Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १४ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 357
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १४ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १४ शुक्रबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    images

    युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कश्यपद्वारा अर्थमन्त्री पुनसँग भेटवार्ता

    काठमाडौँ ।  अमेरिकी व्यवसायीहरुको संस्था युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष अतुल केशपले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ ।

     

    यहि वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर नेपाल आउनुभएका केशपले आज अर्थ मन्त्रालयमा मन्त्री पुनसँग भेट गर्नुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

     

    वरिष्ठ उपाध्यक्ष केशपले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको र सूचना प्रविधि क्षेत्र तथा अन्तर्राष्ट्रियस्तरको फनपार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरु इच्छुक रहेको उहाँको भनाइ छ ।

    अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।  

    सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गर्नुभयो । 

    उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशोधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

    पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको सधारण सभा वैशाख १५ गते , आईपीओ निष्कासन गर्ने

    काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसँगै अन्य विविध प्रस्ताव पारितका लागि वैशाख १५ गते विशेष सधारण सभा गर्ने निर्णय गरेको थियो ।

    कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित्व हुन पाउने गरी कम्पनीले विहान ११ बजे विशेष साधारण सभा गर्न लागेको हो ।  आईपीओ निष्कासनको खर्च जुटाउन कम्पनीले यस अघि संस्थापक शेयरधनीहरूबाट चुक्ता हुन बाँकी रकम ऊक्त शेयर वित्री गरेर जुटाएको छ ।

    पिपुल्स पावरको साधारण सभा वैशाख १७ गते , ५० प्रतिशत हकप्रद सेयर जारी गर्न

    काठमाडौं । पिपुल्स पावर कम्पनीको २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । कम्पनीको छैंठौं र सातौं वार्षिक साधारण सभा वैशाख १७ गते बस्दैछ । सभा, लीसारा ब्यांकेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ ।
    आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्न कम्पनीले चैत २९ गते बुक क्लोज गरिसकेको छ । चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । कम्पनीलाई यसअघि नै ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिइसकेको छ ।

    कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ९९ हजार १२१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज –वैशाख १४ गतेबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

    काठमाडौँ ।  मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । 

     पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यहाँ आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन् । लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ । सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना समावेश गरिएका छन् ।

    सुनको मूल्य प्रतितोला रु  एक हजार ४००ले बढ्यो , प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज  चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ६७५ रुपैयाँ किनबेच भइरहेको छ ।

    योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ :प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षदेखि लागूहुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी दिनुभयो । 

     

    राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत शैलीको निरन्तरताबाट राष्ट्रिय विकासको लक्ष्य हासिल हुननसक्ने भएकाले रचनात्मक रूपान्तरण आवश्यक परेको बताउनुभएको हो ।

     

    “सोह्राँैं योजनाको दस्तावेजले नेपालको विकास प्रक्रियामा देखिएका मूलभूत सवाल तथा चुनौतीहरू स्पष्टरूपमा पहिचान गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “योजनाले पहिचान गरेका मूलभूत सवाल तथा चुनौतीहरूलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् क्रमशः सम्बोधन गर्नेगरी काम गर्नुपर्छ।”

    तनहुँका चार पालिकाको निर्णय : सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    दमौली । तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरी कार्यान्वयन गर्न थालेका छन् । जिल्लाको आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, व्यास र शुक्लागण्डकी नगरपालिकाले सरकारी सेवा सुविधा प्राप्त गर्ने हरेकले छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय गरेको हो । 

     

    आँबुखैरेनीले अघिल्लो शैक्षिक सत्र बाटै यो निर्णय गरी कार्यान्वयन गरिरहेको छ भने बाँकी तीन पालिकाले यस आर्थिक वर्षबाट उक्त निर्णय लागू गर्न थालेको हो । शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले छोरा र भतिजलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुभएको छ । उपप्रमुख विकले छोरा सुप्रिम विकलाई खैरेनीटारस्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा कक्षा पाँचमा भर्ना गराउनुभएको छ ।

    दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

    काठमाडौँ । क्यानडा पठाइदिन्छु भनि दुवई पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

     

    पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

    आर्थिक क्रान्तिका पाटाहरुमा नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने एनआरएनए अभियन्ता आरके शर्माको विश्वास

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कतारका स्थापित व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके) ले कतारी अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणसँगै दुई देशबिचको सम्बन्ध उच्च तहमा स्थापित हुने बताएका छन् । उनले नेपाल र कतारबिच पहिलेदेखि नै सम्बन्ध राम्रो भएपनि अबचाहिँ आर्थिक क्रान्तिका पाटाहरुमा समेत बलियो सम्बन्ध स्थापित हुन सुरुवात भएको प्रतिक्रिया दिए । ‘दुई देशबिच अहिले हेर्दा धेरै सम्झौता नभएपनि राष्ट्र विकासका पाटाहरुमा यो अर्थपूर्ण छ’, उनले भने, ‘सहकार्यका लागि दुई पक्षीय टीम बनाउने कुरा भएको छ । यो टीमले गति लिएर पक्कै पनि नेपालको बिकासमा कतार बलियो साझेदार बन्ने छ भन्ने विश्वास छ ।’

    डेढ किलो सुन र करिब डेढ करोड नगद साथ  बाउ छोरासहित ७ जना पक्राउ

    काठमाडौं । बाउ छोरासहित  सुन तस्करीमा संलग्न ७ जना डेढ किलो सुन र करिब डेढ करोड नगदसहित पक्राउ परेका छन् ।प्रहरीले  डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित ७ जनालाई  काठमाडौंबाट पक्राउ गरेको हो ।

    असन क्षेत्रमा तस्करीको सुनको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असनस्थित घरमा छापामारी उनीहरूलाई पक्राउ गरेको थियो ।

    बिहीबार दिउँसो काठमाडौं–२४ असनस्थित एक घरमा छापा हानेको बेला महाकाली नगरपालिका–३, दार्चुलाका ४७ वर्षीय गणेशदत्त बडू, बिर्तामोड–३, झापाका ३० वर्षीय दिनेश खरेल र तीन भारतीय नागरिक पक्राउ परे ।

    सुन खरिद–बिक्री हुँदै गरेका बेला पक्राउ परेका उनीहरूको साथबाट १ किलो २२४ ग्राम सुन र १ करोड २६ लाख रुपैयाँ बरामद भयो । उनीहरूकै सूचनाका आधारमा प्रहरीले नजिकै रहेको अर्को घरमा पनि छापा मारेर झापाका २२ वर्षीय भरतराज खरेल र दार्चुलाका २१ वर्षीय आयुष बडूलाई  पक्राउ गरेको थियो ।
     उनीहरूको साथबाट प्रहरीले ७६६.२५ ग्राम सुन र १७ लाख ६० हजार रुपैयाँ बरामद ग¥यो ।  दुवै ठाउँ गरी जम्मा १ किलो ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमन्द्र सिंह राठौरले जानकार सार्वजनिक गरेका हुन् ।

    राष्ट्रिय बीमा कम्पनीको सीईओमा बीमा संस्थानका पूर्व सीईओ डा. शिवहरि श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा संस्थानका पूर्व सीईओ डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डा.श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    कम्पनीको सीईओ पदपूर्ति उपसमितिले सीइओको लागि ४ जनाको नाम सर्टलिस्ट गरेकोमा समितिको बैठकले डा.श्रेष्ठलाई  नियुक्त गर्ने निर्णय ग¥यो । 
    सर्टलिस्टमा  पर्ने अन्यहरूमा नारायण कुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोईराला थिए । उनलाई कम्पनीको नियमावलीको नियम ३३(५) र नियम ३५ बमोजिम सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव डा. सृजना पन्तले जानकारी दिइन् ।

    कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

    क्यानबेरा ।विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ ।

                     

    बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआइआरओ) लगायत १२ अन्तर्राष्ट्रिय संस्थाहरूले प्लास्टिक प्रदूषणका लागि जिम्मेवारीको पहिलो मापन प्रदान गरेका छन् । 

                      

    चौरासी देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्याङ्कमा आधारित अनुसन्धानमा सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ कम्पनी र १३ कम्पनी प्रत्येक एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ ।

    कर्जा ब्याज एकल अंकमा आएको अवसर सदुपयोग गर्न सुझाव

    काठमाडौं । कर्जा ब्याज एकल अंकमा आएको अवसर सदुपयोग गर्न नेपाल राष्ट्र बैंकले सेवाग्राहीको ध्यानाकर्षण गरेको छ ।केन्द्रीय बैक नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले यस्तो बताएकी हुन् ।

    राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव समारोहमा  डेपुटी गभर्नर ढुंगानाले कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताइन् ।

     

     
     
     
     
     
     
     

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस