Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  चैत २८ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत २८ बुधबार

  • 645
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  चैत २८ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत २८ बुधबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    नेपाल धितोपत्र बोडको अध्यक्ष पदको छनौट प्रक्रिया तत्काल स्थगित

    काठमाडौं ।नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएकाहरूबाट छनौट सूची (सर्ट लिस्ट )तयार भए पनि सो प्रक्रिया  रोकिएको छ ।
    बोर्डको अध्यक्ष पदका लागि भोलि बिहीबार कार्यायोजना प्रस्तुत गर्ने कार्यक्रम स्थगित गरिएको हो ।

    अर्थमन्त्री वर्षमान पुन वैशाख २ गते अमेरिका जाने कार्यक्रम भएकोले  अर्थमन्त्री फर्किएपछि  मात्रै प्रक्रिया अघि बढ्नेगरी हाललाई कार्यायोजना प्रस्तुत गर्ने कार्य स्थगित गरिएको स्रोतको भनाइ छ ।

    बोर्डको अध्यक्ष पदका लागि ५ जनाको नाम छनौट सूचीमा राखिएको थियो । सो सूचीमा परेकाहरूमा  कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेका छन् ।

    शेयर बजार : नेप्से परिसूचक १०.७१ प्रतिशतले घट्यो , ३ अर्ब ४८ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १०.७१ प्रतिशतले  घटेको छ ।आज  ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये जम्मा २ वटा समूहका सूचक मात्र बढेका छन् ।
    यस दिन ३०८ कम्पनीको ८६ लाख ९६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र नेपाल फाइनान्स परेका छन् ।

    सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो ,  प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँ

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ । 

     

    मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ । 

     

    त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ ।

    सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल, नागपोखरी काठमाडौंबाट पेश गर्न सकिनेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक २.०९ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०३८.१० अंकमा आएको छ । १८ लाख ५१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ३६ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।२१ कम्पनीको भाउ बढ्दा १७ को भने मूल्य घटेको छ ।

    धितोपत्र बोर्ड अध्यक्षका ५ प्रतिस्पर्धीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धी ५ जनाले चैत २९ गते बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् । मन्त्रिपरिषद्मा सिफारिस भएका तीनमध्ये १ जनालाई अध्यक्ष नियुक्त गरिने छ । कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम ‘सर्टलिस्ट’मा परेको छ ।‘सर्टलिस्ट’मा परेका ५ जनाको कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट ३ जनाको नाम छनोट समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने छ ।

    अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँः अध्यक्ष ढकाल

    काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताउनुभएको छ । महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताउनुभयो ।

    पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको समाधानको खोजी सहज हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अहिले आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर राज्यका तर्फबाट त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट प्रोत्साहन चाहेको छ । अहिलेको अवस्थामा निजी क्षेत्रलाई काम गर्ने वातावरण र अर्थतन्त्र सुधारका लागि राज्यका प्रभावकारी नीति आवश्यक छ ।” केही समयअघि नेपाल पनि श्रीलङ्काको जस्तो अर्थतन्त्रमा पुग्छ भन्ने त्रासले निकै नै नियन्त्रणमुखी कार्यक्रमहरु नेपाल सरकार तथा केन्द्रीय बैंकले अवलम्बन गरेका कारण अर्थतन्त्र यसरी सङ्कुचन हुन पुगेको र अर्थतन्त्र सुधारका लागि दिगो कार्यक्रम अवलम्बन गर्न नसकिएको उहाँको भनाइ थियो ।

    गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश : ‘दीर्घकालीन असर पर्ने काम नगर्नु’

    काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।
          
    न्यायाधीश विनोद शर्माको एकल इजलासले आज निवेदनको टुङ्गो नलाग्दासम्म दीर्घकालीन असरपर्ने प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश गरेको हो । “नेपालको संविधानको धारा १८६ को अवस्थामा मात्र निर्णायक मत दिन सक्नेमा निजको सङ्ख्यासमेत गणना गरी मुख्यमन्त्री पदमा गरिएको दावीको आधारमा प्रत्यर्थी खगराज अधिकारीलाई नियुक्त गरिएको छ”, आदेशमा भनिएको छ, “संवैधानिक व्याख्याको प्रश्न, संसदीय अभ्यास, यस अदालतबाट स्थापित सिद्धान्तलगायतका विषयमा निरुपण हुन आवश्यक देखिएकाले तर सरकारको शून्यताको अवस्था सिर्जना हुन दिनसमेत नमिल्ने हुँदा प्रदेश सरकारका नियमित कार्य सञ्चालनबाहेक प्रत्यर्थी खगराज अधिकारीको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन पत्र टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु ।”

    ईपीएस भाषा परीक्षामा ६ हजार ३३१ जना परीक्षार्थी उत्तीर्ण

    काठमाडौं । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । जस अन्तर्गत ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । गत  फागुन ७ गतेबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट यी परीक्षार्थी उत्र्तीण भएका हुन् ।

    किर्गीस्तानका लागि अवैतनिक राजदूतमा शर्मा नियुक्त , निर्माण व्यवसायीको पृष्ठभूमिबाट शर्मा पहिलो व्यक्ति

    काठमाडौं । किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूतमा  व्यवसायी रमेश शर्मा लाई नियक्त गरिएको छ ।

    शर्मालाई बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् 

    नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुन् ।

    उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

    काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ ।

     

    इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिनुभएको छ । बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो ।

    भारतको बेतालघाटमा दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै

    महेन्द्रनगर । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ । 

    दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु प्नि शव लिन नैनीताल पुगेका बताउनुभयो ।

    “अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ”, नैनीतालबाट प्रमोदले भन्नुभयो, “शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ ।” उहाँले पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु आज साझँसम्म नेपाल पुगिसक्ने बताउनुभयो । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङका टोपबहादुर बस्नेत रहेका छन् ।

    दश करोड बढीको अवैध सामान बरामद

    राँझा । बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । 

    चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म रु दश करोड दश लाख बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा रु एक करोड ४५ लाख, भदौमा रु एक करोड १९ लाख, असोजमा रु एक करोड छ लाख, कात्तिकमा रु एक करोड ४१ लाख, मङ्सिरमा रु एक करोड ३८ लाख, पुसमा रु एक करोड एक लाख, माघमा ९१ लाख, फागुनमा रु ९१ लाख र चैतको हालसम्म रु ७४ लाख बराबरको अवैध सामान बरामद भएको छ ।

    बागमती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगर प्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । 

     

    प्रमुख थापाले गैरकानुनीरुपमा रु पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक

    काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो ।

    चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ ।

    भोलि रमदानको अवसरमा बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले भोलि सार्वजनिकबिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ ।

    हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

    चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने  गरिन्छ ।

     

     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस