Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 777
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ ८ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    हिमाल वाटर पार्क होटलले आईपीओ निष्कासन गर्ने , कुमारी क्यापिटलसँग सम्झौता

    काठमाडौं ।  हिमाल वाटर पार्क भिलेज होटलको आइपीओ जारी गर्नेदेखि सूचीकरण गराउनेसम्मको जिम्मेवारी कुमारी क्यापिटलले पाएको छ । हिमाल वाटर पार्क भिलेज होटल र कुमारी क्यापिटल लिमिटेडबीच ‘वे टू लिस्टिङ्ग’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
    सम्झौताअनुसारको हिमाल वाटर पार्क भिलेज होटलको आइपीओ जारी गरी सूचीकरणको चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
    नेपालको पर्यटन विकासमा टेवा पुर्‍याई वैदेशिक मुद्राको संचितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइज अन्तर्गत रहि सञ्चालन भइरहेको छ । यस होटलमा स्वीट, डिलक्स, एक्सक्यूटिभ, प्रेसिडेन्सियल स्वीट गरि ६० वटा सुविधा सम्पन्न कोठाहरु रहेको कम्पनीले जनाएको छ ।

    शेयर बजार : नेप्से परिसूचक २३.९४ बढेर  २३.९४ विन्दुमा ,५ अर्ब २० करोडको कारोबार

    काठमाडौं ।  आज नेप्से परिसूचक २३.९४ बढेर २११५.९४ विन्दुमा आएको छ । आज ५ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ११ समूहका सूचक बढेका छन् । 
    यस दिन ३१७ कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र कालिका पावर परेका छन् ।

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै यी शेयर विक्रीमा ल्याएको हो । आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।संस्थापक शेयरधनीहरूले मात्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

    नेपाल सोलार फार्म लिमिटेडले आईफीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

    काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित मूल्यमै १२ लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा नेपाल सोलार फार्मलिमिटेडको तर्फबाट सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौता पक्रमा हस्ताक्षर गरेका हुन ।

    बुद्धभूमि नेपाल हाइड्रोलाई हकप्रद बिक्री गर्न विद्युत नियमन आयोगले दियो स्वीकृति

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न  विद्युत नियमन आयोगले पूर्व स्वीकृति दिएको छ । कम्पनीले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गर्न आयोगले स्वीकृति दिएको हो । 

    हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।हकप्रद सम्बन्धी प्रस्ताव आगामी साधारण सभा र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि थप प्रकृया अघि बढ्नेछ ।आयोगले भने १०० प्रतिशतका लागि अनुमति दिएको छ ।

    प्रभु बैंकको साढे ६ लाख कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख ५६ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

    सुनको मूल्य घट्यो , प्रतितोला रु एक लाख ४० हजार छ सय

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ । 
    यस्तै तेजाबी सुन सोमबार तोलामा रु एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ३.५६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५६ विन्दुले बढेको छ । यससँगै सूचक २०९५.५६ अंकमा आएको छ । २६ लाख २८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५१ कम्पनीको ५ हजार ४ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।

    प्रतिशेयर आम्दानी (Earning Per Share) भनेको के हो ?

    कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानीले शेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्ण माप (Measure) प्रदान गर्दछ । प्रतिशेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिशेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ । 

    नेट वर्थ (Net Worth) 
    कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको कूल जोड नै कम्पनीको नेट वर्थ हो । नेट वर्थलाई कम्पनीको कूल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेट वर्थ वा शेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

    जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

    काठमाडौँ । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताउनुभएको छ ।नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । 

    त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा गर्नुभयो । विगतमा राजा चाल्र्सले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनुभयो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम जनशक्ति उत्पादनमा केन्द्रित :  मन्त्री अर्याल

    काभ्रेपलाञ्चोक ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम बजारको माग र आवश्यकका आधारमा जनशक्ति उत्पादनमा केन्द्रित रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आज आयोजित स्थानीय रोजगार केन्द्र तथा दिगो कार्यका लागि परामर्शदाता विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कार्यक्रमलाई निरन्तरता दिई आउँदो आर्थिक वर्षमा थप उत्साहपूर्वकरुपमा कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

    कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    काठमार्डौ । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई पब्लिकेसनस्थित उनको कार्यालयबाट पक्राउ गरिएको हो ।

    काठमाडौै अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले सिरोहिया नियन्त्रणमा लिएको हो । उनलाई दोहोरो नागरिकता लिएको विषयमा परेको मुद्दामा धनुष जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा पक्राउ गरिएको छ ।

    राजस्व अनुसन्धान विभागद्वारा बुढानीलकण्ठमा रहेको रक्सी गोदाममा छापा

    काठमाडौं । राजस्व अनुसन्धान विभागले  काठमाडौंको बुढानीलकण्ठमा रहेको एक रक्सी गोदाममा छापा मारेको छ । काठमाडौंको बुढानीलकण्ठस्थित के के एन्ड के लिक्वर्स ग्यालरी र ग्यालरीको गोदाममा छापा हानी सिलबन्दी गरिएको हो ।

    राजस्व चुहावट तथा अवैध रक्सी स्टोर गरिएको आशंकामा राजस्व अनुसन्धान विभागको ५ नम्बर शाखाको टोलीले बुढानीलकण्ठ १३स्थित के के एन्ड के लिक्वर्स ग्यालरी र उसको गोदाम, अफिस र पसलमा छापा मारेको हो । राजस्व अनुसन्धान विभागको टोलीले २ थान कम्प्युटर, ल्यापटप १ थान, महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिई पसल , अफिस र गोदाम सिल गरेको छ ।

    चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

    ढाका । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । 

     

    गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५।७ प्रतिशत र विश्व बैङ्कको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिकको तथ्याङ्क रहेका समाचार एजेन्सी बीएसएसले सोमबार रिपोर्ट गरेको छ ।

     

    यसैबीच, चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्कमा आधारित अनुमानअनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको दुई हजार सात सय ४९ डलरबाट  बढेर चालु आर्थिक वर्षमा दुई हजार सात सय ८४ डलर पुगेको छ ।

    पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

    काभ्रेपलाञ्चोक ।पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा ठूलो मेला लाग्छ । जिल्लाको पाँचखाल नगरपालिका–९ स्थित उक्त पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमासमेत परिचित छ ।

    विसं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा परम्परादेखि संस्कृतिको संरक्षणार्थ मनाइँदै आएको जात्रामा दर्शनार्थी भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यसवर्ष जात्राको परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रमसमेतको आयोजना गरिएको छ । आगामी शुक्रबारदेखि सुरु हुने कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । सोही अवसरमा कालिका, एकता, एकीकृत पहरी, पलाञ्चोक गैरीगाउँ क्लब र धन्देखोला नेवा समाजले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका हुन् ।

    प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि  छलफल हुने , अर्को बैठक जेठ ११ गते

    काठमाडौँ ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ ११ गतेको दिन तोकेको जानकारी गराउनुभयो । 

     

    दलीय प्रतिनिधिका आधारमा नीति तथा कार्यक्रमाथि छलफल हुने जनाउँदै उहाँले त्यसका लागि सम्बन्धित दलका पदाधिकारीले वक्ता सांसदको नाम बैठक प्रारम्भ हुनुअगावै कार्यव्यवस्था शाखामामा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

    सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

    काठमाडौँ ।सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।

    संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । बैठकमा सबै सदस्य सहभागी हुनुहुन्छ ।

    सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद

    मङ्गलबारे (इलाम)।  नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो ।

    सवारीसहित रु १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो । ससस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान सोमबार नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर १–०३–००१ज ००१९ नम्बरको पिकअपबाट सामान लैजाँदै गर्दा बरामद गरिएको हो ।

    पशुपति क्षेत्र विकास कोषका जिम्मेवारी पदाधिकारीहरूको इशारामा पशुपतिको भेटी चोरी हुने गरेको खुलासा

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषका जिम्मेवारी पदाधिकारीहरूकोे इशारामा  पशुपतिनाथ मन्दिरको भेटी चोरी हुने गरेको खुलेको छ ।पशुपतिको भेटी चोरीमा संलग्न भएको पहिचान गरिएका कर्मचारीले  पशुपति विकास कोषका कोषाध्यक्ष नरायणप्रसाद सुवेदीको इशारामा भेटी चोरी हुने गरेको  े खुलासा गरेका हुन् ।

    पशुपति भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो ।पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

     

     
     
     
     
     

     

     
     
     

     

     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस