Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् जेठ ४ शुक्रबार का मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, जेठ ४ शुक्रबार

  • 639
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् जेठ ४ शुक्रबार का मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ४ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

    काठमाडौँ । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । 

     

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिनुभयो । 

     

    त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, सङ्घीय संसद्को प्रतिनिधिसभामा विचाराधीन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिनेसमेत निर्णय गरेको छ ।

    न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनःसंरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पार्नुभयो । “न्यायपालिकाको पुनःसंरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।”

    नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत , आइतबार खुल्छ कारोबार ?

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । साविकको नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएपछि नेरुडे मिर्मिरे लघुवित्तको नाममा सूचीकरण भएको हो । नेरुडे र मिर्मिरे १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।मर्जरपछि बनेको लघुवित्तको पहिलो कारोबारका लागि ५८७ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

    सामुदायिक लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । सामुदायिक लघुवित्तको २ लाख ५६ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । साविकको सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएपछि सामुदायिक लघुवित्तको नाममा सूचीकरण भएको हो । यी २ कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।मर्जरपछि बनेको सामुदायिक लघुवित्तको पहिलो कारोबारका लागि ८८३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

    मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ ।

    मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारीसाधन कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ ।

    त्यसैगरी घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टुु ग्रस इनकम रेसियो)लाई सहजीकरण गरी कर चुक्त प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने व्यवस्था ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

    मौद्रिक नीति : बैंकहरुको पुँजीकोष सुदृढ गर्न केन्द्रीय बैंकले सहजीकरण गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई केही राहत दिने गरी नीति लिएको छ । मौद्रिक नीतिको समीक्षा गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने नीति लिएको हो ।राष्ट्र बैंकको यो व्यवस्थाले पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई कर्जा प्रवाह विस्तार गर्न केही सहज हुने अनुमान गरिएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा , सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् ।

    भिजन लुम्बिनी उर्जाको लकइन अवधि आज सकिँदै

    काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको ९५ हजार ६ सय २५ कित्ता सेयरको लकइन अवधि आज सकिँदै छ ।कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर गत मंसिर ५ गते बाँडफाँड गरिएको थियो ।

    उक्त बाँडफाँट गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता सेयरको लकइन अवधि आज सकिन लागेको हो ।म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लकइन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान छ ।

    सुनको मूल्यमा सामान्य गिरावट , प्रतितोला रु एक लाख ३९ हजार तीन सय

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।

    त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा

    काठमाडौँ । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली ‘थ्री बी हब सवस्टेशन’को आज उद्घाटन गरिएको छ । सो सबस्टेशनको क्षमता दुई सय २०/१३२/३३ केभी रहेको छ । 

    आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३र११ केभी विद्युत् वितरण सबस्टेसनको पनि आजै उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन , युरोपेली सङ्घ ९इयु० का राजदूत भेरोनिक लोरेञ्जो , जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक ९इआइबी० का निर्देशक थौउराया ट्रिकीले आज संयुक्तरुपमा त्रिशूली ‘थ्री बी हब र भाल्चे सबस्टेसन’ उद्घाटन गर्नुभयो ।

    प्रतिनिधिसभाको बैठक स्थगित , अर्को बैठक जेठ ६ गते

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद् सचिवालयका महासचिव  पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

     

    प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ ।

    मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने

    जनकपुरधाम । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् । 
    भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

    मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिले मन्त्री रहेकामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन राज्यमन्त्री हसिना खानबाहेक सबैले सम्पत्ति विवरण समेत बुझाइसकेका छन् ।

    सामान्यतयाः मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने कानूनी प्रावधान छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नुपर्ने उल्लेख छ ।

    डेडिकेटेड तथा ट्रंकलाइन बिजुली खपत बिल विवादबारे लाल आयोगको सिफारिस कार्यान्वयन गरिने

    काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनका विषयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गरिने भएको छ ।

    सरकारले  आयोगद्वारा गरिएका सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय कार्यान्वयन गर्न सरोकारवाला निकायमा पत्र पठाएको हो ।
    मन्त्रिपरिषद्बाट लाल आयोगको सिफारिस कार्यान्वयन गर्न निर्णय भएको र त्यस अनुसार मुख्यसचिवले लेखेको पत्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइसकेको सो मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले जानकारी सार्वजनिक गरेका हुन् ।

    खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

    काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा आछाम बिरपद गाउँपालिका–१का २७ वर्षीय मोहन खड्का, आछाम कमलबजार–१ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथलि गाउँपालिका–७  का २० वर्षीय उपेन्द्र  सिंह, बझाङ खप्तड छान्ना–५ का २१ वर्षीय सुदिप गिरी, अछाम रामारोसन–७ का २३ वर्षी नविन भन्ने नृप भण्डारी, वैतडी पुरचौडि–१ का २७ वर्षीय जयन्त धानुक, कैलाली गैरीगङ्गा–५ का २० वर्षीय तेज थापा, सोही ठाउँका २२ वर्षीय तपेन्द्र खाती तथा वझाङ थलगाका २१ वर्षीय सुनिल रोकाया रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    सहकारी रकम अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति माग गर्दै नेविसंको प्रदर्शन,  प्रदर्शनकारी पक्राउ

    काठमाडौँ । कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रवार सो सङ्गठनका विद्यार्थीहरूले  संसद् भवन अगाडि प्रदर्शन  गरेका हुन् ।

    प्रहरीले  प्रदर्शनका क्रममा ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने ९ जना केटा र २ जना केटी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी नवराज अधिकारीले जानकारी सार्वजनिक गरेका छन्द

    श वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री

    काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

    दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

    नवलपुर ।  नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ्कलन गरेका हुन् । 

    कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ रु २० अर्ब ५० करोड ६९ लाख ५५ हजार सात सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने रु ४५ करोड १८ लाख आठ हजार छ सय ७९ सङ्कलन भएको जानकारी दिनुभयो ।
    आन्तरिक राजस्व कार्यालय कावासोतीले रु २० अर्ब ३३ करोड ८० लाख ९७ हजार सात सय ३२ राजस्व सङ्कलन गरेको महतोले जानकारी दिनुभयो । यसैगरी, सङ्घीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले रु आठ करोड ३९ लाख ५१ हजार एक सय २०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले रु दुई करोड ४२ लाख एक हजार सात सय ११, जिल्ला अदालत नवलपुरले रु एक करोड ५७ लाख ७७ हजार सात सय ९९, त्रिवेणी भन्सार कार्यालयले रु एक करोड ५८ लाख ५१ हजार छ सय ४७ राजस्व सङ्कलन गरेका महतोले बताउनुभयो ।

    नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर दिने

    काठमाडौं । नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर दिने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा बस्ने भएको हो । सभा  बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा  हुनेछ । कम्पनीले हाल कायम जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ ।

    बैंकहरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्ने

    काठमाडौं । अब बैंककरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा उल्लेख छ ।

     
     
     
     

     

     
     
     
     
     
     
     

     

     
     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस