Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  चैत २७ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत २७ मंगलबार

  • 606
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  चैत २७ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  चैत २७ मंगलबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    लगानी सम्मेलनः  ‘सोकेस’मा १२५ आयोजना,  ११ सयभन्दा बढीलाई निम्ता

    काठमाडौँ ।  सरकारले आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको छ । 

     

    ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ नाम दिइएको सम्मेलन काठमाडौँस्थित सोल्टी होटलमा आयोजना गर्ने तय भइसकेको छ । लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा त्यसको पूर्व तयारीका कसरी भइरहेको छ र सम्मेलनबाट अपेक्षाकृत उपलब्धि कसरी हासिल होला भन्नेमा सबैको चासो छ । 

     

    लगानी आकर्षित गर्न आवश्यक ठानिएका नीतिगत तथा कानुनी स्पष्टता, ‘सोकेस’का आयोजनाको पूर्वतयारी, सम्मेलनको प्रचारप्रसार तथा अतिथिलाई निम्ता गर्नेलगायतका कामहरु द्रुत गतिमा भइरहेको सरकारको भनाइ छ ।

    शेयर बजार : नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले बढ्यो  , ४ अर्ब १४ करोडको कारोबार

    काठमाडौँ ।आज प्से परिसूचक ९ दशमलव १९ अङ्कले बढेको छ । आज ४ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये १० वटा समूह बढेका छन् ।
    यस दिन ३१५ कम्पनीको ९७ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सूर्यज्योति लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ निश्कासन गर्ने तयारीमा

    काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ ।

    ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्वर  ३, ४ र ५ मा निर्माणाधिन मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागतमा, तोकिए कै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तिव्र गतिमा निर्माण कार्य  भैरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष ई. आशिष थापाले बताए । 

    प्रभु बैंकको साधारण सभा  २०८१ वैशाख २० गते

    काठमाडौं ।प्रभु बैंकले २०८१ वैशाख २० गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ८.३८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ८.३८ विन्दुले बढेको छ । यससँगै सूचक २००३५.२० अंकमा आएको छ । १३ लाख १३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५१ वटा कारोबार भएको हो ।

    लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स साधारण सभा आज

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न मंगलबार ग्रीन डेभलपमेन्ट बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) साधारण सभा बस्दैछ । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफा रकम समेतबाट बैंकको हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँ बोनस सेयर तथा ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ ।

    सरकारले विदेशी लगानीकर्ताको विश्वास जित्न अध्यादेश ल्याउने तयारीमा

    काठमाडौं । सरकारले  विदेशी लगानीकर्ताहरूको विश्वास जित्न अध्यादेश ल्याउने तयारी गरिरहेको छ ।नियमित प्रक्रियाबाट संविधान संशोधन हुन नसके लगानी सम्मेलन सफल पार्न सरकारले अध्यादेश ल्याउन लागेको हो । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्वपूर्ण भूमिका रहने बताए ।

    सिरहामा भन्सार छलेर ल्याइएको ५३ बोरा प्याज र २४ बोरा आलु बरामद

    सिरहा । सिरहामा प्रहरीले भन्सार छली गरेर लुकाएर राखिएको तरकारी बरामद गरेको छ। जिल्लाको माडर स्थित एक गोदामबाट भन्सार छलेर ल्याइएको प्याज र आलु बरामद गरेको हो।

    सिरहा भन्सार कार्यालय माडर र सशस्त्र प्रहरी बल माडरको छेउमै रहेको गोदामबाट ५३ बोरा प्याज र २४ बोरा आलु बरामद गरेको छ। गोदाममा भारतबाट अवैधरुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको तरकारी रहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मार्ने क्रममा ठूलो परिमाणमा आलु र प्याज फेला परेको प्रहरीले जनाएको छ। उक्त परिणामको अवैध प्याज र आलुको मूल्य करिब दुई लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

    सुनको मूल्य प्रतितोला रु एक सयले बढ्यो , प्रतितोला एक लाख ३६ हजार तीन सय

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । 

     

    सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ । 

     

    त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ ।

    सशस्त्रको स्टोरमा भएको आगलागीबारे छानबिन समिति गठन

    काठमाडौँ । सोमबार साँझ चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

    काठमाडौँ ।निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

    आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ । 

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।

    नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्ः प्रधानमन्त्री

    काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ ।

    सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । 
    “लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

    सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनालाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानुन परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्तालाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

    सीआईबीद्वारा सहकारी ठगी प्रकरणमा तीन जना पक्राउ

    काठमाडौं । प्रहरीले  हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेर ठगीको कसूरमा अनुसन्धान अघि बढाएको हो । पक्राउ परेकाहरूको हकमा सीआईबीले अहिलेसम्म औपचारिक रुपमा केही बोलेको छैन ।

    सीआईबी उच्च स्रोतका अनुसार पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समिति सदस्य रामहरि अधिकारी छन् ।

    कांग्रेसका सांसदहरूद्वारा सार्वजनिक पदधारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नेपर्ने  सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौं ।  कांग्रेसका नेताहरूले सार्वजनिक पदधारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नेपर्ने विषयबारे प्रतिनिधिसभामा सार्वजनिक महत्ववको प्रस्ताव दर्ता गरेका छन् ।कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले सार्वजनिक पदधारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नेपर्ने विषयबारे प्रतिनिधिसभामा सार्वजनिक महत्ववको प्रस्ताव दर्ता गरेका हुन् ।

    भारत उत्तराखण्डको नैनीताल भएको दुर्घटनामा मर्नेहरू ७ जना नेपाली सबै बर्दिया बबईका

    काठमाडौं ।  भारत उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत बेतालघाट क्षेत्रमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेहरु बर्दियाको बबईका भएको खुलेको छ । बेतालघाट थानाका इन्चार्ज अनिस अहमदले जनाए अनुसार मर्नेहरू सबै बर्दियाका हुन् । 

    बेतालघाट भन्दा १८ किलोमिटर पूर्वी क्षेत्रमा मल्लागाउँ उच्चाकोटमा खानेपानी आयोजनामा पाइप बिछ्याउने काम गरिरहेका नेपाली कामदारहरु सोमबार साँझ घरतर्फ हिडेका बेला भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

    बिहान खानेपानी आयोजनाको काम सकिएपछि उनीहरु सबै गाडी बुक गरेर हल्द्वानी निस्किन थालेका थिए ।दुर्घटनामा परि चालक सहित ८ जनाको मृत्यु हुनेहरूमा ७ जना नेपाली रहेका छन् । युके ०४ सीसी ०४९५ नम्बरको बुलेरो जीपका चालक उच्चाकोट निवासी राजेन्द्र कुमारसँगै नेपाली कामदारहरु बिश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी रहेका छन् ।

    डढेलोले काठमाडौँमा वायु प्रदूषण

    काठमाडौँ ।  काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो । 

    ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० दुई सय पुगेको छ । 

    वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरको वायूमा परेको बताउनुभयो । “केही साताअघि पनि काठमाडौँको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ”, उहाँले भन्नुभयो । उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो ।

    सूचना प्रविधिको क्षेत्रमा लगानी ल्याउन आवश्यक भएको चेम्बरको बुझाइ

    काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारणसभामा सूचना प्रविधिको क्षेत्रमा लगानी ल्याउन आवश्यक रहेको उद्योगी व्यवसायीहरूले बताएका छन् ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आईटीमा स्वदेशी तथा विदेशी लगानी ल्याउन आवश्यक रहेको बताएका हुन् ।

    यसपटक व्यापार घाटा पनि उच्च हुने देखिएको बताउँदै अध्यक्ष मल्लले हाल बाह्य सूचकमा सुधार देखिए पनि आन्तरिक समस्या कायमै  रहेको बताए ।अध्यक्ष मल्लले उच्च लगानी र आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसकेको बताए । तुलनात्मक लाभ भएका पर्यटन र कृषि आईटीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको उनको भनाइ छ ।

    राप्रपाको प्रदर्शनमा  झडप, पानीको फोहरा प्रहार

    काठमाडौं । राप्रपाको प्रदर्शनमा  झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए ।

    ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो । त्यसक्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो ।

    राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

     

     
     
     
     
     
     
     
     
     

     

     
     
     
     

     

     

     
     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस