Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, जेठ १७ बिहीबार

  • 582
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ १७ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताउनुभएको छ । 

     

    करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक सङ्घका पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताउनुभएको हो । सङ्घका अध्यक्ष साहिल अग्रवाल नेतृत्वको टोलीले आगामी आवको बजेटमा फलामे डण्डी निर्माणमा प्रयोग हुने स्पन्ज आइरनमा करका दर हेरफेर गर्दा आफूहरु मर्कामा परेको गुनासो गर्नुभएको थियो ।

    एनआईबिएल स्टेबल फण्डका इकाई नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार एनआईबिएल स्टेबल फण्डका इकाई सूचीकृत भएका छन् । फण्डका ११ करोड ३० लाख इकाई सूचीकृत भएका हुन् ।

    अब यी इकाई आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।  फण्डले २०८० माघ २ गते देखि १६ गतेसम्म निष्कासन गरेको इकाई सूचीकृत गराएको हो ।

    शेयर बजार : नेप्से परिसूचक १९.८९ अंकले  घटेर  २०६९.५३ विन्दुमा ,४ अर्ब २१ करोडको कारोबार

    काठमाडौं ।  आज नेप्से परिसूचक १९.८९ अंकले  घटेर  २०६९.५३ विन्दुमा आएको छ । आज ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ वटा समूहमात्र सकारात्मक भएका छन् । 
    यस दिन ३११ कम्पनीको ९८ लाख ६४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थनमा क्रमशः ङादी ग्रुप पावर र जानकी फाइनान्स रहेका छन् ।

    रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

    विराटनगर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने जानकारी दिनुभएको छ ।  आज यहाँ आयोजित श्रमाधान रोजगार मेलालाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम, सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गरिने बताउनुभयो ।

     

    “वैदेशिक रोजगारीबाट फर्किएका वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।”

    बजेटमा सम्बोधन भएका निजी क्षेत्रका मागको सफल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संकुचनलाई हटाउन सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा समावेश भएका विषयहरुमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

    बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताउँदै उनले अब कार्यान्वयनमा पनि यसलाई समेट्नुपर्ने बताए । बजेटमा समावेश भएका निजी क्षेत्रको मागको सफल कार्यान्वयन हुनुपर्ने उनको भनाई छ । बजेटमा ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्ने जस्ता कार्यक्रम निजी क्षेत्रको सुझावअनुसार नै प्राथमिकताका साथ आएको अध्यक्ष ढकालले बताए ।

    साना किसान लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्री खुला

    काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आज ९जेठ १७ गते० देखि आफ्नो स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ ।यसमा लगानीकर्ताले न्यूनतम ३३० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । त्यसैगरी, न्यूनतम १ हजारदेखि अधिकतम ४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो कम्पनीको शेयर खरीदका लागि साना किसान सहकारी संसथाहरु र विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । यसमा असार १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

    कुमारी बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।बैंकले बिहीबार एक सूचना प्रकाशन गर्दै विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख २३ हजार ४५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।

    उक्त सेयर संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएकाले खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    नेपालमा कोमाकी ब्रान्डको इलेक्ट्रिक स्कुटरको मूल्य घट्यो

    काठमाडौं । नेपालमा कोमाकी ब्रान्डको इलेक्ट्रिक स्कुटरको  घटेको छ । नेपालका लागि कोमाकी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले इलेक्ट्रिक स्कुटर र मोटरसाइकलको मूल्य घटाएको हो ।

    कम्पनीले बिहीबार नयाँ मूल्यसूची सार्वजनिक गरेर कोमाकी स्कुटर र मोटरसाइकलमा ३५ हजारसम्म सस्तो बनाइएको जानकारी दियो ।

    अन्तर्राष्ट्रिय बजारमा ब्याट्रीको मूल्य घटेका कारण मूल्य समायोजन गरिएको जनाउँदै  कम्पनीले एसई स्पोर्टको नयाँ मूल्य ३ लाख १९ हजार रुपैयाँ तोकेको छ । यो मोडेलको पुरानो मूल्य ३ लाख ४९ हजार थियो । कम्पनीले यसमा ३० हजार रुपैयाँ घटाएको हो ।

    एकैदिन तोलामा २३ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला प्रतितोला २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी

    काठमाडौँ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ ।

     

    अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “हामी अर्कै फार्मेसीविरुद्धको परेको उजुरी उपर अनुगमनका लागि त्यहाँ गएका थियौँ, टिचिङ हस्पिटलको कम्पाउण्डभित्रै निजी फार्मेसी सञ्चालन भएको र त्यसैमाथि मापदण्डविपरीत भेटिएपछि ताला लगाएका छौँ ।”

    भन्सार कार्यालयमा त्रुटिपूर्ण रूपमा थोरै कर तिरेमा बाँकी तिर्नुपर्ने दायित्व व्यवसायीकै हुने सर्वोच्चको व्याख्या

    काठमाडौं । सर्वोच्च अदालतले भन्सार कार्यालयबाट त्रुटिपूर्ण रूपमा कम राजस्व तिरेर सामान आयात भएको भए बाँकी रहेको कर तिर्नुपर्ने दायित्व सम्बन्धित व्यवसायीकै हुने  व्याख्या गरेको छ ।लेखापरीक्षणबाट बेरुजु देखिएको भन्सार राजस्व तिर्नुपर्ने दायित्व कसको हुने विषयमा भएको  विवादको निरूपण गर्दै सर्वोच्च अदालतले सम्बन्धित कर अधिकृतले उद्योगी/व्यवसायीबाट कर असुल्नुपर्ने भनी व्याख्या गरेको हो ।

    सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कुनै मालवस्तुको पैठारी गर्दा कर तिर्ने दायित्व पैठारीकर्तामा नै रहने भएकाले लेखापरीक्षणमा बेरुजु जनिएपश्चात उक्त बेरुजु तिर्ने बुझाउने दायित्व पैठारीकर्तामा नै रहने देखिन्छ ।’

    आदर्श पोलिप्लास्टिक प्रालिले प्लास्टिकका सामान उत्पादनका लागि आवश्यक पर्ने क्याल्सियम कार्बाेनेट नाममा कच्चापदार्थ ल्याएको थियो । भन्सार कार्यालयले १० प्रतिशत भन्सार महसुल मात्रै लियो ।

    निजी क्षेत्रद्वारा समग्रमा बजेटको प्रशंसा, कार्यान्वयनबाट सफल बनाउन आग्रह

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक  गरेको बजेटलाई  समग्र निजी क्षेत्रबाट प्रशंसा प्राप्त भएको छ । निजी क्षेत्रका उद्योगी व्यवसायीहरूका समग्र प्रतिनिधिमूलक संघसंस्थाका नेताहरूले  बजेट यथार्थपरक र संयमित हिसाबले आएको भनी टिप्पणी गरेका हुन् ।निजी क्षेत्रका तीनवटै प्रमुख संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरूले  बजेट सकारात्मक सोचसहित आएको र त्यसको कार्यान्वयन प्रभावकारी हुनुपर्ने धारणा सार्वजनिक गरे ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो भने ।

     

     

     

     
     

     

     
     
     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस