काठमाडौँ । प्रहरीले स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।आइतबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१ प्रहरी चौकी टोलस्थित चेकपोइन्ट अगाडि हेटौंडा–भैसे सडक खण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक माइक्रोबसमा सवार ३ जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा विदेशी मुद्रा भेटिएको प्रहर हो । प्रहरीले भारतको उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय विजय सिंग कुशवाह, उत्तर प्रदेशकै गोरखपुर बस्ने प्रशान्त पाठक र राजस्थानको चितोरगढ बस्ने ३२ वर्षीय राहुलकुमार माण्डावतलाई नियन्त्रणमा लिएको हो। कुशवाहाको साथबाट १२ हजार अमेरिकी डलर, पाठकको साथबाट १४ हजार युरो र माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।