Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, वैशाख १६ आइतबार

  • 387
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १६ आइतबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    images

    शेयर बजार : नेप्से परिसूचक १४.३३ प्रतिशतले बढेर १९८०.२७ विन्दुमा ,  २ अर्ब ६८ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १४.३३ प्रतिशतले बढेर १९८०.२७ विन्दुमा आएको छ । आज २ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । एउटाबाहेक बाँकी सबै समूहका सूचक बढेको छ ।
    यस दिन ३०८ कम्पनीको ६८ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स सबैभन्दा अघि छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः मल्पिपर्पोज फाइनान्स र पिपुल्स पावर परेका छन् ।

    लगानी सम्मेलनः द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

    काठमाडौँ ।  तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् ।

     

    सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ । 

     

    महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गर्नुभएको हो ।

    प्रि ओपन सेसन : नेप्से सूचक  ७.६० विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ७.६० विन्दुले बढेको छ । यससँगै सूचक १९७३.५३ अंकमा आएको छ । २३ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४८ कम्पनीको ४ हजार २ सय ७७ कित्ता सेयर कारोबार भएको छ ।३६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।

    यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

    काठमाडौँ ।  आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु सञ्चालन हुँदैछन् ।

     

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिनुभएको छ भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ । लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ । 

     

    उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिने कार्यक्रम छ ।

    नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताउनुभयो । 

     

    उहाँले नेपालमा लगानीको अवसर र सम्भावना खोज्न आउनुहुने पाहुनाप्रति आभार व्यक्त गर्नुभयो । सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे जानकारी गराउनुका साथै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

    तेस्रो लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी

    काठमाडौँ । तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

         उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्यसहित सम्बोधन गर्नुभयो ।

     

    समारोहमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित हुनुहुन्छ ।

    नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । 
    आजदेखि यहाँ सुरुभएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीका सम्भावना रहेको र नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताउनुभयो । 

    लगानी सम्मेलनको सह–आयोजक समेत रहेको नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै महासङ्घ अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतकाबीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने धारणा राख्नुभयो । 

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी विराटकुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३ सय ७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७ सय ४५ कित्ता गरी ३० हजार १ सय २० कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ ।इच्छुक संस्थापक सेयरधनीहरूले आजदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार वैशाख १६ गते छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १६ सय ७५ रुपैयाँ कायम भएको छ ।

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

    आज राति कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ  । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेटने नागरिक लगानी कोषको योजना

    काठमाडौँ    । नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेटने योजना बनाएको छ । कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले विराटनगरमा  सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।    उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको उनले बताए ।

    हालसम्म सहभागी संख्या ६ हजार एक सय १० पुगेको छ । आर्थिक वर्ष ०८०/८१ को बजेटमा नागरिक लगानी कोषमार्फत् स्वरोजगरामा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेटने गरी कार्य सुरु गरेकोउनले खुलाए ।

    यो योजनामा आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था छ ।

    प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ ।  

     

    सामुदायिक विद्याल र शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड वितरण गर्ने तयारी गरेको महानगरको शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिनुभयो । 

     

    प्रमुख पोखरेलका अनुसार उक्त बोर्ड अहिले खरिद प्रक्रियामा छ । केही दिनभित्रमा नै विद्यालयलाई वितरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । “अहिले कुनकुन विद्यालयलाई वितरण गर्ने यकीन भने भएको छैन”, उहाँले भन्नुभयो । हाल महानगरमा ८९ सामुदायिक विद्यालय छन् । सकेसम्म धेरै विद्यालयलाई वितरण गर्ने चाहना महानगरको छ ।     

    के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन लगानीकर्तालाई लगानी प्रवर्द्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यका साथ उक्त अध्यादेश जारी गरिएको हो ।

    अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ ।
    अध्यादेशमा जग्गा प्राप्ति ऐन, २०३४ मा संशोधन गरी दफा १६ को उपदफा (२) पछि देहायको उपदफा ९३० थपिएको छ । उक्त दफामा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भ एपनि यस दफाबमोजिम मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण गरिने छैन ।’

    अमेरिकी कम्पनीले दुई महानिर्देशक हल्लायो , राजस्व अनुसन्धान विभागका महानिर्देशक फेरिँदै

    काठमाडौं ।अमेरिकी कम्पनीहरूले राजस्व अनुसन्धान विभागका दुई महानिर्देशकको पद हल्लाइ दिएका छन् ।अमेरिकन कम्पनी कोटिभिटी नेपालले राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेपछि विभागका महानिर्देशक नवराज ढुंगानाको पद हल्लाइ दिएको हो ।

    कोटिभिटी नेपाल र त्यसका सञ्चालक विरुद्ध राजस्व अनुसन्धान विभागले २०८० चैत १८ गते  राजस्व चुहावटसम्बन्धी कसूरमा  १० अर्ब ३६ कारोड ४५ लाख बढीको मुद्दा दायर गरेको थियो ।राजस्व अनुसन्धान विभागले हात्तीसारस्थित कोटिभिटी नेपाल प्रालि र यसका सञ्चालकहरू डा.एमाद रिस्क, ब्रेट म्यागन, केरी इस्किन, पिटर स्यापो र अर्पण कोथुरसमेत विरुद्ध  १० अर्ब ३६  करोड ४५  लाख २२   हजार ६  सय बढी  बिगो र सजाय मागदाबी गरी पाटन उच्च अदालतमा मुद्दा दायर गरको थियो ।

    राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी ऐन संंशाधन गर्न बनेको अध्योदश जारी

    काठमाडौं ।लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले ल्याइएको लगानी सहजीकरणसम्बन्धी अध्याधेश जारी गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका  हुन् ।

    लगानीकर्ताहरूको विश्वास जित्न संशोधन गर्नुपर्ने ऐनहरू नियमितरूपमा पारित गराउन नसक्ने देखेर  लगानी सम्मेलनका पूर्व संध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी सार्वजनिक गरेको हो ।

    अग्रिम कर कट्टी भनेको के हो ?

    कर लाग्ने कारोबार गर्ने व्यक्तिलार्ई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा श्रोतमा कर कट्टी / अग्रिम कर कट्टी सम्बन्धी प्रावधान रहेको छ । कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलार्ई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने व्यवस्थालार्ई भुक्तानीमा कर कट्टी भनिन्छ ।

    अग्रिम कर कट्टी गर्ने तथा अग्रिम कर असुली गर्ने दायित्व भएको व्यक्तिले कर कानुनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने र लाभ तथा कारोवारमा अग्रिम कर असुली गर्नु पर्दछ । यसरी भुक्तानी कै समयमा अर्थात श्रोतमा नै कर कट्टी हुने भएकोले यसलाई भुक्तानी (श्रोत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ ।

     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस