Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ३ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, वैशाख ३ सोमबार

  • 774
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ३ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ३ सोमबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    नेपाल वायुसेवा निगमले बुझायो किस्तावापतको रु ५३ करोड

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।  निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरा र दुई वाइड बडी जहाजकोे आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो ।

    शेयर बजार : नेप्से परिसूचक १६.८२ प्रतिशतले घट्यो , २ अर्ब ७९ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १६.८२ प्रतिशतले घटेका छ । आज २ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका परिसूचक घटेका छन् । यस दिन ३१४ कम्पनीको ७२ लाख २२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ७३ लाख रुपैयाँसहित कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीवाइसीएल नेपाल लघुवित्त र सानिमा माइ हाइड्रोपावर रहेका छन् ।

    माछापुच्छ्रे बैंकको ८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ८ हजार २६८ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । इच्छुक विद्यमान शेयरधनीहरूले आगामी ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको मितिभित्र विद्यमान संस्थापक शेयधरनीहरूबाट आवेदन प्राप्त नभएमा  अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि क्यापिटल

    काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले आईपीओ सम्बन्धी कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपक्र निष्काशन तथा बित्री फ्रबन्धकमा नियुक्त गरेको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछ । निष्काशन तथा बित्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपक्र निष्कासन तथा बित्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  कुमारी बैंकले आज ९वैशाख ३ गते० देखि ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा वैशाख ११ गतेसम्म आवेदन सकिनेछ ।

    महँगा सुटिङ कपडा आयात र बिक्री वितरण गर्दा  सञ्जय खन्नाको रोजी इम्पेक्सद्वारा ठूलो मात्रामा राजस्व छली

    काठमाडौं । सर्टिङ सुटिङको कपडा आयात गर्दा रोजी इम्पेक्सले ठुलो मात्रामा राजस्व छली गर्ने  गरेको पाइएको छ । सञ्जय खन्नाले सञ्चालन गरेको रोजी इम्पेक्सले चाइना तथा तेस्रो मुलुकबाट महँगा खालको सर्टिङ सुटिङ कपडा  आयात र  थोक मूल्यमा बिक्री वितरण गर्दा ठुलो मात्रामा राजस्व छली गरेको पाइएको हो ।

    कपडाको  थोक बजार न्यूरोडस्थित रञ्जना गलीमा रहेको रोजी इम्पेक्सले विशेषगरी महँगा खालका सुर्टिङ कपडा आयात र बिक्री वितरण गर्दै आएको छ ।सञ्जय खन्नाले विशेषगरी महँगा खालका सुटिङ /सटिङ  कपडा आयात गर्दा न्यून बिजकीकरणमा आयात गर्ने र भन्सार छल्ने गरेको समाचार स्रोतले बताएको छ ।

    सञ्जय खन्नाले विगत लामो समयदेखि महँगा सुटिङ सर्टिङका कपडा आयात र बिक्री वितरण गर्दै आएका छन् । विशेषगरी ठुला टेलरिङ पसलहरू र महँगा कपडाका शो रुममा बिक्री वितरण गर्दै आएका खन्नाले  कपडाको भ्याट बिल दिँदा झण्डै आधा मूल्यको मात्रै दिने गरेको एक टेलर पसलका सञ्चालकले नयाँ सडकलाई बताए ।

    पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन् : प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताउनुभयो ।

    “आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टिलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा इतिहासकै नयाँ रेकर्ड, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भारत लगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौंको आइटी सेवा निर्यात, स्टार्टअप बिजनेशमा प्रगति लगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएका छन् ।” प्रधानमन्त्री प्रचण्डले ‘केही हुँदैन’ भन्ने निरासाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न अपील गर्नुभयो ।

    तोलामा रु सात सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ ।

    शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । यस्तै, तेजाबी सुन आज प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय १५ निर्धारण भएको छ ।(रासस)

    लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

    काठमाडौँ।  यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ ।

    डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ

    काठमाडौँ । डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले आज नवनियुक्त दुई सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

     

    सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

     

    गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगका सदस्य भने पटकपटक परिवर्तन गरिएका छन् । यसअघि आयोगका सदस्य रहनुभएका जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी ऊर्जा सचिवमा सरुवा हुनुभएपछि उहाँको स्थानमा जलस्रोत तथा सिँचाइ सचिव दुवाडीलाई सदस्य बनाइएको छ ।

    पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन् : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताउनुभएको छ । 

     

    नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताउनुभयो । 

     

    “आयातित इन्धन घटाउँदै विद्युतीय सवारीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टीलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा भएको वृद्धि, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

    चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गर्न अख्तियारलाई पत्राचार गर्ने निर्णय

    काठमाडौं । शिक्षा मन्त्रालयले  चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गर्ने निर्णय गरेको छ ।

    मन्त्रालयले  ६ वर्षदेखि गोप्य राखिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मन्त्रालयले २८ चैतमा सार्वजनिक गरेको थियो । प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ, हीराबहादुर महर्जनसहित ४३ जनालाई कारबाही सिफारिस गरिएको थियो ।

    ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ ।

     

    बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३,२१० रुपैँया र विदेश भ्रमणको लागि ६,००० रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डबाहक महानुभावहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नुहुनेछ । साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहनुहुने महानुभावहरुलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउनुहुनेछ ।

    पर्सा प्रहरीले भन्सार छली गरी लान खोजिएको ५८ लाख बढीको मालको मालवस्तु राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    काठमाडौं । पर्सा जिल्ला प्रहरी कार्यालयले  राजस्व अनुसन्धान कार्यालय पथलैयामा चोरी तस्करी गरी लान खोजिएको ५८ लाख बढीको मालवस्तुसहितको ट्रक थप अनुसन्धानका लागि बुझाएको छ ।प्रहरीले बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा मालवस्तु लोड भएको मालवाहक ट्रक बैशाख ३ गते राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको हो ।

    प्रहरीले पाएको सूचनाका आधारमा खोज तलाश गर्दा सो ट्रक नियन्त्रण लिएको जनाएको छ ।प्रहरीले जनाए अनुसार  मिति २०८१।०१।०२ गते सवा दश बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचना पाएको थियो ।

    काठमाडौँको प्रदूषण अझै अस्वस्थ

    काठमाडौँ ।  काठमाडौँ उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो ।

     

    एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण एक सय ५२ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको पाँचाँै प्रदूषित सहरका रुपमा सूचीकृत छ ।

     

    विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले वायु प्रदूषण नियन्त्रणसम्बन्धी सरकारी नीति राम्रो भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौँ वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रुपमा अग्रस्थानमा रहेको बताउनुभएको छ ।

    सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सर्न सक्छ– म्याक्रोन

    पेरिस ।फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमबार बताउनुभएको छ । 

     

    बिएफएमटिभी र आरएमसीसँगको अन्तरवार्तामा उहाँले टोलीहरूलाई सिन नदीमा नौकाहरूमा विहार गराउनुको सट्टा उद्घाटन समारोहलाई एफिल टावरबाट नदीपारि ‘ट्रोकाडेरो’ भवनसम्म सीमित गर्न सकिने र स्ट्याड डि फ्रान्समा पनि स्थानान्तरण गर्न सकिने बताउनुभयो ।

     

    मुख्य रङ्गशालामा खेलहरू उद्घाटन गर्ने परम्परालाई तोड्दै पेरिस आयोजकहरूले ओलम्पिक इतिहासमा अभूतपूर्व समारोहको आयोजना बनाएका छन् । यद्यपि युक्रेन र गाजामा युद्ध सुरु भएपछि आयोजकहरूले जुलाई २६ मा हुने उद्घाटन समारोहलाई लक्षित गरी कुनै भिन्नै स्थानमा सार्न सकिने भन्ने कुरालाई अहिलेसम्म अस्वीकार गरेका छन् ।

    नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुरुंग मार्गमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गरेका छन् । करिब ५३ महिनापछि हुन लागेको   सो ब्रेक थ्रु अवलोकन गर्न सुरूङ ब्रेक थ्रुस्थल गर्न प्रधानमन्त्री प्रचण्ड पुगेका हुन् । गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत पुगेका छन् । उनका साथ अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि पुगेका छन् ।  सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको र  साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

    मुख्य सुरुङ सोमबार मात्र वारपार छेड्न लागिए पनि त्योसँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको छ । आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ ।

    यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउ–जाउ गर्न सक्ने आयोजनाले जनाएको छ । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउ–जाउ गर्न मिल्ने सात वटा ढोका छन् । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो ।

    घरजग्गा कारोबारमा गति, पछिल्लो त्रैमासमा राजस्व संकलनमा निरन्तर वृद्धि

    काठमाडौं ।घरजग्गा कारोबारमा निरन्तर वृद्धि भइरहेको देखिएको छ । घरजग्गा कारोबारबाट असुल  हुने राजश्व संकलनबाट यस्तो वृद्धि भएको देखिएको हो ।फागुन महिनाको तुलनामा चैत महिनामा राजश्व संकलन ३५ करोडले रुपैयाँले बढेको छ ।चैत महिनामा करिब ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

    चैत महिनामा ५० हजार घरजग्गाको कारोबारबाट ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भयो ।यसैगरी फागुन महिनामा घरजग्गा कारोबारबाट साढे ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । फागुन महिनामा ५१ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।फागुन महिनामा भएको यो राजस्व संकलन माघ महिनाको तुलनामा बढेको थियो । माघमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख रूपैयाँ  राजस्व प्राप्त  गरेको थियो । माघको तुलनामा चैतमा ५७ करोड रुपैयाँले राजस्व संकलनमा वृद्धि भएको थियो ।

    विश्व बैंक र मुद्रा कोष बैठकमा भाग लिन अर्थमन्त्री पुन अमेरिका प्रस्थान

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन् ।

    मन्त्री पुनलाई बिदाई गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णसहित सहसचिवहरू अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् ।

     

     
     
     
     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस