काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ६ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......
सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
सूर्यज्योतिको १०.२६ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको हो । बिहीबारको अन्तिमा कारोबार मूल्य ५०४ रुपैयाँ ७० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
प्रभु इन्सुरेन्सको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो। बिहीबारको अन्तिमा कारोबार मूल्य ७७२ रुपैयाँ २० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजनपछि यसको मूल्य ७३७ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
नागरिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका हुन् । सिउरी न्यादी पावरले प्रतिकिता १०० रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर निष्कासन गर्दैछ ।
शेयर बजार : नेप्से परिसूचक १९.५६ प्रतिशतले घट्यो , २ अर्बको कारोबार
काठमाडौं । आज नेप्से परिसूचक १९.५६ प्रतिशतले घटेको छ । आज २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज सबै समूहका सूचक घटेका छन् ।
यस दिन ३१५ कम्पनीको ५३ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सूर्यज्योति लाइफ इन्सुरेन्स र पोखरा फाइनान्स परेका छन् ।
‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ ।
जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उहाँले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताउनुभयो ।
अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको जोखिम घटाउन तथा त्यसबाट भएको क्षति परिपूर्ति गर्न अनुकूलन कोष, विकसित राष्ट्र र अन्य अन्तर्राष्ट्रिय निकायले नेपाललगायत जलवायु परिवर्तनमा कुनै योगदान नगरेका देशलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
यसपटक अभियान लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्री खुला
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश ९कर प्रयोजनसहित० गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीका अनुसार आगामी वैशाख २१ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिने छ ।
यस्तै, प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९र०८० का लागि ४।७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । आगामी वैशाख २० गते कम्पनीको वार्षिक साधारण बस्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ ।
अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको उद्घाटन समारोहमा उहाँले अर्थतन्त्रका केही परिसूचक सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग धन्दा विकासको माध्यमबाट अर्थतन्त्रलाई अझ चलायमान बनाउन आवश्यक देखिएको बताउनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, “सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरको सिर्जना गर्न आवश्यक देखिएको छ, यसले एकातिर अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने अर्कोतिर देशभित्रै रोजगारीका अवसर सिर्जना हुन्छ, यस कार्यमा लेखा व्यवसायी त्यसमा पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका अझ महत्वपूर्ण हुने मैले विश्वास लिएको छु ।”
सुनको मूल्य प्रतितोला रु छ सयले घट्यो , प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १७ सय २५ रुपैयाँ कायम भएको छ ।
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन , हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन
चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो ।
नाका सञ्चालन भएपछि व्यापार बढेको उहाँले बताउनुभयो । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उहाँको भनाइ छ । उहाँले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताउनुभयो ।रासस
बजार अनुगमनको नाममा होटल अनुगमनप्रति व्यवसायीहरूको गुनासो
काठमाडौं । होटल व्यवसायीहरूले बजार अनुगमनको नाममा होटल अनुगमनप्रति गुनासो व्यक्त गरेका छन् । बिहीबार होटल संघ नेपाल (हान) को टोलीमा सहभागी होटल व्यवसायी अगुवाहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँगको भेटमा यस्तो गुनासो गरेका हुन् ।
हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा टोलीले मन्त्री भण्डारी समक्ष वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटलमा अनुगमन गर्दा गलत व्याख्या गरेको गुनासो गरेको हो ।
ज्ञापनपत्रमा राज्यको नियम ऐन कानुनको पूर्ण पालना गर्दै सञ्चालित होटलहरूमा अनुगमनको नाममा अव्यावहारिक व्याख्या गरी कारबाही तथा जरिबाना भएको तथा तारे होटलहरूमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचार बारम्बार आइरहँदा गलत सन्देश गएको भनिएको छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत असर पुग्ने व्यवसायीको तर्क छ ।
पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । त्यसपछि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो ।
विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए । विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो ।
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३।७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन्
जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो ।
दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते
कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् ।
पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।
ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा१प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् । घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
आज र भोलि मेघगर्जन सहित हल्का वर्षाको पनि सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले आज मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहने छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
दक्षिण कोरियाले ध्यानाकर्षण गराएपछि ईपीएस भाषा परीक्षा सफ्टवेयरको प्रयोग गरी वर्षैभरि सञ्चालन गर्ने तयारी
काठमाडौं । दक्षिण कोरियाले वर्षैभरि भाषा परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै ईपीएस परीक्षामा सहभागी हुने नेपालीहरूको निश्चित सीमा निर्धारण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । कोरिया सरकारले ध्यानाकर्षण गराएपछि सफ्टवेयरको प्रयोग गरी आवेदकहरूको सङ्ख्या सीमित तुल्याउने प्रयास गरिएको हो । दक्षिण कोरियामा काम गर्ने जानका लागि अहिले करिब २० हजार कोटाका लागि १ लाख ६३ हजार जनाले निवेदन दिएपछि एउटा समूहको मात्रै भाषा परीक्षा हुनसकेको छ भने बाँकी दुई समूहको परीक्षा कात्तिक महिनासम्म लम्बिने अवस्था देखिएको छ।
महालेखापरीक्षक पदमा तोयम राया नियुक्त
काठमाडौं । महालेखापरीक्षक पदमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संवैधानिक परिषद्को सिफारिसमा तोयम राया लाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।