Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू..


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 591
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू..

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १६ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    दुई कम्पनीको १२ लाख ४१ हजारभन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ । एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१ दशमलव ६९ कित्ता र स्वरोजगार लघुवित्तको ४ लाख ३९ हजार ४० दशमलव ६५ कित्ता गरेर कुल १२ लाख ४१ हजार ६४२ दशमलव ३४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
    स्वरोजगार लघुवित्तले गत फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । एनएलजी इन्स्योरेन्स कम्पनीले गत फागुन ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    ‘नागरिकलाई केन्द्रमा राखेर बजेट आएको छ, त्यसैले धेरै आलोचना गर्ने ठाउँ छैन’

    काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुनले नागरिकको हित र जनजीविकालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याइएका कारण विरोध गर्ने धेरै ठाउँ नरहेको बताउनुभएको छ । 

    मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस भएको बजेटका सन्दर्भमा आज अर्थमन्त्रालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री पुनले निजी क्षेत्र र प्रतिपक्षी दलहरूले पनि बजेटमाथि धेरै आलोचना गर्ने ठाउँ नरहेको दाबी गर्नुभयो । “नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याइएको छ । बजेटले जनतामात्र होइन, उद्यमी व्यवसायीमा पनि आशा जगाउने अपेक्षा गरेका छौँ”, अर्थमन्त्री पुनले भन्नुभयो, “बजेटमा निजी क्षेत्र र प्रतिपक्षबाट पनि त्यस्तो धेरै विरोध र आलोचना भएको छैन ।”

    आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य

    काठमाडौँ । सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने र नागरिकमा नयाँ उत्साह पैदा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । बजेटले निर्माणाधीन ठूला आयोजनालाई पूरा गर्ने उद्देश्य राखेकाले नयाँ आयोजना यस पटक समावेश गरेको छैन ।

    नयाँ आयोजना थप्ने तर निर्माणमा रहेका आयोजना पूरा नहुने अवस्थाको अन्त्यका लागि यस खालको प्रबन्ध गरिएको अर्थमन्त्री वर्षमान पुनको भनाइ छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “बजेटमा हामीले के कोसिस गरेका छौँ भने नयाँ योजना ल्याउने पुराना छोडिदिने, अर्को (सरकार)ले स्वामित्व नलिने देखिएको थियो । त्यसको अन्त्य गर्न हामीले जो छिटो पूरा हुनेखालका छन्, ती आयोजनालाई पर्याप्त बजेट राखेका छौँ ।”

    शेयर बजार : नेप्से परिसूचक २४ अंकले  घटेर  २०८९.२४ विन्दुमा ,४ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २४ अंकले  घटेर  २०८९.२४ विन्दुमा आएको छ ।आज  ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ४ समूहको सूचक बढेका छन् । यस दिन ३१४ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ५२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट्स परेका छन् ।

    महालेखापरीक्षकको वार्षिक प्रतिवेदन :  तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

    काठमाडौँ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । 

     

    सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७÷७८ को तुलनामा २०७८÷७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८/७९ को तुलनामा २०७९/८० मा एक प्रतिशत घटेको छ । 

     

    त्यस्ते अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७÷७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८÷७९ मा ३१.९५ प्रतिशत र २०७९÷८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ । मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गर्नुभयो ।

    “आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस  गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ”, अर्थमन्त्री पुनले भन्नुभयो । आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ  ।

    सेयर लगानीकर्ताको माग सम्बोधन मात्रै भएर पनि सेयर बजार उकालो लागिरहँदैन

    काठमाडौं । बजेटमा सेयर बजार लगानीकर्ताहरूका माग पूरा हुँदैमा सेयर बजार उकालोको उकालो लाग्या लाग्या हुने अवस्था नभएको कतिपयको बुझाइ रहेको छ ।लगानीकर्ताहरूका माग सम्बोधन हुँदामा उनीहरूको लगानीले मात्र बजारमा बढ्दो तरङ जतिखेर रहने हुँदैन् । अर्थतन्त्रका अन्य क्षेत्रहरू कतिको गतिमान भइरहेको छ त्यसले पनि सेयर बजारका प्रवृति र मनोविज्ञानहरूलाई प्रभावित गरिरहेको हुन्छ । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने कतिपयले बताइरहेका छन् ।

    प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । प्रभु बैंक र स्वावलम्बन लघुवित्तको आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।प्रभु बैंकको ६१ हजार ६६२ कित्ता सेयर रहेको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  

    यस्तै, स्वावलम्बन लघुवित्तको १६ हजार ५२८ कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा जेठ ३१ गते , हकप्रद शेयर निष्कासन प्रस्ताव गर्ने

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले यही जेठ ३१ गते बिहान अम्रपाली ब्याङ्क्वेट, भाटमटेनी, काठमाडौंमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको आधारमा १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ कायम हुनेछ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नुपर्नेछ । कम्पनीलाई अझै ८ करोड ५० लाख रुपैयाँ पूँजी अपुग हुन्छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक २०.४८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २०.४८ विन्दुले बढेको छ । यससँगै सूचक २१३३.७२ अंकमा आएको छ । ६० लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८६ कम्पनीको १७ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।

    होटल व्यवसायीहरूद्वारा बजेटको स्वागत

    काठमाडौं । होटल व्यवसायीहरूले अर्थमन्त्री वर्षमान पुनद्वारा सार्वजनिक बजेटको स्वागत गरेका छन् ।   होटल संघ नेपालले सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटको  स्वागत गरेको  हो ।

    संघले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले गरेको बजेट भाषणमा पर्यटन क्षेत्रका केही विषयहरु सम्बोधन भएकोमा स्वागत गरेको जनाएको छ । 

    २०८१/८२ को राष्ट्रिय वार्षिक बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मुख्य क्षेत्रहरूमा   छिटो आर्थिक समृद्धि दिन सक्ने   क्षेत्रको रूपमा  पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकता राखेको छ ।

    सो  घोषणामा कार्यक्रमहरुको कार्यान्वयन निजी क्षेत्रको प्रचुर सहभागिता र अग्रसरताबाट हासिल गर्ने सरकारी रणनीतिको विषय  
    स्वागतयोग्य रहेको होटल संघ नेपालले जनाएको छ ।

    मौसम पूर्वानुमान : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

    काठमाडौँ ।राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८.३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिँदै गरिएकोमा भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।” यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

    नकली  नेपाली नोट बनाउने गिरोहका चार जना ठूलो परिमाणमा नकली नोटसहित बारामा पक्राउ

    काठमाडौं ।  नकली नेपाली नोट बनाउने गिरोहका चार जना ठूलो परिमाणमा  नकली नोटसहित  बारामा पक्राउ परेका छन् । बारा प्रहरीले  पक्राउ गरेकाहरूमा  पक्राउ पर्ने एक  भारतीय हुन् ।

    बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार  पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरिएको हो ।  बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी सार्वजनिक गरे अनुसार  पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका -६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी,  रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेका छन् ।

    तिर्थयात्री बोकेको बस दाङमा दुर्घटना, २५ यात्रु घाइते

    काठमाडौँ । तिर्थयात्री बोकेर हिँडेको बस दाङमा दुर्घटना भएको छ । कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस गढवा गाउँपालिका ५ चिसापानीमा दुर्घटना भएको हो। बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

    बसमा अधिकांश यात्रु स्वर्गद्वारी दर्शनका लागि हिँडेका तिर्थयात्री थिए । बस सडक किनारको नालीमा पल्टिएको छ । घाइतेहरूको अवस्था भने सामान्य रहेको छ । घाइतेहरुको उपचार लमही अस्पतालमा भइरहेको छ ।

    सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि : निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिएको छ ।  

     

    यस्ता परीक्षणमा ‘फेल’ भएका सवारी साधनलाई नगर क्षेत्रमा प्रयोग गर्न नदिनेसम्मको सोच नगरपालिकाले बनाएको छ । साथै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरपालिकाले पेट्रोल, ग्यास र डिजेलबाट चल्ने सवारी साधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रता बनाउने जनाएको छ । 

     

     

     
     
     

     

     
     
     
     
     

     

     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस