Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 609
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २३ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    हिमालयन रिइन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौ । हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडको ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

     कम्पनीले हाल कायम पुँजीमा थप ८० प्रतिशत हकप्रद जारी गर्ने तयारीमा छ ।

    माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उहाँको पार्टी नेकपा (माओवादी केन्द्र)सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् । 

    माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनलाई आज विभिन्न विभागका प्रमुखसँग छलफल गरी सुझाव लिनुभएको हो ।  मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुनुहुन्छ । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गर्नुभयो ।

    शेयर बजार : नेप्से परिसूचक २४.५८ प्रतिशतले घटेर  १९७४.३७ विन्दुमा , ३ अर्ब ७९ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २४.५८ प्रतिशतले घटेर  १९७४.३७ विन्दुमा आएको छ । आज ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । निर्जीवन बिमा र माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
    यस दिन ३१६ कम्पनीको ९७ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र पोखरा फाइनान्स परेका छन् ।

    नेपाल हाइड्रोपावरले कमायो रू. १० लाखभन्दा बढी नाफा

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. १० लाख २० हजार नाफा कमाएको छ । 

    गत आवको यसै अवधिमा भने कम्पनी रू. ३४ लाख १६ हजार नोक्सानीमा थियो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै नाफामा गएको हो । गत आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. १२ करोड ५५ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १२ करोड ७९ लाख पुगेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगमा पूर्वस्वीकृति मागेको छ ।

    आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । लाभांश संशोधनपछि कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल २६ दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।जसमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश छ । कम्पनीले प्रस्तावित बोनस शेयरलाई यथावत् राख्दै नगद लाभांश घटाएको हो । बीमा नियामक नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजनबाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले बताएको छ ।

    कामना सेवा विकास बैंकको ७३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । कामना सेवा विकास बैंकले ७३ हजार ८४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कपनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    इच्छुक विद्यमान संस्थापक शेयरधनीले वैशाख २३ गतेदेखि ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा पेस गर्नुपर्नेछ ।

    आज साना किसान लघुवित्तको २ लाख ११ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं ।  कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आज ९वैशाख २३ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट पेश गर्न सकिनेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ०.५२ विन्दुले घट्यो

    काठमाडौं  प्रि ओपन सेसनमा नेप्से सूचक ०.५२ अंकले घटेको छ । यससँगै सूचक १९९८.४४ अंकमा आएको छ । ३७ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ५ हजार २ सय ७५ कित्ता सेयर कारोबार भएको छ । 

    २५ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ ।

    जापानका परराष्ट्रमन्त्री आज आउँदै ,यस्तो छ नेपाल–जापान सम्बन्ध

    काठमाडौँ ।  जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो ।
    राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उहाँले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

    मकवानपुर ।बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई भोलि वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको  आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो ।

    राष्ट्रपतिसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

    काठमाडौ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आउनुभएका जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।  शीतल निवासमा आज भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गर्नुभएको राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

    जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक

    काठमाडौँ । नेपालको एकदिने भ्रमणमा आउनुभएका जापानी परराष्ट्रमन्त्री खामिखावा योको आज जमलस्थित मण्डला बुक प्वाइन्टमा जानुभई पुस्तक खरिद गर्नुभयो । 

     

    उहाँको पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक परेको थियो । खासगरी नेपाली लेखककै पुस्तक उहाँ किन्न चाहुनुभएको थियो । ‘गाई जात्रा’, ‘भतिजीहरु’, ‘बिस्केट जात्रा’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’, ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक बालबालिकासम्बन्धी चित्र पुस्तक जापानी परराष्ट्रमन्त्री योकोले खरिद गर्नुभएको  मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले जानकारी दिनुभयो ।  जापानी परराष्ट्रमन्त्री योकाको रोजाइमा नेपाल पिक्चर लाइब्रेस पुस्तक ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्बिर पुस्तक पनि परेको छ ।

    नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

    काठमाडौँ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ । 

     

    राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र  ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो । कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ । 

    अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्वारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवं चेम्बरका पदाधिकारी टोलीले सिंहदरवारमा प्रधानमन्त्री दाहालसंग आज भेटवार्ता गर्दै वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्ने लगायतका सुझाव दिएको हो ।

    चालु आर्थिक वर्षको १० महिनामा मधेश प्रदेशमा बजेट १६ प्रतिशत पनि खर्च भएन

    काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा मधेश प्रदेशले बजेटको १५.९६ प्रतिशत मात्र खर्च गरेको छ ।  वैशाख २१ गते शुक्रबारसम्म मधेश प्रदेशमा कुल बजेटको १५.९६ प्रतिशत मात्र खर्च भएको देखिएको हो ।

    चालुतर्फ १८ अर्ब ५४ करोड ५८ हजार बजेटमध्ये ३ अर्ब ९९ करोड ७१ लाख ७८ हजार ७२२ रुपैयाँ अर्थात २१.५५ प्रतिशत र पुँजीगततर्फको २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार मध्ये ३ अर्ब ४ करोड ४६ लाख १४ हजार ७०५ रुपैयाँ अर्थात ११.९० प्रतिशत गरी कुल १५.९६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशका लेखा अधिकृत मनोज कुमार झाले जानकारी सार्वजनिक गरेका छन् ।

    तापक्रम घट्यो : अब आउने वर्षाले आगलागी घटाउन सघाउने

    काठमाडौँ ।  गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ ।

     

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पूर्वको कोसीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र भोलि र पर्सी ९मङ्गलबार० अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ । 

     

    विभागमा मौसमविद् सरोज पुडासैनीले मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको जानकारी दिँदै अब बढ्दो आगलागीलाई प्रभाव पार्ने गरी ठाउँठाउँमा वर्षा हुने राससलाई जानकारी दिनुभयो ।

    राजस्व अनुसन्धानका  महानिर्देशक नवराज ढुंगाना परराष्ट्रमा सरुवा , चक्र बुढालाई अनुसन्धान विभागको जिम्मेवारी

    काठमाडौं । अमेरिकन कम्पनी कोटिभिटीविरुद्ध कर छलीको मुद्दा चलाएपछि  निजी क्षेत्रको आक्रमणमा  परेका  राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई  परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।  ढुंगानाको ठाउँमा पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएका चक्रबहादुर बुढालाई पठाइएको हो ।

    बुढालाई राजस्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी सरकारले गरेको छ ।

    सरकारले  कलकत्ताको महावाणिज्य दूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

    नागरिकको स्वास्थ्यप्रति वर्तमान सरकार संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नागरिकको स्वास्थ्यप्रति वर्तमान सरकार संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा सोमबार  प्रधानमन्त्री प्रचण्डले  यस्तो बताएका हुन् ।

    नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको  बताउँदै प्रधानमन्त्री प्रचण्डले   सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको   र  निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्न सरकार गम्भीर भएर लागेको बताए

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने विश्वास दिलाए ।

     
     
     
     

     

     

     
     
     

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस