Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्   चैत ३० शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, चैत ३० शुक्रबार

  • 654
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्   चैत ३० शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  चैत ३० शुक्रबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सीइडीबी हाइड्रोपावरको ‘लक इन’ वैशाख ३० गते सकिँदै

    काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक र कर्मचारी तर्फको शेयरको लकइन वैशाख ३० गते सकिने भएको छ । कम्पनीले सूचना जारी गर्दै संस्थापक तर्फको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीतर्फको ५० हजार ३६५ कित्ता शेयरको लकइन आगामी एक महिनापछि सकिने जानकारी दिएको हो ।

    रिडी पावर कम्पनीको ११ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । रिडी पावर कम्पनीले आज ९चैत ३० गते० देखि ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले बिहीबार ९चैत २९ गते० देखि बिक्री खुला गर्ने जनाएको थियो । यसमा आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख ९ गतेसम्म रहेको छ ।

    सागर डिष्टिलरीले प्रिमियममा शेयर जारी गर्ने ,  साधारण सभा  बैशाख १५ गते

    काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा शेयर जारी गर्ने भएको छ।कम्पनीले बैशाख १५ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालयमा  साधारण  सभा बोलाएको हो।  साधारण  सभा बेलुका ४ बजे शुरु हुनेछ।

    सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रका् दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    रेसिङ अटोमोबाइल्सले ल्यायो ‘८१ मा एक्कासी’ उपहार योजना

    काठमाडौं । रेसिङ अटोमोबाइल्सले नयाँ वर्ष विक्रम संम्बत २०८१ को अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । ‘८१ मा एक्कासी’ उपहार योजना अन्तर्गत रेसिङ अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई अप्रत्याशित रुपमा एक्कासी आइपर्ने दुर्घटना, स्वास्थ्य समस्या जस्ता आकस्मिक रुपमा जोखिमको रक्षावरण गरिदिने भएको हो ।

    जोखिम रक्षावरण योजना अन्तर्गत नयाँ वर्ष २०८१ का पहिलो तीन महिना (वैशाख, जेठ र असार) महिनामा सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकहरूले पनि साल २०८१ भरि एक वर्ष लागु हुनेगरी बीमा सुविधा प्राप्त गर्नेछन् । जसमा दुर्घटना बीमा अन्तर्गत २५ लाख रुपैयाँसम्मको बीमा रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ ।

    मन्त्रिपरिषद् बैठकः दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

    काठमाडौँ । सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो । 

     

    समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सिफारिस समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । 

    सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

    काठमाडौँ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले  सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक  शुक्रबार चैत ३० गते प्रमाणीकरण   गरेका  हुन् । 

    उक्त विधेयक संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस भएको थियो ।

    सुन्तला राष्ट्रिय फल घोषित

    काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपषिद्को निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन्तला राष्ट्रिय फल सरकारले घोषणा गरेको जानकारी दिइन   सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको हो ।

    हेटौडाका औद्योगित क्षेत्रका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुने कारण अझ सम्बोधन भएन

    बागमती । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ ।  कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ ।

    हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा छन् । ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । तीन ‘सिफ्ट’मा चल्ने उद्योग एक सिफ्टमा मात्र सञ्चालन भएका  छन् । उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन् । 
    उक्त कार्यालयका प्रमुख भोजराज बिराडीका अनुसार  कोरोना महामारीपछि परेकोे आर्थिक तथा व्यावसायिक मन्दीको प्रभाव यहाँका उद्योगमा परेको छ । आर्थिक मन्दीले सञ्चालन नभएका दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु गरिएको छ । 

    एसिसी प्रिमियर कप : पहिलो खेलमा नेपाल विजयी

    काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।  

     

    ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे थियो । सो विजयी लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पुरा ग¥यो । 

     

    नेपालका लागि आशिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले अविजित १९ तथा सन्दीप जोराले अविजित १२ रन बनाए ।

    ‘ठमेल र दरबारमार्गको स्थिति हेरेर नयाँ बसपार्क पनि चौबिसै घण्टा खुलाउँछौँ’

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताउनुभएको छ ।

     

    मित्रनगर विकास तथा सुधार समिति आज नयाँ बसपार्कमा आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ मा बोल्दै ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा खुलाउने बताउनुभएको हो ।

     

    “देशभरका मानिस आवतजावत गर्ने ठाउँ नयाँ बसपार्कलाई पनि २४ सै घण्टा सञ्चालन गर्नु जरुरी छ, वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग खुला गर्न लागिएको छ, त्यहाँको स्थितिलाई हेरेर नयाँ बसपार्क पनि २४ सै घण्टा सञ्चालन गछौँ, जसले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ”, उहाँले भन्नुभयो । उहाँले बजार २४ सै घण्टा खुलाउँदा स्थानीयवासीलाई असर पर्न नहुने उल्लेख गर्नुभयो ।

    ग्रामीण विकास बैंकका फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

     

    नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ । आयोगले अधिकारी विरुद्ध रु १९ लाख दुई हजार दुई सय ३७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

     

    हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । रासस

    चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी

    बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ । 

     

      केन्द्रका अनुसार शुक्रबार बाक्लो कुहिरोले पीत सागरका केही भाग र सान्डोङ प्रायद्वीपको तटीय पानी, साथै हेनान, हुबेई, हुनान र चोङकिङलगायत प्रान्तीयस्तरका क्षेत्रका केही भाग ढाक्ने अनुमान गरिएको छ ।  

     

    केन्द्रका अनुसार केही प्रभावित क्षेत्रमा दृश्यता एक किलोमिटरभन्दा कममा झर्नेछ । डुङ्गा चलाउने र अन्य सञ्चालनमा संलग्न जहाजहरूलाई सुरक्षित नेभिगेसन सुनिश्चित गर्न तिनीहरूको निगरानीलाई बलियो बनाउन र आफ्नो गतिलाई नियन्त्रित गर्न तथा उचित दूरी कायम गर्न सुझाव दिइएको छ ।

    उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

     

    भेटमा  बधाई तथा शुभकामना आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक, शैक्षिक तथा सांस्कृतिक र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको थियो ।

     

    त्यस अवसरमा उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताउनुभएको थियो ।  उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले जलविद्युत्, पर्यटन, पूर्वाधार, विज्ञान प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

    केही सचिवहरुको जिम्मेवारी परिवर्तन

     काठमाडौं । सरकारले केही सचिवहरुको जिम्मेवारी परिवर्तन  गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव को जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो ।

    एक हप्ताअघि मात्रै उपराष्ट्रपति कार्यालयमा सरुवा भएका मुकुन्द निरौला सामान्य प्रशासन मन्त्रालयमा फर्काइएको छ । उपराष्ट्रपति कार्यालयमा जानु अघि उनी उद्योग सचिवका रुपमा कार्यरत थिए ।

    हाल सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फर्काउने वा  अन्य युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिने भनिएको स्रोतको भनाइ छ ।

    सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ३९ हजार रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले बढेर १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।  आज चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ ।

    हिमाल आरोहण गर्नेहरूबाट डेढ महिनामा ३४ करोड बढी रोयल्टी संकलन, सबै भन्दा सगरमाथा आरोहण गर्नेहरूबाट

    काठमाडौं । हिमाल आरोहण गर्नेहरुबाट सरकारले करिब डेढ महिना अर्थात मार्च एक देखि अप्रिल १० सम्म ३४ करोड बढी रोयल्टी उठाएको छ ।  विभिन्न १९ वटाहिमाल आरोहण गर्नेहरुबाट  सो अवधिमा  ३४ करोड बढी रोयल्टी उठाएको हो । 

    पर्यटन विभागकाअनुसार १९ वटा विभिन्न हिमाल आरोहण गर्ने ५१२ जनाबाट ३४ करोड ४३ लाख ९९ हजार ६५६ रुपैयाँ रोयल्टी संकलन भएको छ ।भागकाअनुसार सो अवधिमा सबैभन्दा धेरै रोयल्टी  सगरमाथाबाट उठेको छ । सगरमाथा आरोहणको लागि २०९ जनाबाट २९ करोड ७५ लाख २८ हजार ५३५ रुपैयाँ, ल्होत्सेको लागि ५५ जनामार्फत १ करोड ३१ लाख ७८ हजार १४२ र मकालुको लागि ४५ जनामार्फत १ करोड ७ लाख ७४ हजार ८ सय रुपैयाँ रोयल्टी आम्दानी भएको छ ।

    पौने ६ करोड बढीको चोरी पैठारी गर्न खोजिएको मालवस्तु पर्सा प्रहरीको नियन्त्रणमा

    काठमाडौं । बीरगञ्ज भन्सार क्षेत्र र यसका वरिपरिबाट चैत महिनामा मात्रै पौने ६ करोड बढीको चोरी पैठारी गरी लग्न खोजिएको मालवस्तु प्रहरीको नियन्त्रणमा आएको छ ।
    राजस्व छली तथा चोरी पैठारी गरी ल्याउनहरूलाई नियन्त्रणमा लिएर पर्सा प्रहरीले राजस्व अनुसन्धान विभाग पथलैयामा थप अनुसन्धानका लागि पठाइएको जानकारी दिएको हो ।

    पर्सा जिल्ला प्रहरी कार्यालयले  भन्सार चोरी पैठारी न्यूनीकरण गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी परिचालन गरी चैत्र मसान्तसम्म विभिन्न किसिमको मालवस्तु नियन्त्रणमा लिएको जनाएको छ ।

    नयाँ वर्षको पहिलो महिना बैशाखमा अधिकांश बैंकहरूले निक्षेपमा दिइने ब्याजदर घटाए

    काठमाडौं । नयाँ वर्षको पहिलो महिना बैशाखमा अधिकांश बैंकहरूले निक्षेपमा दिइने ब्याजदर घटाएका छन् । चैतको तुलनामा बैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत शून्य दशमलव १९ प्रतिशत बिन्दुले ब्याजदर घटेको देखिएको हो ।  अधिकांश वाणिज्य  बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत बिन्दुले घटेको छ ।

    २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर बैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ । ती बैंकहरूको  चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा  अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेको थियो ।

    चैतको तुलनामा बैशाख महिनामा १३ वटा बैंकले ब्याजदर घटाएका छन्  ।  ५ ले स्थिर राखेका छन् । दुई बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर बैशाखका लागि स्थिर राखेका छन् ।

    आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भवना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको  जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा  रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

     

     
     

     

     
     
     
     

     

     
     
     
     

     

     
     
     
     

    प्रतिक्रिया दिनुहोस