Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, वैशाख १३ बिहीबार

  • 642
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १३ बिहीबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटका विषयमा आज अर्थविद्हरुसँग परामर्श गर्दै उहाँले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गर्नुभयो । 

     

         श्रोतमा परेको चापका कारण सरकारले कडा खालका नीति अबलम्बन गर्नुपरेको र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउन चुनौती रहेको अर्थमन्त्री पुनको भनाइ छ । “अर्थतन्त्रमा केही सुस्तता छ । आम नागरिक र मुख्यगरी युवाले सरकारसँग धेरै अपेक्षा गरेका छन् । निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउन अब केही बोल्ड निर्णय गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

    शेयर बजार : नेप्से परिसूचक ३.२४ प्रतिशतले घटेर १९६५.९३ विन्दुमा ,  २ अर्ब ३६ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ३.२४ प्रतिशतले घटेर १९६५.९३ विन्दुमा आएको छ । आज २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १३ मध्ये ५ वटा समूहको सूचक सकारात्मक रहेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३०३ कम्पनीको ६३ लाख १२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    ११ करोड २६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः मल्टिपर्पोज फाइनान्स र पिपुल्स पावर लिमिटेड परेका छन् ।

    सबैको र साधना लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता

    काठमाडौं ।  सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई संस्थाले १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।

    अब फार्मेसीमै औषधीको परीक्षण

    काठमाडौँ । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो । 

    औषधी पसलमै पुगेर औषधीको परीक्षण गरी सक्कली वा नक्कली भएको पुष्टि गर्न लागिएको यो पहिलो पटक हो । त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ ।

    पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ ।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा  मुख्यतया मौसम सफा रहने छ ।  कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली  भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थान अन्य प्रदेशका छिटपुट ठाउँमा हुरीबतासको सम्भावना छ ।

    मटिहानी आगलागी  : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन

    काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका–६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनःस्थापनाका लागि एक टोली परिचालन गरिएको छ । 

     

    यही वैशाख १२ गते भएको उक्त घटनाबारे सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको नेतृत्वमा टोली परिचालन गरिएको छ । उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा रहनुभएको छ । 

    नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै

    काठमाडौँ ।  नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही वैशाख १७ गते आयोजना हुने भएको छ । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागवीच सन् १९९० मा सम्पन्न दुई देशका सरकारको व्यापार प्रतिनिधिमण्डलबीच भएको सम्झौताअनुसार प्रत्येक दुई÷दुई वर्षमा सो मेला हुँदै आएको छ ।

    नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुनेगरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम मेला आयोजना गर्ने गरी तयारी गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । 

    नेपाल चीन ९तिब्बत०बीच दुई पक्षीय आर्थिक तथा  ब्यापार  आर्थिक र व्यापारिक सम्वन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको केन्द्रले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।

    वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

    काठमाडौँ ।वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

     

    पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    सहकारीहरुको समस्या समाधान गर्न   तत्काल आवश्यक कानुन बनाउने लगायतका मन्त्रिपरिषद्का निर्णयहरू

    काठमाडौं । सहकारीहरुमा देखिएको समस्या समाधानका लागि सरकारले  तत्काल आवश्यक कानुन बनाउने निर्णय गरेको छ । सहकारीको समस्या छिटो समाधान गर्न विद्यमान कानुनबाट नहुने बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निष्कर्ष निकालेको हो ।

    मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  सामान्य, नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भनेर छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्नुपर्ने देखिएकोले  सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्रयाकबाट ल्याउनुपर्ने निर्णय गरिएको बताइन् ।

     साथै मन्त्रिपरिषद बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुनरावेदन समितिको अध्यक्ष तोक्ने  निर्णय पनि गरेको छ ।

    वैदेशिक रोजगारमा जाने श्रमिकको हवाई टिकटमा खाना खाजालगायतको सुविधा उल्लेख गर्नुपर्ने विभागको पत्राचार

     काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न सरोकारवाला निकायलाई पत्राचार गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभललाई आग्रह गरेको विभागले पत्राचार गरिएको हो ।

    विभागद्वारा बुधबार पत्राचार गरिएको  पत्रमा  हवाई टिकटमा नै खाना-खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह  गरिएको हो ।

    नाम परिवर्तनका लागि  दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

    काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिनुभयो । 

     

    प्रमुख पोखरेलका अनुसार नाम परिवर्तका लागि कामपाले गत चैत २१ गते सार्वजनिक सूचना गरेको थियो । सूचनामा विदेशी नाम भएका संस्थागत विद्यालयलाई  नेपालीपन झल्कने गरी नाम राख्न भनिएको थियो ।

    पर्सा प्रहरीले सवा चालीस लाख बढीको राजस्व छली गरी लान खोजेको मालवस्तु नियन्त्रणमा लिई पथलैयामा बुझायो

    काठमाडौं । पर्सा प्रहरीले सवा चालीस लाख बढीको राजस्व छली गरी लान खोजेको मालवस्तु नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।जिल्ला प्रहरी पर्साले विशेष सूचनाको आधारमा खटाएको प्रहरी टोलीले बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको हो ।

    पर्सा प्रहरीले जनाए अनुसार बैशाखा १२ गते साढे पाँच बजे विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको माल वाहक पिकअप र ट्याक्टर आईसीपीबाट वीरगञ्जतर्फ जाँदै गरेको सूचनाको आधारमा सो कार्यालयबाट खटिएको चेकिङ टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ अलौ स्थित सडकखण्डबाट बीआर बीआर जीरो फाइभ जीए नाइन जीरो फोर टु  नम्बरको मालवाहक पिकअप र बीआर टुटु क्यू सेभेन सेभेन टु सेभेन  नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको थियो ।

    जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन

    लागोस । गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गर्दैछ भन्ने कुराको सम्झना गराएको थियो । यद्यपि अफ्रिकी महादेशमा मलेरियाले लाखौँ मानिसलाई मारेको वा बिरामी पारेको छ । 

     

    नाइजेरियाको लागोस सहरको अनौपचारिक छिमेकी मकोकोका ६६ वर्षीया फनमिलायो कोटुनलाई नै लिनुहोस् । यहाँको फोहर पानीको पोखरीले मलेरिया फैलाउने लामखुट्टेका लागि अनुकूल प्रजनन अवस्था प्रदान गर्दछ । अमेरिकी डलर सातदेखि २१ को बीचमा पाइने उपचार गरिएको कीटनाशक मच्छरदानी कोटुनले किन्न सक्नुहुन्न । यहाँ एन्टिमलेरिया औषधि वा उपचार अत्यन्त कम हुन्छ ।

    अख्तियारद्वारा उपभोक्ता समिति बनाएर हुम्लामा  बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै  ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उपभोक्ता समिति बनाएर हुम्लामा  बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै  ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढा, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतलमा मुद्दा दायर गरिएको हो ।

    अख्तियारले उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली ३ का वडाध्यक्ष सालिग्राम एडीविरुद्ध  मुद्दा दायर गरेको छ ।

    समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ : उद्योगमन्त्री भण्डारी

    काठमाडौँ। ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुँदैछ । सम्मेलनका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । विभिन्न ५० बढी देशका सात सयभन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी हुने निश्चित भइसकेको छ । आर्थिक विकास र समृद्धि हासिल गर्न स्वदेशी पुँजीले मात्र नपुग्ने र विदेशी लगानी समेत चाहिने आवश्यकता बोध गरेर सरकारले यो लगानी सम्मेलन आयोजना गरेको हो । नेपालमा लगानीको उत्कृष्ट वातावरण छ, र यहाँबाट लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल सजिलै लैजान सक्छन् भन्ने सन्देश सरकारले सम्मेलनमार्फत दिन चाहेको छ । त्यसका लागि कानुनी सुधार, लगानीका प्राथमिकता क्षेत्र निर्धारण, उत्पादित वस्तु तथा सेवाको बजार सुनिश्चितलगायत महत्वपूर्ण आधारहरु पनि अहिले सरकारले तयार पारेको छ ।

    तिब्बतसँग जोडिएको नेपाली भूभागमा नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउन चीनले सघाउने

    काठमाडौं । चीनले स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपाली भूभागमा नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रमलाई सघाउने भएको छ ।तिब्बतको राजधानी ल्हासामा सम्पन्न सहायता परियोजनाको पहिलो बैठकमा नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने निर्णय गरिएको हो ।

    बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचारविमर्श भएको थियो ।

    दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएका उक्त महावाणिज्य दूतावासले जनाएको छ ।

    अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् ।अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू डा। प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा। युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार साँझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् ।
    त्यस क्रममा पूर्वअर्थमन्त्रीहरूले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाए । उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै उनीहरूले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् ।

     

     

     

     

     

     

     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस