काठमाडौं । आज मे ३१ तारिख अर्थात् सुर्तीजन्य पदार्थविरुद्ध विश्व दिवस। यो वर्ष विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सुर्तीजन्य वस्तु उत्पादन गर्ने कम्पनीहरूलाई युवालाई लक्ष्यित गर्नबाट रोक्नेमा केन्द्रित छ।धूमपानविरुद्ध आफ्नो अभियानमा डब्ल्यूएचओ निकै प्रभावकारी रहिआएको छ। विश्वका अधिकांश देशले धूमपानविरुद्ध कदमहरू चालेका छन्।
कुनकुन देशले धूमपानविरुद्ध प्रतिबन्ध लगाएका छन् ?
डब्ल्यूएचओका अनुसार हाल विश्वका १५१ देशमा ‘इन्डोर पब्लिक प्लेस’ मा धूमपान निषेध गर्ने कानुन छन्। ती कानुनले प्रत्येक १० जनामध्ये सात जनालाई अरूले गर्ने धूमपानको असरबाट जोगाएको डब्ल्यूएचओको भनाइ छ।सन् २००४ मा कार्यालय, रेस्टुराँ र सार्वजनिक यातायातजस्ता ‘पब्लिक प्लेस’मा धूमपानमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश आयरल्यान्ड बन्यो।
त्यसयता युरोपेली सङ्घ (ईयू) का १३ देशले सोही प्रकृतिका कानुन पारित गरे।यद्यपि ईयूका अनुसार उसका कतिपय सदस्य राष्ट्रले धूमपानिरुद्ध कडाइका साथ कानुनको कार्यान्वयन गराएका छैनन्।
दक्षिण अमेरिकाका सबै देशमा अहिले धूमपानविरुद्धका कानुन छन्।
सन् २००६ मा उरुग्वेले सबै ‘इन्डोर पब्लिक प्लेस’ मा र अस्पताल तथा विद्यालयआसपास धूमपान गर्न प्रतिबन्ध लगायो।धूमपानविरुद्ध राष्ट्रिय कानुन ल्याउने उक्त महादेशको सबैभन्दा अन्तिम देश पारग्वे हो।
सन् २०२० यता त्यहाँका मानिसहरू निश्चित स्थान, भिडभाड नहुने र ‘आउट्डोर स्पेस’ वा खुला ठाउँमा मात्र सुर्तीजन्य उत्पादन सेवन गर्न पाउँछन्।सन् २०२३ मा मेक्सिकोले धूमपानविरुद्ध संसारकै सबैभन्दा कडा कानुन ल्याएको छ।उक्त कानुन अनुसार पार्क, समुद्री तट, होटल, कार्यालय तथा रेस्टुराँलगायतका सार्वजनिक स्थलमा धूमपान गर्न पाइँदैन।यसको अर्थ मेक्सिकोका मानिसहरूले निजी घरबाहेक अन्यत्र धूमपान गर्न सक्दैनन्।
क्यानडामा सन् २०२४ को जुलाईबाट सुर्तीजन्य वस्तु उत्पादकहरूले प्रत्येक चुरोटमा स्वास्थ्यसम्बन्धी चेतावनी राख्नुपर्ने हुन्छ।'प्यान-अमेरिकन हेल्थ अर्गनाइजेशन'का अनुसार अमेरिकी देशहरूमा धूमपान अथवा धूमपान गर्नेहरूको वरिपरि सास फेरेकै कारणबाट बर्सेनि करिब दश लामख जनाको मृत्यु हुने गरेको छ।
यूकेको प्रतिबन्ध के हो?
यसै वर्षको सुरुतिर यूके सरकारले 'टब्याको एन्ड भेप्स बिल’ नामक एउटा कडा विधेयक ल्यायो।त्यसले सन् २००९ को ज्यानुअरीपछि जन्मेका मानिसहरूलाई इङ्ग्ल्यान्ड र वेल्समा सुर्तीजन्य वस्तु बिक्रीलाई अवैध घोषित गर्न सक्थ्यो।
स्कटल्यान्ड र नोर्दर्न आयरल्यान्डले त्यस्तै कानुन ल्याउने अपेक्षा गरिएको थियो।हाल यूकेमा चुरोटसहितका सुर्तीजन्य उत्पादन खरिद गर्न पाउने न्यूनतम उमेर १८ वर्ष रहेको छ।
प्रस्तावित कानुनले त्यसलाई प्रत्येक वर्ष एकएक वर्षले बढाउन सक्थ्यो, जसको अर्थ केही समयपछि कोही पनि त्यो किन्न पाउँदैनथे।यद्यपि जुलाई ४ मा हुने आमनिर्वाचनका लागि मेमा यूकेको संसद् भङ्ग भयो। त्यसकार यो विधेयक कानुन बन्न नपाई प्रस्तावित विधेयक औचित्यहीन बन्यो।
यूकेले अघि सारेको त्यो विधेयक सन् २०२३ मा न्यूजील्यान्डेल ल्याएको एउटा कानुनबाट प्रभावित थियो त्यसमा पनि त्यस्तै प्रतिबन्ध थियो। सन् २०२४ को जुलाईदेखि न्यूजील्यान्डमा उक्त कानुन कार्यान्वयनमा आउनेवाला थियो। तर सरकार परिवर्तनसँग त्यो खारेज भयो।
प्रतिबन्धले काम गर्छ ?
यूकेको न्याश्नल इन्स्टिट्यूट फर हेल्थ एन्ड केअर रिसर्चले धूमपानमा लगाइएको प्रतिबन्धको असरबारे २१ देशमा अध्ययन गरेको छ।
उसका अनुसार हृदयाघात र स्ट्रोकका साथै ब्रोङ्काइटिस र दमको दरमा कमी आएको कुरा प्रमाण देखिएको छ।यूकेले ‘इन्डोर पब्लिक प्लेस’ मा धूमपानमाथि लगाएको प्रतिबन्ध सन् २००७ मा लम्ब्यायो।
ब्रिटिश मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित एउटा प्रतिवेदनअनुसार त्यो वर्षयता अघिल्ला वर्षहरूको तुलनामा प्रतिवर्ष हृदयाघातका १,२०० कम बिरामी अस्पताल भर्ना हुने गरेका तथ्याङ्क छ।स्कटल्यान्डमा सार्वजनिक स्थलहरूमा धूमपान गर्न प्रतिबन्ध लगाइएपछि अस्पताल जाने दमका बिरामी बच्चाको सङ्ख्या पाँच भागको एक भागले तीन वर्षसम्म घटेको ग्लास्गो विश्वविद्यालयको अध्ययनले देखाएको छ।
प्रतिबन्ध लगाइनुअघि दमका समस्या भएर अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा बर्सेनि ५ प्रतिशतले वृद्धि भइरहेको पाइएको थियो।अनि प्रतिबन्धले धेरै मानिसलाई धूमपानको कुलत त्याग्न सघाएको छ।यूक सरकारको तथ्याङ्कअनुसार सन् २००६ मा २२ प्रतिशत वयस्कले धूमपान गर्थे। तर सन् २०२३ मा आएर त्यो सङ्ख्या १४ प्रतिशतमा झरेको पाइएको छ।
डब्ल्यूएचओका अनुसार विश्वभरि चालिएका धूमपानविरोधी कदमहरूका कारण सम्भावित अम्मलीको सङ्ख्याभन्दा ३० करोडले कम हुन गएको छ।
डब्ल्यूएचओले किन युवाहरूलाई लक्ष्यित गरिरहेको छ?
डब्ल्यूएचओका अनुसार सन् २०२२ को तथ्याङ्कले देखाएबमोजिम विश्वभरि १३ देखि १५ वर्ष उमेरका कम्तीमा तीन करोड ७० लाख युवा कुनै न कुनै सुर्तीजन्य उत्पादनका अम्मली छन्।
युरोपमा १३ देखि १५ वर्ष उमेरका ११.५ प्रतिशत किशोर र १०.१ प्रतिशत किशोरी सुर्तीजन्य उत्पादन सेवन गर्ने डब्ल्यूएचओले जनाएको छ।विद्युतीय चुरोट र निकोटीन पाउचहरू खास गरी युवामाझ लोकप्रिय रहेको पाइएको डब्ल्यूएचओले जनाएको छ।उसको अनुमान अनुसार सन् २०२२ मा युरोपमा १२.५ प्रतिशत युवाले र २ प्रतिशत वयस्कले ई-चुरोट वा भेप सेवन गर्छन्।बीबीसी न्यूज नेपालीबाट