Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँ वर्षको पहिलो महिना बैशाखमा अधिकांश बैंकहरूले निक्षेपमा दिइने ब्याजदर घटाए


नया सडक

२०८०, चैत ३० शुक्रबार

  • 702
    Shares

  • नयाँ वर्षको पहिलो महिना बैशाखमा अधिकांश बैंकहरूले निक्षेपमा दिइने ब्याजदर घटाए

    काठमाडौं । नयाँ वर्षको पहिलो महिना बैशाखमा अधिकांश बैंकहरूले निक्षेपमा दिइने ब्याजदर घटाएका छन् । चैतको तुलनामा बैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत शून्य दशमलव १९ प्रतिशत बिन्दुले ब्याजदर घटेको देखिएको हो ।  अधिकांश वाणिज्य  बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत बिन्दुले घटेको छ ।

    २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर बैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ । ती बैंकहरूको  चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा  अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेको थियो ।

    चैतको तुलनामा बैशाख महिनामा १३ वटा बैंकले ब्याजदर घटाएका छन्  ।  ५ ले स्थिर राखेका छन् । दुई बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर बैशाखका लागि स्थिर राखेका छन् ।

    यसैगरी  एभरेस्ट र एनएमबीले चैतको तुलनामा बैशाखमा बढाएका छन् । बाँकी १३ बैंक नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एसियाले ब्याजदर घटाएका छन् ।

    चैत महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसियाले ८.५४ प्रतिशत दिएको थियो भने बैशाख महिनामा सबैभन्दा धेरै एनएमबीले ७.९७ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि पुगेको छैन् ।

    बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएसँगै ब्याजदर घटाउँदै लगेका छन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत बिन्दु भन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.९७ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् ।

    राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेकोले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ ।

    राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । बैंकहरुले साउनदेखि भद्र सहमति खारेज गरी आआफ्नो अनुकूल सार्वजनिक गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस