काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सले सरकारसँग कर स्थायित्वको वातावरण निर्माण गर्न माग गरेको छ ।अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा यस्तो माग गरेका हुन् ।
करिब ५० उद्योग व्यवसाय आबद्ध अमेरिकी लगानीमा नेपालमा स्थापना भई सञ्चालनमा रहेका उद्योगी व्यवसायीहरूको हक हित संरक्षण र प्रवर्द्धन गर्न स्थापित संस्था अमेरिकन च्याम्बर हो ।
डिजिटल सेवा निर्यात गर्ने व्यवसायलाई छुट दिन, डिजिटल भुक्तानी प्रणालीलाई अनिवार्य गर्न, विद्यमान द्विपक्षीय कर सम्झौता (डीटीएए) को सम्मान गर्दै सरकारलाई थप देशहरुसँग सम्झौता हस्ताक्षर गर्न समेत माग गरिएको छ ।
अमेरिकी लगायत लगानीकर्ताको हकमा व्यवसायिक भिसाको अवधि बढाउन, व्यावसायिक भिसाको अग्रिम प्रशोधन, लगानीकर्ताको पति वा पत्नीलाई व्यावसायिक भिसा तथा व्यवसायमा काम गर्नेका लागि गैरपर्यटक भिसा दिन समेत माग गरिएको छ ।
भेटमा अर्थमन्त्री पुनले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए । लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागि समेत भएको उनले बताए ।