Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, जेठ २० आइतबार

  • 672
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ २० आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    शेयर बजार : नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा ,४ अर्ब ३१ करोडको कारोबार

    काठमाडौं ।  आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा आएको छ । आज ४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० समूहका सूचक बढेका छन् ।

    यस दिन ३२५ कम्पनीको ९६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र फस्ट माइक्रोफाइनान्स परेका छन् ।

    स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री पुन

    काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताउनुभएको छ ।

     

    प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुँदै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गर्नुभयो ।

     

    “बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ । बजेटमा निकै धेरै अपेक्षा थिए । युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो”, अर्थमन्त्री पुनले भन्नुभयो, “स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन् । निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन् ।”

    सन्तुलित बजेट आएको सबैले टिप्पणी गरेका छन् : अर्थमन्त्री पुन

    काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको छ । प्रस्ताव पेस गर्दै निकै अन्योलताका बीचमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको जानकारी दिनुभयो । 

    अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको पहलका कारण सहज रुपमा प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले सांसदहरुको सल्लाह र पृष्ठपोषणका आधारमा बजेट ल्याइएको उल्लेख गर्दै सरोकार भएका सबै निकाय र क्षेत्रको समेत सुझाव लिइएको जानकारी दिनुभयो ।

    सागर डिष्टिलरीको १३ लाख ८८ हजार कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्य समेत जोडर १३ लाख ८८ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीको विशेष साधारण सभाले गरेको निर्णय बमोजिम जारी पूँजी मध्येको उक्त कित्ता शेयर प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०० रूपैयाँ थप गरी प्रतिकित्ता २०० रूफैयाँमा विक्रीमा ल्याएको हो ।

    नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञचालक समिति बैठकले करसहित २१.०५5 लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

    पर्वत पैयु खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने

    काठमाडौं । पर्वत पैयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित असार ३ गते विशेष साधारण सभा बोलाएको छ ।सभा टोखा(५, काठमाडौं, यस कम्पनीको कर्यालयमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ३.५२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २०७३.०६ अंकमा आएको छ । ३४ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ५ हजार ९ सय ७७ कित्ता सेयर कारोबार भएको छ ।

    मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिए

    काठमाडौँ। सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

    सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार सात सय तीनजना विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ महामारीपूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

    लोकसभा निर्वाचनका कारण भारतमा नेपालीलाई क्यूआर कोड भुक्तानी सुविधामा ढिलाइ

    काठमाडौं । भारतले  नेपालीहरूलाई डिजिटल भुक्तानी गर्न पाउने सुविधा उपलब्ध गराउन ढिलाई गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गएका बेला डिजिटल भुक्तानी सम्बन्धी विषयमा छलफल पछि बनेको सहमति अनुसार क्यूआर कोड मार्फत् भुक्तानीमा ढिलाइ भएको हो ।

    नेपाल राष्ट्र बैंकका पदाधिकारीहरूका अनुसार यसबारे भारतीय पक्षसँग ढिलाई बारे छलफल भइरहेको छ । ती अधिकारीहरूका अनुसार भारतीयहरूलाई नेपालमा क्यूआर कोड मार्फत् भुक्तानी सुविधा दिइँदै छ ।भारतीयहरूलाई गएको मार्च महिनाबाटै नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था सुरु भएको थियो।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
    आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १८ सय ५० रुपैयाँ कायम भएको छ ।

    प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ । 

     

    मन्त्री यादवले आज स्वास्थ्य मन्त्रालयका पदाधिकारीको टोलीसहित प्रसूति गृहको अनुगमन गर्दै नयाँ भवन पूर्णरुपमा सञ्चालन गर्न, शौचालयको राम्रो व्यवस्थापन गर्न, आउटरिच क्लिनिकको सेवा बढाउने लगायत निर्देशन दिँदै मन्त्रालयको तर्फबाट सहयोगको प्रतिबद्धता गर्नुभयो । उहाँले बच्चाहरुको शल्यक्रियाका लागि कान्ति बाल अस्पतालसँग शय्याका लागि समन्वय गर्न पहल गर्ने समेत उल्लेख गर्नुभयो । 

     

    प्रसूतिगृहको सो भवन गत फागुन २ गते उद्घाटन भइसकेको छ । पाँच तल्ले भवनमा ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाव चुहिने समस्या, टेष्टट्युव बेबीलगायतका सेवा प्रवाह हुनेछ ।

    लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

    नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नुहुनेछ ।

    स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

    शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली योजना र ठेकेदार खडा गरी सरकारी रकमको हानिनोक्सानी गरेको अभियोगमा  धनुषा जिल्लाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले  विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर र नक्कली ठेकेदार कम्पनी खडा गरी २ लाख ७५ हजार रुपैयाँ राज्यकोशको दुरुपयोग गरेको आरोपमा सावनकुमारसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    ट्राफिक नियम उल्लंघन गर्नेलाई  ट्राफिक स्वयंसेवकमा नखटाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउन गरिएको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवी बनाउने मन्त्रीस्तरिय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी सार्वजनिक गरेका हुन् ।

    बझाङका २२ वर्षीय कृष्ण विक, स्याङ्जा हरिनासका २२ वर्षीय आकाश भट्ट, ललितपुर गोदावरीका २२ वर्षीय उज्जव माली, पर्साका २१ वर्षीय इमामुल हकलगायत ७ जनाले प्रहरीको उक्त कार्यले नागरिकहरूको सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।उनीहरूको सो रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।

    गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गर्दै दायर मुद्दामा कारण देखाउ आदेश

    काठमाडौं । सर्वोच्च अदालतले  सहकारी ठगी प्रकरणमा जोडिएका  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र  उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो ।

    देशभरका स्थानीय निकायका प्रतिनिधिहरू सरकार विरुद्ध आन्दोलन गर्न काठमाडौमा

    काठमाडौं । देशभरका स्थानीय निकायहरू सरकार विरुद्ध आन्दोलनमा उत्रेका छन् ।सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै गाउँपालिका र नगरपालिका प्रमुखहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराउनी काठमाडौँमा भेला भएका हुन् । 

    नगरपालिका महासंघका अध्यक्ष भिमप्रसाद ढुङ्गानाले आफूहरूलाई सरकारले हेपेको अनुभव गरी काठमाडौँ आएको र सरकारसँग ठोस कुराकानी गरेर मात्र फर्कने दृढता सार्वजनिक गरेका छन् ।देशभरका स्थानीय निकायका प्रतिनिधिहरूले सरकारले बजेटमार्फत २५ प्रतिशत अनुदान कटौती गरेको  निर्णय फिर्ता लिनुपर्ने माग पूरा गराउन संघीय राजधानी आइपुगेको बताए ।केन्द्रले स्थानीय तहहरूलाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान पठाउने गरेको छ। अधिकांश गाउँपालिकाहरू यही अनुदानकै भरमा चलेको र पछिल्लो समय बजेट मार्फत नै कटौतीको प्रस्ताव ल्याएकाले आफूहरू काठमाडौँ आएको उनीहरूको भनाइ छ ।

    सत्तापक्षका दलसँग छलफल गरेर बजेट ल्याएको भए राम्रो हुन्थ्यो : पूर्वअर्थमन्त्री पौडेल

    काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको अनुमान माथि आफ्नो धारणा राख्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।

    नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

    अत्तरिया । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो ।

     

    चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई करोड ४९ लाख पाँच हजार चार सय एक, घरायसीको रु दुई करोड २४ लाख ५२ हजार एक सय ६०, अन्यको रु दुई करोड ५३ लाख ५३ हजार ८७ र सडकबत्तीको रु १० करोड ९७ लाख ५२ हजार २५ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिनुभयो ।

    सुन आयातमा भन्सार वृद्धि भएकोमा सुनचाँदी व्यवसायीहरूको विरोध प्रदर्शन

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२को बजेट मार्फत् सुनमा भन्सार वृद्धि गरिएको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सुन आयात गर्दा १५ प्रतिशत भन्सार तथा अन्य शुल्क लाग्दै आएकोमा त्यसमा ५ प्रतिशत वृद्धि गरी २० पुर्याइएको छ ।    
    ऋद्धिसिद्धी ज्वेलर्सका सञ्चालक नरेन्द्र गुप्ताले सुनमा भन्सार वृद्धि गरेको र सुनमा लगाउँदै आएको कोटा पूर्णरूपमा खारेजीको माग गर्दै आन्दोलन गरिएको नयाँ सडकसँग बताए । अर्का व्यवसायी अर्जुन विश्वकर्माले सुनचाँदी व्यवसायीहरूले ५ प्रतिशत भन्सार वृद्धि गरी २० प्रतिशत पुर्याएको विरोधमा उत्रिएको बताए ।

    ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

    काठमाडौँ ।काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।
      
    “धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि  पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भन्नुभयो, “नेल पलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।” यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको  ८ः२५ बजेको उडान तालिका थियो ।

     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस