Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् जेठ १८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, जेठ १८ शुक्रबार

  • 624
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् जेठ १८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १८ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    नयाँ चरणको आर्थिक सुधार थाल्ने योजना बजेटमा पर्नु सकारात्मक : महासङ्घ

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्पmत सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने योजना अघि सारेकोप्रति निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले सकारात्मक रुपमा लिएको छ । आगामी आर्थिक वर्षको बजेटबारे प्रतिक्रिया दिँदै महासङ्घले निजी क्षेत्रको सुझावका आधारमै सरकारले यो विषय बजेटमा राखेको र निजी क्षेत्रको सहकार्यमा कार्यान्वयन हुने जनाएको छ ।

     

    “महासङ्घले विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन विकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागू गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भई नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासङ्घले लिएको छ”, आज जारी विज्ञप्तिमा भनिएको छ ।

    नेपाल हाइड्रो डेभलोपरेको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रवार नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको २ लाख ३५ हजार १४८ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीले गत पुस १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

    काठमाडौं ।  प्रहरीले कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर लामा (सीबी लामा) लाई पक्राउ गरेको छ । कान्तिपुर र पशुपति सहकारीबाट बचतकर्ताको बचत अपचलन गरेको अभियोगमा प्रहरीले लामालाई पक्राउ गरेको हो । लामालाई कान्तिपुर सहकारीको ६ अर्ब रुपैयाँ र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप छ ।

    हिमालयन सेक्यूरिटिजको साधारण सभा असार ७ गते

    काठमाडौं । हिमालयन सेक्युरिटिजले असार ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    नेपाल क्लियरिङ हाउस र ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्ले एकिकृत कारोबार शुरू गर्ने

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडले प्राप्ती प्रक्रिया पुरा गरी जेठ २१ गतेदेखि एकिकृत कारोबार शुरू गर्ने भएको छन् ।
    यी दुई कम्पनीबीच गत वैशाख २२ गते प्राप्तिका लागि अन्तिम सम्झौता भएको थियो । दुबै कम्पनीहरूले वैशाख १३ गते विशेष साधारण सभा आव्हान गरेर प्राप्ती प्रस्ताव पारित गरेका थिए । उक्त प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकबाट जेठ २ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ १३ गते स्वीकृति प्राप्त भएसँगै दुई कम्पनी एक हुन लागेका हुन ।

    आज कुमारी बैंकको ३ लाख १४ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं ।  कुमारी बैंकको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    छिपछिपे उपभोक्ता सहकारी रकम हिनामिनाको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

    मध्यविन्दु । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

    नवलपरासी९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रु १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१  हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाबिरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

    पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त

    दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । 

    उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले राससलाई बताउनुभयो । 

    कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उहाँले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो

    दाल,गेडागुडी आयातमा अग्रिम आयकर लाग्ने ,उद्योग सङ्घको विरोध

    काठमाडौँ । दाल, गेडागुडी आयातमा अग्रिम आयकर लाग्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१ /८२को बजेट मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो । नेपाल चामल, तेल र दाल उद्योग सङ्घले नेपालीको भान्सामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी बिक्रीवितरण गर्ने दाल उद्योगको कच्चापदार्थ (दाल, गेडागुडी) आयातमा अग्रिम आयकर लगाउनु दुःखद् भएको बताएको छ ।

          

    सङ्घका अध्यक्ष कुमुद दुगडले आज विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कच्चापदार्थ आयतमा १० प्रतिशत अग्रिम आयकर थपिँदा दाल र गेडागुडी महँगो हुने र उपभोक्ता मारमा पर्ने बताउनुभएको छ ।

    चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौँ । नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम  मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    पयर्टन विकास आयोजनाका कर्मचारी पक्राउ

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सव–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ ।

     

    निर्माण सम्पन्न पश्चात् अन्तिम बील भुक्तानी गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई कार्यकक्षबाटै आज पक्राउ गरेको हो ।

     

    आयोगको टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ अन्तर्गत विकास आयोजनाबाट रु १७ हजार घुससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

    हतियार घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य, तोकिएका क्षेत्रमा लैजान नपाइने

    काठमाडौँ । सरकारले हातहतियार राख्न इजाजत प्राप्त व्यक्तिले हतियार बोकेर हिँड्न यात्रा अनुमति लिनुपर्ने निर्णय गरेको छ । त्यसरी यात्रा अनुमति लिए पनि सरकारले तोकेको स्थानमा भने हतियार लिएर जान नपाइने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को यही जेठ १७ गतेको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयले आज जानकारी दिएको छ ।

     

    मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, “प्रचलित कानुनबमोजिम इजाजतपत्र प्राप्त गरेका, यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत वाहकले घरबाहिर लैजान नपाउने तर यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने ।”सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै उक्त निर्णय गरेको हो ।

    त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन

    काठमाडौँ । सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा डा प्रेमसागर चापागाईंलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

     

    समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवलाई तोकिएको छ । समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गामध्ये प्रारम्भिक चरणमा उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य चलअचल सम्पत्तिको खोज तथा लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्नेछ ।

    यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भिन्न निर्णयगरेको छ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ ।

    समितिलाई लगत संकलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको छ ।बैठकले विश्वविद्यालय अनुदान आयोगको सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

     नेपाल विशेष सेवा बिसौँ संशोधन नियमावली २०८१ मा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिने निर्णय गरेको छ । तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।जर्मनीमा सञ्चालन हुने यूएन क्लाइमेट कन्फ्रेन्सअन्तर्गत एक्सपर्ट डाइलग अन माउन्टेन एण्ड क्लाइमेट चेन्ज कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिको पाँडेलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरिएको छ ।

    आर्थिक सुधारका लागि आयोग गठन गर्ने प्रतिबद्धता सकारात्मक भएको एफएनसीसीआईको भनाइ

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थमन्त्री वर्षमान पुनद्वारा जेठ १५ संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने प्रतिबद्धतालाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको छ।

     उद्योगी, व्यवसायीहरुको छाता संगठन महासंघले आज बजेट प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएको हो । बजेटको उद्देश्य एवं प्राथमिकतामा उल्लिखित निजी क्षेत्र प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुने विश्वास  व्यक्त गर्दै  एफएनसीसीआईले  आर्थिक सुधार कार्यक्रम लागू गर्न आयोग गठन माग प्रस्तुत गर्दै व्यक्त गर्दै आएको जनाएको छ ।

    सत्ता समीकरणमा  फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ :  प्रधानमन्त्री दाहाल

    काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा ९माओवादी केन्द्र०को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो ।
     
            वर्तमान सत्ता समीकरणमा रहेको नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राख्नुभएको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।”

    आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन आर्थिक ऐनले दिएका सात ‘स्कीम’

    काठमाडौँ । सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर ९प्यान० मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ । यस्तै मूल्य अभिवृद्धि कर ९भ्याट० मा पनि विभिन्न छुट तथा सहुलियतका कार्यक्रम ल्याइएको छ ।

         

    करको दायरामा आउनेहरुका लागि छुटको व्यवस्था ल्याइएको छ । “कुनै व्यक्तिले विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर संवत् २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ”, आन्तरिक राजस्व विभागले भनेको छ, “यसरी आय विवरण र सोबमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिल्ला आय वर्षको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउनुपर्ने छैन ।”

    मुगुको सोरु गाउँपालिकामा उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै  ८ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोरु गाउँपालिकामा उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै  ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा  अख्तियारले मुद्दा दायर गरेको हो ।

    अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।अख्तियारले  सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि  प्रतिवादी बनाएको छ ।

     


     

     
     
     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस