Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

डेढ किलो सुन र करिब डेढ करोड नगद साथ  बाउ छोरासहित ७ जना पक्राउ


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 705
    Shares

  • डेढ किलो सुन र करिब डेढ करोड नगद साथ  बाउ छोरासहित ७ जना पक्राउ

    काठमाडौं । बाउ छोरासहित  सुन तस्करीमा संलग्न ७ जना डेढ किलो सुन र करिब डेढ करोड नगदसहित पक्राउ परेका छन् ।प्रहरीले  डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित ७ जनालाई  काठमाडौंबाट पक्राउ गरेको हो ।

    असन क्षेत्रमा तस्करीको सुनको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असनस्थित घरमा छापामारी उनीहरूलाई पक्राउ गरेको थियो ।

    बिहीबार दिउँसो काठमाडौं–२४ असनस्थित एक घरमा छापा हानेको बेला महाकाली नगरपालिका–३, दार्चुलाका ४७ वर्षीय गणेशदत्त बडू, बिर्तामोड–३, झापाका ३० वर्षीय दिनेश खरेल र तीन भारतीय नागरिक पक्राउ परे ।

    सुन खरिद–बिक्री हुँदै गरेका बेला पक्राउ परेका उनीहरूको साथबाट १ किलो २२४ ग्राम सुन र १ करोड २६ लाख रुपैयाँ बरामद भयो । उनीहरूकै सूचनाका आधारमा प्रहरीले नजिकै रहेको अर्को घरमा पनि छापा मारेर झापाका २२ वर्षीय भरतराज खरेल र दार्चुलाका २१ वर्षीय आयुष बडूलाई  पक्राउ गरेको थियो ।
     उनीहरूको साथबाट प्रहरीले ७६६.२५ ग्राम सुन र १७ लाख ६० हजार रुपैयाँ बरामद ग¥यो ।  दुवै ठाउँ गरी जम्मा १ किलो ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमन्द्र सिंह राठौरले जानकार सार्वजनिक गरेका हुन् ।

    प्रहरीका अनुसार यसअघि ८८ किलो  सुन तस्करीका बेला गणेशदत्त बडू छुटेका थिए । ७ वर्षअघि १९ भदौ २०७४ मा तत्कालीन काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट पहिलो पटक ८८ किलो सुन बरामद गरेको थियो । भीआईपी लेखिएको स्टिकर टाँसिएको बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ किलो सुन बरामद गरिएको थियो ।

    त्यतिखेर केरुङ नाकाबाट भित्रिएको सुनसँगै गाडी चालक मकवानपुरका गणेश अधिकारी पक्राउ परेका थिए । अनुसन्धानका क्रममा प्रहरीले ४ असोज २०७४ मा बडूलाई पनि नियन्त्रणमा लियो । न्यूरोडमा कार्यविनायक सुनचाँदी गहना पसल सञ्चालन गरेर बसेका उनी तस्करी भएर आएको सुन किन्ने व्यक्ति भएको अभियोगमा पक्राउ परेका थिए ।

    तर सुनका मालिक भनिएका चिनियाँ दम्पती पान विई मिङ र उनकी पत्नी याङ वेन विङ भने पक्राउ परेका थिएनन् । ठमेलमा काठमाडौं वान होटल सञ्चालन गरेका बसेका उनीहरू पक्राउ नगरेपछि प्रहरीले पक्राउ परेका दुवैलाई राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।

    बडू ५ लाख रुपैयाँ धरौटीमा छुटे । पछिल्लो समय उनले सुन पसल बन्द गरेर आफ्नै योजनामा सुन तस्करी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । 
    प्रहरीका अनुसार बिहीबार पक्राउ परेका २२ वर्षीय आयुष, गणेशको आफ्नै छोरा हुन् भने झापाका दिनेश र भरतराज खरेल भने उनका सालीका छोराहरू हुन् ।

    पक्राउ परेका तीन भारतीय नागरिक महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश विभुते, १८ वर्षकै गणेश सतीश बाल्टे भने तस्करीको सुन किन्नेहरू भएको पाइएको छ ।

    कोटेश्वरमा भाडामा बस्दै आएका उनीहरू तस्करीमा ल्याएको सुन सस्तोमा दिने बताएपछि किन्न पुगेका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त सुन काठमाडौंमा खरिद गरेर उनीहरूले भारत पु¥याएर बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस