
काठमाडौं । प्रहरीले नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले जानकारी सार्वजनिक गरे अनुसार २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको हो ।
बालमन्दिरको तर्फबाट आज बिहीबार नै सीआईबीमा जाहेरी परेपछि प्रहरीले सम्बद्ध २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरियो ।
२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरको स्थापना गरेको थियो । सो बालमन्दिरको नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा सरकारले राखेको थियो ।
यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको भएपनि औपचारिकरूपमा कसैले उजुरी नदिएकाले प्रक्रिया अगाडि बढेको थिएन् ।एसपी बोगटीले जानकारी सार्वजनिक गरे अनुसार बिहीबार बालमन्दिरको तर्फबाट जाहेरी परेसँगै औपचारिक रूपमा अनुसन्धान र मुद्दाको प्रक्रिया अगाडि बढ्यो ।
बालमन्दिरको ११९ रोपनीमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेका छन् । त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय वृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij