भक्तपुर ।परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै आज यहाँ सञ्चालन हुने थरीथरीका जात्रा हेर्न हजारौँको भीड लागेको छ ।
भेलुखेलस्थि ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गोजात्रा हेरे मनोकाङ्क्ष पूरा हुने , शत्रुनाश हुने सहकाल आउने जनविश्वास छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र आज दिनभर मेला सञ्चालन गरी साँझ लिङ्गो ढालिन्छ ।
चरखण्डी र गुप्तेश्वरमा रातिदेखि नै भीड
आजै भक्तपुरको दधीकोट र सिरुटारको सङ्गमस्थलमा रहेको चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई काम सफल हुने जनविश्वास रहेको संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताउनुभयो ।
किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवीशक्तिका कारण पुनःजीवित भएर उडेको थियो । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको उहाँले जानकारी दिनुभयो । यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजेदेखि नै भीड लागेको छ ।
प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीन वटा खटसहितको खट जात्रासमेत गरिएको छ । दधीकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनःमन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।
सिरुटार, बालकोटका बासिन्दाले त्यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन् । धिमे बाजाका साथ खटलाई गुप्तेश्वर महादेव मनिदर परिसरमा विधिपूर्वक पूजा गरी सुरु भएको खट जात्रा सिरुटारदेखि बालकोटसम्मको टोलटोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा निकालिएको छ ।
थिमिमा चान्हेसिया
चैत मसान्तको दिन साँझ सुरु भई रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ । मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो ।
चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइएन्छ ।
जात्रामा थिमिको अधिंकाश घरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हँुदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो । त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याएर पाँचपटक परिक्रमा गराएपछि सोही स्थानमा आआफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो ।
थिमिमा विष्णुवीर सिद्धिकाली जात्रा
मध्यपुरथिमिका बासिन्दाले विष्णुवीर एवं सिद्धिकाली जात्रा आज थिमिमा सम्पन्न गरेका छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, शिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमा परिक्रमा गराइएको थियो ।
बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको छ ।
सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याई स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ । त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दुर चढाई आआफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने परम्परा छ ।