Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कच्चापदार्थको अभावमा खोपासीको ‘फ्रेण्डसिप पेपर उद्योग’ सङ्कटमा


नया सडक

२०८०, चैत २८ बुधबार

  • 423
    Shares

  • कच्चापदार्थको अभावमा खोपासीको ‘फ्रेण्डसिप पेपर उद्योग’ सङ्कटमा

     

    धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा सञ्चालित हाते कागज ९फ्रेण्डसिप पेपर० उद्योग कच्चापदार्थको अभावका कारण सङ्कटमा परेको छ ।

     

    आवश्यक परेका बेलामा कच्चापदार्थ (लोक्ता र अर्गेली)को अभाव, उत्पादन भएको कागज बिक्रीका लागि बजारको अभावका साथै आर्थिक व्यवस्थापनका लागि बैंकले ऋण नदिँदा उद्योग सञ्चालनमा सङ्कट उत्पन्न भइरहेको सञ्चालकले जनाएको छ ।

     

    उद्योगका सञ्चालक चतुरमान शाक्यले मागअनुसार कच्चापदार्थको आपूर्ति नहुँदा भनेजस्तो उत्पादन गर्न समस्या भइरहेको बताउनुभयो । साथै उत्पादित कागजको सहज रुपमा बिक्री नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

     

    उद्योगमा लोक्ता र अर्गेली पेल्नका लागि तयार गर्ने काममा व्यस्त मनिता कार्कीले यहाँस्थित नेपाली कागज उद्योगमा वर्षौँदेखि काम गर्दै आएको बताउनुभयो । उद्योग सिजन अनुसार जसोतसो सञ्चालन हुँदै आएको उहाँको भनाइ छ ।

     

    “घाम नलाग्दा र पानी परेको बेलामा काम हुँदैन”, कार्कीले भन्नुभयो, “घामको भरमा काम गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि ४ बजेसम्म मात्रै काम गर्ने गरेका छौँ ।” उद्योगमा कार्यरत सबै मजदुर आएमा दैनिक पाँचरछ कोरी उत्पदान हुने उहाँले जानकारी दिनुभयो ।

     

    उद्योगमा कार्यरत अर्का मजदुर सवला गुरागाईंले कात्तिकदेखि वैशाखसम्म मात्रै काम हुने भन्दै आफ्नै टोलमा उद्योग भएकाले काम भने सहजै पाउने गरेको बताउनुभयो । उहाँले विसं २०६२ देखि यहाँ काम गर्दै आएको बताउनुभयो । उहाँहरु जस्तै उक्त उद्योगमा दैनिक १४ जनाले कागज उत्पादनमा काम गरिरहेका छन् । आवश्यक परेको बेलामा कच्चापदार्थको आपूर्ति नहुँदा उत्पादनमा समस्या हुने गरेको उहाँहरुको भनाइ छ । ठूलो ड्रममा उसिनेर कच्चापदार्थ पेल्नेबाहेक सबै काम मजदुरले गर्ने गरेका छन् ।

     

    विसं २०५८ मा दुई जनाले दर्ता गरेर सञ्चालन गरेको ‘फ्रेण्डसिप पेपर उद्योग’ अहिले पनि जसोतसो सञ्चालन भइरहेको उद्योगका सञ्चालक शाक्यले बताउनुभयो । अहिले आवश्यक कच्चापदार्थ तथा बजारको अभाव, बिक्री गरेपनि समयमा पैसा नपाउनेलगायत समस्याले उद्योग सङ्कटमा पर्न थालेको उहाँको भनाइ छ । अहिले दुई जनाले उद्योग सञ्चालनलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

     

    “बजार सामान बिक्री गर्दा समयमा पैसा नदिने गरेकाले गाडी भाडा, मजदुरको ज्यालालगायत खर्चसमेत नपुग्ने अवस्था थियो । पछिल्लो समय यसलाई व्यवस्थापन गर्दै लगेका छौँ”, शाक्यले भन्नुभयो, “अहिले बजार पनि राम्रो छैन । केही मजदुरलाई भने अझै रोजगार दिन सकिरहेका छौँ ।” उहाँका अनुसार उद्योगबाट २० ग्राम र ८० ग्रामका कागज उत्पादन हुँदै आएको छ ।

     

    उत्पादित २० ग्रामको प्रतिकागज रु २० र ८० ग्रामको रु ७० मा बिक्री हुने गरेको सत्तचालक शाक्यले जानकारी दिनुभयो । उत्पादन गरेअनुसार बजारमा सामान बिक्री नहुँदा करिब रु पाँचरछ लाखको सामान गोदाममा थन्किएको उहाँको भनाइ  छ ।

     

    “कच्चापदार्थ आवश्यकता अनुसार नपाउने, पहिला नै भुक्तानी गरेर माग गर्नुपर्ने, आफूले भनेजस्तो नपाउने, बजार अभावलगायत कारणले उद्योग सङ्कटमा पर्दै गएको छ”, सञ्चालक शाक्यले भन्नुभयो । राज्यले आवश्यक कच्चापदार्थ, उत्पादन भएको वस्तुको सहज बजारीकरण र लगानीको पर्याप्त वातावरण बनाइदिएको अवस्थामा उद्योगको अस्तित्व बचाउन सकिने उहाँको भनाइ छ ।

     

    उद्योगलाई निरन्तरता दिन बजारको सुनिश्चितता मुख्य आधार भएकाले त्यसको व्यवस्थापन राज्यले गरेमा भएका उद्योगलाई बचाउन र थप रोजगारीका अवसर सिर्जना गर्न सकिने शाक्यले बताउनुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस