Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्राप्त जिम्मेवारी उत्कृष्ट रुपमा पूरा गर्न प्रहरी महानिरीक्षकद्वारा निर्देशन


नया सडक

२०८१, जेठ १८ शुक्रबार

  • 516
    Shares

  • प्राप्त जिम्मेवारी उत्कृष्ट रुपमा पूरा गर्न प्रहरी महानिरीक्षकद्वारा निर्देशन

     

    काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिनुभएको छ ।

     

    सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई आज जान लागेका प्रहरी नायव महानिरीक्षकहरु र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उहाँले उक्त निर्देशन दिनुभएको हो । 

     

    महानिरीक्षक कुँवरले सङ्गठनको कार्ययोजना एवं लक्ष्यलाई प्राथमिकतामा राखेर सङ्गठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै साङ्गठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरु सक्रिय भई खरो रुपमा उत्रन निर्देशन  दिनुभयो । उहाँले भन्नुभयो, “सबै प्रहरी कर्मचारीहरुले सङ्गठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै सङ्गठन बलियो भए हामी बलियो हुन्छौँ ।”

     

    यसैगरी उहाँले सङ्गठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रित हुनु आवश्यक रहेको बताउनुभयो । विगतमा भएका कमी कमजोरीलाई विश्लेषण गरी आवश्यक योजना, नीति बनाई आ–आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम एवं अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

     

    महानिरीक्षक कुँवरले सङ्गठनको नीति र आवश्यकता अनुरुप नै सरुवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नवीन ढङ्गले सम्पादन गरी आफूलाई रोल मोडलको रुपमा प्रस्तुत हुन उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । आफू मातहतका प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई निष्ठावान, इमानदार एवं थप सक्रिय भई जनपक्षीय काम गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

     

    यसअघि प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले समेत सरुवा भई जान लागेका वरिष्ठ प्रहरी अधिकृतहरुलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवं निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस