Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

कालीगण्डकीका शालग्राम शिलाको नामकरण अभियान सुरू


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 660
    Shares

  • कालीगण्डकीका शालग्राम शिलाको नामकरण अभियान सुरू

    पर्वत। कालीगण्डकी नदी किनारमा रहेका शालग्राम शिलाको नामकरण अभियान सुरू गरिएको छ । नदीको उत्खनन् र शिलाको चोरी, निकासी रोक्न र समग्र कालीगण्डकी सभ्यताको संरक्षण गर्ने उद्देश्यले आइतबार एकैदिन दश हजारभन्दा बढी शालग्राम शिलाको नामकरण गरी अभियान सुरू गरिएको हो ।

    प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिका र कुश्मा नगर समितिले म्याग्दीको पवित्र धार्मिकस्थल गलेश्वरधामदेखि पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धामसम्म रहेका दश हजारभन्दा बढी शिलामा भगवान्को नाम लेखिएको समितिका सचिव हरेमबहादुर खत्रीले जानकारी दिनुभयो । आइतबार मोहिनी एकादशी तिथिको अवसर पारेर नामकरण अभियानको सुरुआत गरिएकामा पहिलो दिन गलेश्वरधामदेखि पर्वतको मोदीवेणीसम्म पर्ने मुख्य घाटमा रहेका शिलाको नामकरण गरिएको उहाँले बताउनुभयो । त्यहाँ रहेका गलेश्वर, बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती, खनियाघाट, मालढुङ्गा, सहस्रधारा, नयाँपुल, गोपाङघाट हुँदै मोदीवेणी धामसम्मका शिलामा देवी, देवता र भगवान्का अनेकन नाम लेखन गरिएका छन् ।

    अभियानका संयोजक तारा रेग्मी पाध्याले बढी चोरी, निकासी र उत्खनन् हुने कालीगण्डकीको पर्वतखण्डका मुख्य घाटमा पहिलो दिन भजनकीर्तन, बाजागाजासहित पुगेका हजाराँै भक्तजनले विभिन्न रङले शिलामा नामकरण गरिएको बताउनुभयो । नदी किनारमा रहेका साना, ठूला, चक्राङ्कित, निष्चक्राङ्कित सबै शिलामा भगवान्को नाम लेखिएको र बाँकी रहेका शिलामा हरेक एकादशीको तिथिमा नामकरण गरिने पाध्याले जानकारी दिनुभयो । कालीगण्डकी नदी र शालग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणकोसमेत जगेर्ना गर्न समितिले अभियान थालेको अभियानका जिल्ला संयोजक यज्ञबहादुर थापाले बताउनुहुन्छ । शिलाको नामकरणपछि चोरी, निकासी वा उत्खनन गरेमा पनि खोजी गर्न सहज हुने थापाको विश्वास छ । “पछिल्लो समय अवैधरूपमा भइरहेको नदी दोहनका कारण शालग्राम शिलाको अस्तित्व सङ्कटमा पर्दै गएको छ । बहुमूल्य र धार्मिकरूपमा महत्वपूर्ण मानिने यि शिला ढुङ्गा, गिटी र चोकरका रूपमा प्रयोग भइरहेका छन् । त्यसर्थ यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो । हाम्रो अभियानमा सहभागी हुन सबैलाई आग्रह छ”, उहाँले भन्नुभयो ।

    हिन्दू धार्मिक मान्यताअनुसार शालग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ । त्यसमा पनि सो नदी किनारमा ऋषि पुलह, पुलत्व्स, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता भएकाले यहाँको शिला धार्मिक हिसाबले महत्पूर्ण हुने पण्डित लोकनाथ आचार्यले बताउनुभयो । शालग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्दछन् । शालग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि स्वदेश तथा विदेशमा समेत लैजानेक्रम बढ्दै गएको छ ।(रासस)

    प्रतिक्रिया दिनुहोस