुको राजनीतिक चरित्र र समाज सुधारमा कोशेढुङगा सावित हुने बताउनुभयो ।

    सिरहा जिल्लामा  हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटियो

    काठमाडौं । मधेश प्रदेशको सिरहा जिल्लामा  हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको साढे १५ लाख रुपैयाँ  लुटिएको  हो ।रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।

    बेथिति र अनियमितताको दलदलमा गाँजिएको वीरगञ्ज भन्सारको स्थलगत निरीक्षण भ्रमणमा अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बेथिति र अनियमितताको दलदलमा गाँजिएको वीरगञ्ज भन्सारको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।   पुन अर्थमन्त्री नियुक्त भएको एक महिनामा यो नै पहिलो भन्सार निरीक्षण हो ।  कर राजश्वको ४० प्रतिशत हिस्सा ओगट्दै आएको वीरगन्ज मुलुकको प्रमुख भन्सार नाका हो ।

    भन्सार कार्यालयको  निरीक्षणपछि राजस्व चुहाटव नियन्त्रण गर्ने विषयमा  मन्त्री पुनले राजश्व चुहावट नियन्त्रण समितिको बैठक राखे । बैठकमा अर्थ मन्त्रालयका सचिव (राजश्व) डा रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल, वीरगन्ज भन्सारका प्रमुख डिलाराम पन्थी, बारा, पर्सा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत सहभागी थिए  । 

     

     
     
     
     
     
     
     
     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस