काठमाडौँ। सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा हुनुहुन्छ । गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेक्नुभएका उहाँ यस वर्ष २९औँ पटक आरोहणको तयारीमा हुनुहुन्छ ।
सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसक्नुभएको छ । वसन्त यामको सगरमाथा आरोहणका लागि एकसाताअघि काठमाडौँबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा आधार शिविर पुग्नुभएका कामिरिताले भन्नुभयो, “यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ । यति, उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ ।” करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुुचुरोतिर लाग्ने तरखरमा रहनुभएका आरोही कामिरिताले जानकारी दिनुभयो ।
सेभेन समिट ट्रेक्स प्रालिमार्फत उहाँ आरोहणका लागि शिखरतर्फ जाने तयारीमा हुनुहुन्छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष अध्यक्ष मिङमा शेर्पाले आफ्नो कम्पनीमार्फत कामिरिता २९औँ आरोहणका लागि आधार शिविर आइपुग्नुभएको बताउनुभयो । उहाँका अनुसार अहिले अधिकांश आरोही सगरमाथा आधार शिविर पुगेका छन् । उनीहरु आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन् । सेभेन समिटमार्फत मात्रै ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन् । खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्दै आउनुभएको छ । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिनुभएका ५४ वर्षीय उहाँले यसवर्ष सफल आरोहण गर्नुभएमा आफ्नै कीर्तिमानी तोडिनेछ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुनुहुन्छ ।
गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गर्नुभएको थियो । पासाङ दावाले यसपटक सगरमाथा आरोहण गर्ने या नगर्ने टुङ्गो छैन । “सगरमाथा आरोहणका लागि जाँदैछु, मेरो अरू उद्देश्य छैन”, कामिरिताले भन्नुभयो, “हिमाल आरोहणको पेसालाई निरन्तरता मात्र दिएको हुँ, म कीर्तिमानीका लागि सगरमाथा गएको हैन ।” मौसमले साथ दिएमा यो वर्ष उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथा चुचुरोमा पाइला टेक्ने कामिरिताको विश्वास छ । उहाँले भन्नुभयो, “अघिल्लो आरोहणमा बढी चिसो भएको थियो, त्यसैले आरोहणमा केही असहजता थियो, आशा गरौँ यो पटक मौसमले साथ दिनेछ ।” सगरमाथा आरोहणमा जाँदा खुम्बु आइसफल निकै जोखिमपूर्ण भएकाले विशेष सतर्कता अपनाउन आरोहीलाई उहाँको सुझाव छ । सगरमाथा आरोहणमा हुनसक्ने विकृति रोक्न आरोहीको निगरानी र व्यवस्थापनमा सरकारी निकायले विशेष ध्यान दिन जरुरी भएको उहाँको भनाइ छ । सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चीज दिएको छ । हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उहाँको बुझाइ छ ।
कामिरिताको आरोहण यात्रा कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गर्र्नुभएको थियो । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसको केही दिनलगत्तै उहाँ दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभयो । उहाँले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेक्नुभएका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ । कीर्तिमान जोगाउने चुनौती अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् ।
पर्यटन विभागका अनुसार वैशाख १७ गतेसम्म ३७ आरोही समूहका ७० महिला र तीन सय २० पुरुष गरी कूल तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी सङ्कलन भएको छ । अघिल्लो वर्ष ४४ आरोही समूहका चार सय ७८ आरोहीले अनुमति लिएका थिए । जुन सङ्ख्या सगरमाथा आरोहण इतिहासकै सबैभन्दा बढी थियो । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि.) सम्म बाटो खुलेको छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म डोरी टाँग्ने काम सकिएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने अनुमान गरिएको छ । आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का आइसफल डाक्टरहरुले बाटो बनाउने गर्छन् । अघिल्लो वर्ष वैशाख ३० गतेबाट आरोहण सुरु भएको थियो । सात हजार बढी आरोही सगरमाथामा पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युनिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार छ सय २६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिला पाँच सय १९ जना पुगेका छन् ।
सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनुभएको थियो । पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुनुहुन्छ । उहाँले सन् विस २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो तर उहाँ जीवितै फर्किन सक्नुभएन । सन् २०२२ मा सगरमाथा आरोहण गर्नुभएकी कर्मा शेर्पा सगरमाथा आरोहण गर्ने पछिल्लो नेपाली महिलाको सूचीमा हुनुहुन्छ । पाँच वर्षको आरोहण सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी छ सय ५८ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसमा दुई सय ४० आरोही तथा चार सय १८ सहयोगी छन् । सन् २०२१ मा एक सय ८३ आरोही र दुई सय ७६ सहयोगी गरी कूल चार सय ५९ ले सगरमाथा आरोहण गरेका थिए । सन् २०२० मा कोभिडका कारणले सगरमाथा आरोहण हुन सकेन । सन् २०१९ मा दुई सय ८० आरोही र तीन सय ६४ सहयोगी गरी जम्मा छ सय ४४ आरोहीले आरोहण गरे । यस्तै, सन् २०१८ मा दुई सय ८२ आरोही तथा दुई सय ९८ सहयोगी गरी जम्मा पाँच सय ६० ले सगरमाथा आरोहण गरेका छन् । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।(रासस)