Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, वैशाख २ आइतबार

  • 696
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २ आइतबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

    काठमाडौँ । अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर गर्ने, कार्यक्रम संशोधन गर्ने र विविध शीर्षकबाट खर्च बढाउने नीति लिएको छ । 

     

    अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अनुसार पछिल्लो एक महिनामा मात्र सरकारी निकायबाट रु एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै रु दुई अर्ब ६३ करोड बराबरको कार्यक्रम संशोधन गरिएको छ भने विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट रु ३६ अर्ब ५० करोड खर्च गरिएको छ ।

     

    बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने काम रकमान्तर हो । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पैसा पठाएर खर्च गर्ने कामलाई कार्यक्रम संशोधन भनिन्छ ।

    शेयर बजार : नेप्से परिसूचक २.३५ प्रतिशतले घट्यो , ३ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २.३५ प्रतिशतले  घटेको छ । आज ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ४ वटा समूहको सूचक सकारात्मक बनेको छ ।यस दिन ३२० कम्पनीको ७७ लाख ९५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    २१ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र ङादी ग्रुप पावर परेका छन् ।

    नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा बैशाख १८ गते

    काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा बैशाख १८ गते हुने भएको छ ।
    सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।  यस वर्ष पनि बैंकले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको  साधारण सभा वैशाख २१ गते , ३५ प्रतिशत लाभांश पारित गर्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले वैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज हुनेछ ।

    प्रि ओपन सेसन :  नेप्से सूचक स्थिर

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यससँगै सूचक २०३८.१० अंकमा रहेको छ । १० कम्पनीको भाउ बढ्दा १९ को भने मूल्य घटेको छ ।  १८ लाख ९१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ५ हजार ५ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।

    हस्तकला प्रवर्द्धन गर्ने बागमती प्रदेशका तीन मन्त्रीको प्रतिबद्धता

    काठमाडौँ।  बागमती प्रदेशका तीन मन्त्रीले मुलुकको हस्तकला क्षेत्रको प्रवद्र्धनमा आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल र उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    उहाँहरुले हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने कार्यलाई प्राथमिकतापूर्वक कार्यान्वयन गर्दै लैजाने बताउनुभएको हो । तीनैजना मन्त्रीले प्रदेशभित्रका मन्त्रालय र कार्यालयमा नेपाली हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना र सञ्चालन विधेयक संसद्बाट पारित गरी कार्यान्वयन गराउने, आगामी आवमा हस्तकला क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुका लागि आवश्यक कच्चापदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

    चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मार्बल ,ग्रेनाइट र टाइल्स गत वर्षको तुलनामा कम मूल्यको आयात

    काठमाडौं ।चालु आर्थिक वर्ष २०८०/८१मा फागुन मसान्तसम्म चालु आवमा कच्चा मार्बल, स्ल्याब मार्बल , कच्चा ग्रेनाइट, स्ल्याब मार्बल र टाइल्सको कुल आयात ७२ करोड ५७लाख४६ हजार भन्सार मूल्य बराबरको हुँदा भन्सार राजस्व ३१करोड ९८लाख ०४हजार असुल गरिएको छ । भन्सार विभागको प्रतिवेदनमा यस्तो देखिएको हो ।
    यो गत वर्षको तुलनामा चालु आवमा कम मूल्य बराबरको आयात भइ कम भन्सार राजस्व असुल भएको हो ।गत आव २०७९÷८०मा कच्चा काटिएको मार्बल, स्ल्याब मार्बल, कच्चा काटिएको ग्रेनाइट, स्ल्याब ग्रेनाइट , टाइल्ससमेत गरी ७६ करोड  १८ लाख ८० हजार रुपैयाको आयात हुँदा ३४ करोड ६१ लाख  २३ हजार रुपैया भन्सार राजस्व प्राप्त भएको थियो ।

    सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो , प्रतितोला एक लाख ३६ हजार आठ सय  रुपैयाँ

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ । 

     

    त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ ।रासस

    नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै

    काठमाडौं।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।  वैशाख ४ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार वैशाख ३ दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी जेठ १ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी साउन १ गते परिपक्व हुनेछ ।

    सर्वाधिक खोजी सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ

    काठमाडौं । प्रहरीले सर्वाधिक खोजी सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी रौतहट देवाही गोनाही नगरपालिका– १ घर भएका ५२ वर्षीय शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो।

     प्रहरीले जनाए अनुसार  अपराध क्षेत्रको मास्टरमाइण्डका रुपमा कुख्यात नुरुल्लाहलाई रौतहटको राजदेवी नगरपालिका– ८ लक्ष्मिपुर बेलविछवा चोक नजिकैको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको छ ।

    २०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका– १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

    नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाउने सर्वोच्चको आदेश

    काठमाडौं ।  सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाउने आदेश दिएको छ ।  न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम कारबाही गर्नबाट  रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।

    आन्तरिक राजनीतिक विवादमा फसेको नाउपाकी   अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सदूरपश्चिम प्रदेशको  समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र सभामुखलाई पठाएकी थिइन् । रेशम चौधरी पक्षका गिरीसहित ५ सांसद तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको सरकारमा गएपछि  अध्यक्ष  श्रेष्ठ चौधरीले फिर्ता बोलाउने पत्र   पठाएकी थिइन् । 

    रञ्जिताले सरकारबाट फिर्ता आउन दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै राज्यमन्त्री समेत रहेकी गिरीलाई मात्र कारबाही गरी अरु प्रत्यक्ष निर्वाचित सांसदलाई  कारबाही गरिनन् । 

    सो पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले २६ चैतमा गिरी प्रदेश सभा सदस्यबाट पदमुक्त भएको  सूचना निकाल्यो ।

    वीरगञ्जमा रु एक करोड ६६ लाखबढी राजस्व सङ्कलन

    वीरगञ्ज  । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु एक करोड ६६ लाख भन्दाबढी राजस्व सङ्कलन गरेको छ । राजस्व छलिको आशङ्कामा विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा निकायबाट नियन्त्रणमा लिई बुझाइएका सवारीसाधन तथा फार्ममाथि कारबाही गरी कार्यालयले चालु अवको फागुन मसान्तसम्ममा सो बराबरको राजस्व सङ्कलन गरेको हो । 

     

    कार्यालयका सूचना अधिकारी प्रमोदकुमार चौधरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीअन्तर्गतका विभिन्न कार्यालयबाट नियन्त्रणमा लिई कारबाहीका लागि सो अवधिमा बुझाइएका तीन सय चार फार्म तथा सवारीसाधनमाथि कारबाही गरी राजस्व सङ्कलन गरिएको छ । 

    भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान

    काठमाडौँ । भारतीय राजदूतावास, काठमाडौँले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । 

     

    अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका साँचो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभयो ।

     

    समारोहमा प्रमुख तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो । उपहारस्वरुप आज हस्तान्तरण गरिएका कूल १०१ सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम ९पश्चिम० जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

    पाँच जना सचिवको सरुवा,यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

    काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विवाद निरूपण गर्न रायसहित प्रतिवेदन पेश गर्नका लागि दोस्रो पटक एक महिना थप गर्ने निर्णय गरेको हो ।यस अघि गत फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पनि पहिलो पटक जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको थियो ।
    शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने त्यहीका अर्जुन प्रसाद पोखरेललाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ ।

    ग्लोबल आइएमई बैंकको “पैसा आउने, थपेर पाउने” योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने  उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।  

    यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५,००० देखि ५०,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५०,००१ देखि १००,००० रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १००,००० रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जुन १०, २०२४ सम्म लागू रहनेछ ।

    ग्लोबल आइएमई बैैकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँ सम्म थप गरिदिनेछ । 

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

    प्रतिनिधिसभाको  चालू अधिवेशन अन्त्यको घोषणा

    काठमाडौं ।  बैशाख २ गते  प्रतिनिधिसभाको  चालू अधिवेशन अन्त्य गरिएको छ।सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि अन्त्य भएको हो ।  अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए।

    बैठकमा उनले प्रतिनिधिसभाको चालू अधिवेशनमा भएका कामबारे जानकारी गराए। चालू अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो। सो  अवधिको    २३ दिनमा २३ पटक गरी कुल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय कामकारबाही व्यतित भएको जनाइयो ।  यस अधिवेशनमा अनुगमन तथा मूल्यांकन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भए।

    आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसदहरू आसनबाट उठेपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय र समझदारीअनुसार नै बैठक अघि बढाउने बताएका थिए । साथै उनले आजका लागि तय गरिएको कार्यसूचीका १ देखि ७ नम्बरसम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराएपछि बैठक सञ्चालन भएको थियो।

    राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर : बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

    म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ ।पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो । चौध वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख धु्रवकुमार झाले बताए ।“६ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ”, उनले भने, “यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ ।

    सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

    भक्तपुर । मध्यपुरथिमिबासीले आज बिहानै सुथसिया अर्थात बिहानीको जात्रा मनाएका छन् ।

     

    बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् । 

     

    थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा तालमा नाच्दै हातहातमा चिराग बाल्ने चलन छ । खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २६ खट मात्रै जात्रामा सहभागि हुने गरेका छन् ।

    पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ ।

     ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गर्नुभएको हो । 
    शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । 

     “गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ ।  सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ”, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, “हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।”

    नौ महिनामा  भन्सार छलीका ५६ करोडका सामान बरामद

    वीरगञ्ज । पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा रु ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ ।  
     नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा  भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रु ५६ करोडभन्दा बढीका अवैध सामान बरामद गरिएको बताउँदै भन्नुभयो, “जिल्लाको एक सय सात किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ ।  सीमित सुरक्षाकर्मीको सहयोगमा  चोरी पैठारी नियन्त्रण गरिरहेका छौँ ।” 

     
     
     
     
     
     
     

     

     
     

     

     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस