काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले उर्जामा २० प्रतिशत लगानी लगाउनुपर्ने बाध्यात्मक प्रवाधान सिर्जना गर्नुपर्ने माग गरिएको छ ।इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)द्वारा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले यस्तो बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताउँदै अध्यक्ष कार्कीले दश वर्षलाई ऊर्जा दशक र ऊर्जा संकटकाल घोषणा गरेर ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
सरकारले दश वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरेर जाने लक्ष्य लिएको छ । १३ हजार ५ सय मेगावाट देशभित्रै खपत गर्ने र १५ हजार मेगावाट विदेश निर्यात गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि ६१ खर्ब रुपैयाँ लगानी आवश्यक पर्नेछ । यस विषयमा सबैलाई गम्भीर भई वातावरण सिर्जना गर्न उनले आग्रह गरे ।