Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 585
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २४ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    ब्रोकर कमिसन घट्यो, लगानीकर्तालाई राहत

    काठमाडौं । नेपाल धितोपत्र बोडले ब्रोकर कमिसन घटाएको छ । आज बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमसिन घटाएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय भएको हो ।

    बोर्डले ब्रोकर कमिसन १० प्रतिशत घटाउने निर्णय गरेकोमा छ ।  हाल कायम कमिसनमा १० प्रतिशत घटाउने निर्णय गरिएको हो

     जेठ १ गतेदेखि लागु हुने  यो निर्णय ४/५ महिना पहिला नै भएको हो ।  अर्थमन्त्रालयमा अड्किएको थियो । २/३ साता अघि अर्थमन्त्रालयबाट स्वीकृत भएर आएको हो ।

    मिथिला लघुवित्तको खुद नाफा साढे ४१ प्रतिशतले बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा ४१ दशमलव ५१ प्रतिशत बढी भएको हो । स वर्ष कम्पनीको सञ्चालन नाफा भने ४४ दशमलव २९ प्रतिशत बढेको छ । गत वर्ष २ करोड ४४ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ५३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

    महिला लघुवित्तको खुद नाफा २३ प्रतिशतले घट्यो

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २३ प्रतिशतले कम हो ।

    यस संस्थाको खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको हो । २० करोड ५८ करोड रहेको उक्त आम्दानी अहिले घटेर ११ करोड ६३ लाख कायम भएको छ ।  यसले इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । संस्थाले ३ करोड ५६ लाख रुपैयाँ उक्त चार्ज रिभर्स गरेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको १९ लाख ९२ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामी भर्ने आज  अन्तिम दिन रहेको छ  । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
    यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।

    सिटिजन लाइफले सेयर धनीलाई प्रिमियम रकमबाट २८.४ प्रतिशत लाभांश दिने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर प्रिमियम रकमबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८।४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    गरिमा विकास बैंकको ४ लाख २६ हजार बढी संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी ‘समूह क’ का केही सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न इच्छुक हाल विद्यमान संस्थापक सेयरधनीहरूले जेष्ठ २७ गतेभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ । तोकएको समयावधिभित्र संस्थापकहरूबाट सेयर खरिदका लागि पर्याप्त निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

    ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

    यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा  बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासिहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ ।

    तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य , प्रतितोला एक लाख ३५ हजार छ सय रुपैया

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो ।

     

    महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो ।

    बागमती प्रदेश अन्तर्गतका कार्यालयहरुमा आज सार्वजनिक बिदा ,संघीय कार्यालयहरु, बैंक, बीमा, सेयरबजार खुला रहने

    काठमाडौं ।  बागमती प्रदेश अन्तर्गतका कार्यालयहरुमा आज सार्वजनिक बिदा दिइएको छ , तर संघीय कार्यालयहरु, बैंक, बीमा, सेयरबजार खुला रहने छन । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमतीमा सरकारी कामकाजको भाषाको रूपमा लागु हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारहरूले सार्वजनिक बिदा दिँदा संघीय सरकार मातहतका कार्यालयहरू खुला रहने छन । भने बैंक, बीमा, सेयरबजार खुला रहने छन ।

    आर्थिक समृद्धिका  लागि सरकारको पहल सकारात्मक : पूर्वअर्थमन्त्री पौडेल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको बताउनुभएको छ ।

     

    ‘लोकान्तर डटकम’ को आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आर्थिक बहसमा पूर्वउपप्रधानमन्त्री पौडेलले राजनीतिक स्थिरता नभएसम्म मुलुकको आर्थिक उन्नति नहुने भएकाले एमालेले नयाँ सत्ता समीकरण बनाएको स्पष्ट पार्नुभयो ।

    आजदेखि चक्रबहादुर बुढाले सम्हाले राजस्व अनुसन्धान विभागको कमाण्ड, यस्ता छन् बुढासामु चुनौती

    काठमाडौं । राजस्व अनुसन्धान विभागमा सरुवा भएका चक्रबहादुर बुढाले आजदेखि  राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हालेका छन् ।राजस्व अनुसन्धान विभागमा गत शुक्रबार सरुवा भएका बुढाले औपचारिकरूपमा सोमबारदेखि विभागको कमाण्ड सम्हालेका हुन् ।

    अनुसन्धान विभागका निर्देशक तथा कर्मचारीहरूले  यसअघिका महानिर्देशक नवराज ढुंगानाको विदाइ र नवनियुक्त महानिर्देशक बुढाको स्वागत गरे ।

    नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

    काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिनुभयो । 

     

    उहाँले भन्नुभयो, “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताउनुभयो । उहाँले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिनुभयो ।

    युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार एवं फिर्ताका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार एवं फिर्ताका लागि सरकारले कुनै कसुर नछाडेको बताउनुभएको छ । 

     

    रुसको सेनामा कार्यरत नेपालीको सङ्ख्या, उनीहरुको अवस्थाबारे जानकारी, मृतकको शव फिर्ता, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र उहाँले नेपाल सरकारले रूसी सेनामा भएका सम्झौता खारेज गरेर फिर्ता पठाइदिनपर्ने जस्ता विषयमा रुसी सरकारसँग वार्ता भइरहको उहाँले जानकारी दिनुभयो ।

    शिक्षा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर घट्दै, अर्थतन्त्रमा योगदान बढ्दै

    काठमाडौं । शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बर्सेनि घट्दै गइरहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।
    राष्ट्रिय लेखा तथ्यांककाअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्म शिक्षा क्षेत्रको वृद्धिदर २.७१ प्रतिशत हुने छ  ।यो पूर्वानुमान वृद्धि वितगका वर्षहरूको तुलनामा एकदमै न्यून हो ।

     

     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस