Logo

May 05 2024 | २०८१, वैशाख २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १२ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, वैशाख १२ बुधबार

  • 282
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १२ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १२ बुधबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    images

    शेयर बजार : नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर १९६९.१७ विन्दुमा ,  २ अर्ब ५३ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर १९६९.१७ विन्दुमा आएको छ । आज  २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहको सूचक सकारात्मक देखिएको छ ।
    आज  ३१३ कम्पनीको ७२ लाख ८४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६३ करोड ३० लाखभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर कारोबार भएको छ । आज  दोस्रो र तेस्रोमा क्रमशः पोखरा फाइनान्स र गोर्खाज फाइनान्स परेका छन् ।

    ‘नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी’

    काठमाडौँ । नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सो समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा रुपक सापकोटाले राससलाई जानकारी दिनुभयो ।

     

    “लगानी र सहकार्यका क्षेत्रलाई बिस्तार गर्ने विषयमा छलफल गर्नका लागि दुई देशका तर्फबाट बीचमा ‘टिम’ निर्माण गरेर अगाडि बढ्ने समझदारी बनेको छ”, उहाँले भन्नुभयो ।

    कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक शेयर खरीद गर्ने अवधि थप

    काठमाडौं । कुमारी बैंक लिमिटेडले विक्रीमा ल्याएको संस्थापक तर्फको ४ लाख ५० हजार कित्ता शेयर खरीद गर्ने अवधि थप भएको छ । वैशाख ११ गतेसम्म आवेदन पेश गर्ने गरी विक्रीमा आएको यी शेयर खरीदका लागि वैशाख १८ गतेसम्मको मिति थप भएको हो ।

    बैंकले विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्ति तथा सस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    सपोर्ट लघुवित्तको खुद नाफा ९४.९१ प्रतिशतले  बढ्यो

    काठमाडौं । सपोर्ट लघुवित्तको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १२०.९३ प्रतिशतले बढेर १ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.७८ प्रतिशत विन्दुले घटेर १.४७ प्रतिशतमा आएको छ । ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ भने खराब कर्जा घटेको छ । यसैकारण खुद नाफामा आकर्षकण बढोत्तरी हुन सकेको हो । चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ ।

    देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न सरकार क्रियाशील छः  प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ ।

     

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पु¥यागउनुपर्ने बताउनुभयो ।

     

    “स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।”

    कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना

    काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गर्नुभएको छ ।

     

    प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उहाँको सम्मानका दिवाभोजको आयोजना गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी अमिरलाई स्वागत गर्नुभएको थियो । दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

     

    उहाँहरुबीच आज यसअघि होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । वार्तामा विभिन्न छ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।  
    आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ ।

    तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

    काठमाडौँ ।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा  मुख्यतया मौसम सफा रहने छ ।  कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली  भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

    उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

    काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।
    निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ ।
    निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।
     

    पर्सा प्रहरीद्वारा राजस्व छली गरी लान खोजिएको लाखौंको मालवस्तु नियन्त्रणमा

    काठमाडौं । पर्सा प्रहरीले राजस्व छली गरी लान खोजिएको लाखौँको मालवस्तु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।जिल्ला प्रहरी पर्साले  विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट लाखौँको मालवस्तु नियन्त्रणमा लिएर भन्सार कार्यालय वीरगञ्जलाई बुझाएको जनाएको हो ।

    अन्दाजी  नौ लाख नब्बे हजार एक सय असी रुपैया बराबरका  विभिन्न किसिमका लत्ताकपडाहरू, औषधीहरू नियन्त्रणमा लिई  आवश्यक कारवाहीको बैशाख १२ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको विज्ञप्तिमा जनाइएको छ ।

    नियन्त्रणमा लिइएको मालवस्तुहरूमा “ मिति २०८१।०१।१० गते अं.१६ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.११ कृषी अनुसन्धान केन्द्र स्थित सडकखण्डबाट लाइकोपिन, ग्रेप सिड एक्स्ट्रयाक्ट, मल्टिभिटामिन, मल्टिमिनरल एन्ड एन्टिअक्सिडेन्ट क्याप्सुललगायतका विभिन्न औषधि अन्दाजी दुई लाख बाह्र हजार बारबरको ,  मिति २०८१।१।१० गते जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थित सडक खण्डबाट कुर्ता सुरवाल–२९० पिस, टपस–१९६ पिस, टि–सर्ट–११० पिस, चिनी–२८० के.जी., मोबाईलका डिस्पले–६० पिस, पाईप–२ बण्डल, पाईन्ट थान–१०० मिटर, सर्ट–२१० मिटर गरी जम्मा छ लाख अड्सठी हजार एक सय असी  बराबरको , . मिति २०८१।०१।११ गते जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१७ अलौ स्थित सडकखण्डबाट पाइन्ट–४ थान, सर्ट–४ थान, प्याज–१ बोरा, कुर्ता सुरवाल–१४ पिस गरी जम्मा  एक लाख दश हजार  बराबरको मालबस्तुहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    राष्ट्र बैंकले मुद्दतीमा करिब दुई अर्ब निक्षेप लगानी गर्दै , ब्याजदरको प्रस्ताव आह्वान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

    राष्ट्र बैंकबाट मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरू दिन चाहेको ब्याजदर सहित रकम प्रस्ताव वैशाख १६ गते राती १२ बजेभित्र केन्द्रीय बैंकमा आइपुग्ने गरी गर्नुपर्नेछ ।

    बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड १६ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ९ करोड ७२ लाख रुपैयाँ राख्न लागेको हो ।

    पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

    काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
         
    पर्यटन बोर्डमा रिक्त  प्रमुख कार्यकार िअधिकृत नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन र छनोट उपसमिति अवैधानिक भएको आदेशमा छ ।

    बैंक तथा वित्तीय संस्थाले राख्न पाउने जग्गा हदबन्दी हट्दा कर्जा असुलीमा गति आउने विश्वास

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले राख्न पाउने जग्गाको सीमा हटेपछि कर्जा असुलीमा गति आउने विश्वास गरिएको छ ।सरकारले लगानी सम्मेलनलाई लक्षित गरी ल्याएको अध्यादेशमा  जग्गाको हदबन्दी हटाइपछि यस्तो अपेक्षा बढेको हो ।

    कोरोना महामारी र आर्थिक मन्दीको असरले बैंक तथा वित्तीय संस्थाको कर्जा असुली नहुने अवस्था  ‘डिफल्ट’ दर बढेर गयो । यसबाट  वित्तीय क्षेत्रको खराब कर्जा बढन गयो । अर्थतन्त्रमा देखिएको समस्याले कर्जाको लगानी विस्तार हुन नसक्नु र  पुराना कर्जाको डिफल्ट रेट बढेर गयो ।बैंक÷वित्तीय संस्थाको लगानीमा प्रतिफल, आम्दानी घट्नुको साथै  खराब कर्जा झनै बढ्न थाल्यो ।

    बढ्दो खराब कर्जा घटाउनका लागि बैंकहरुले कर्जा असुली प्रक्रिया अघि बढाए । कर्जा असुली प्रक्रिया अघि बढाउँदा जग्गाको हदबन्दीले बैंक तथा वित्तीय संस्थाले धितो सकार गर्ने अवस्था बनेन । घरजग्गाको कारोबारमा आएको सुस्तताका कारण लिलाम बिक्रीमा राख्दा समेत बिक्री नहुँदा बैंक तथा वित्तीय संस्था समस्यामा परेको देखियो ।

    अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

    क्यानबेरा । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।

     

      तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) एक प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा तीन दशमलव छ प्रतिशतले बढेको तथ्याङ्ले देखाएको छ । यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सिपिआईमा चार दशमलव एक प्रतिशतको वृद्धिबाट घटेको सङ्केत गर्दछ । 

     

    एबिएसले सन् २०२३ को पहिलो त्रैमासिकमा शिक्षा, स्वास्थ्य, आवास, खानालगायतको बढ्दो लागतलाई मुद्रास्फीतिको सबैभन्दा महत्त्त्वपूर्ण चालकका रूपमा पहिचान गरेको छ ।

    कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

    काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ ।

     

    मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा ती  सम्झौता र समझदारीमा  हस्ताक्षर भएको हो ।

     

    सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान सम्झौता तथा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ । 

     

    प्रधानमन्त्री दाहाल र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अमिर ९राजा० शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराउनुभयो । 

     

    कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गर्नुभयो ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

     काठमाडौं ।  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयनसमेत गैरकानुनी भएको र छनोट उपसमिति पनि अवैधानिक रहेको भन्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

    वासिङ्टन ।अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । 

     

    यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो । यसलाई अहिले कांग्रेसले अनुमोदन गरेको छ र प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको डेस्कमा पुगेको छ । 

     

    अमेरिका र अन्य पश्चिमी अधिकारीहरूले युवामाझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै यसले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूमाथि जासुसी गर्ने अनुमति दिने आरोप लगाएका छन् । अमेरिकामा मात्र यसको प्रयोगकर्ताको सङ्ख्या १७ करोड रहेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघद्वारा १२ कानुन र नियमावलीमा अध्यादेश मार्फत् भएको संसोधनको   स्वागत

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलनको सफलताका लागि प्रयास स्वरुप  मौजुदा कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेशलाई राम्रो पहल भनेको छ । लगानी सम्मेलन हुन केही दिन बाँकी रहेको बेला  सरकारले लगानी प्रबर्द्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्फत् भएको संसोधनको नेपाल उद्योग वाणिज्य महासंघले  स्वागत गरेको हो ।

    कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण वन्ने विश्वास गर्न सकिनने महासंघले विज्ञप्ति जारी गरी जनाएको छ ।

    यही बैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भुमि सम्बन्धि ऐन लगायतका कानुमा संसोधन गरिएको छ । नया व्यवस्थाले वातावरणीय प्रभाव मुल्यांकन, हदवन्दी लगायतका बिषयलाई सम्बोधन गरिएको छ ।

    गोरखा भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा

    गोरखा ।  गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । 

     

    विसं २०७२ वैशाख १२ गते गएको सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । मङ्गलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो । 

     

    त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । गोरखा भूकम्पमा  परी देशभर आठ हजार नौ ७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै चार सय ७१ जनाको मृत्यु भएको थियो । त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्‍याएको थियो ।रासस

    काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

    धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

     

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइते को प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । 

     

    सुमो अनियन्त्रित भई सडकबाट करिब ३०÷३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए । जसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । गाडी घटनास्थलमा नै रहेको छ ।रासस

     

     
     
     
     
     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस