काठमाडौं । भुटानले नेपालसँग पर्यटन, ऊर्जा तथा कृषि क्षेत्रको विकासमा सहकार्य गर्न उत्सुक रहेको देखिएको छ । भुटानको भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेसँगको भेटवार्तामा यस्तो उत्सुकता देखिएको हो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पुमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरे ।
उपाध्यक्ष श्रेष्ठ र प्रधानमन्त्री तोग्बेको थिम्पुस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, पर्यटन, ऊर्जा तथा कृषि क्षेत्रको विकासको लागि आ–आफ्ना अनुभवहरूको आदान–प्रदान गर्ने छलफल भएको थियो । प्रधानमन्त्री तोग्बेले नेपालको सोह्रौँ योजनाले के–कस्तो विषयलाई जोड दिएको छ भन्ने विषयमा जिज्ञासा राखेको जनाइएको छ ।