Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २४ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 669
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २४ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २४ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४३ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले २०८१ आसार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

    मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले जेठ २७ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २१ करोड ४५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड १५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

    बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको होः अर्थमन्त्री पुन

    काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउनको लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् । बिहीवार प्रतिनिधि सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा यस्तो बताएका हुन ।

    उनले स्वार्थ बाझिने गरी बैंकर्स र व्यवसायी एकै खालको हुन नहुने विषय उठान भएकाले बैंकर्स र व्यवसायी छुट्याएर बैंकलाई थप व्यवस्थित गर्न खोजिएको बताए । अर्थमन्त्री पुनले यसको लागि अर्थमन्त्रालय,राष्ट्र बैंकको समन्वय र सरोकारवालाहरुको राय परामर्शमा विधेयकमा नयाँ व्यवस्था गरिएको बताए । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली,औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्था तथा नियमन गर्नको लागि ल्याएको बताए ।

    शेयर बजार : नेप्से परिसूचक १.९३ अंकले घटेर  २०७७.७८ विन्दुमा ,४ अर्ब ३८ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १.९३ अंकले घटेर  २०७७.७८ विन्दुमा आएको छ । आज ४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । १३ मध्ये ५ वटा समूह सकारात्मक रहेका छन् । 

    यस दिन ३ सय २२ कम्पनीको ८८ लाख १३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा आएको छ । आज दोस्रो र  तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पोखरा फाइनान्स परेका छन् ।

    अन्तर्राष्ट्रिय मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने

    काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा। टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो ।
    भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको थियो । आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेश्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ ।

    अग्राधिकार शेयर (Preference Share) भनेको के हो ?

    कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो । यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ । यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् । अग्राधिकार शेयरलाई मिश्रित प्रकृतिको धितोपत्र (Hybrid Security) को रुपमा लिइन्छ किनभने यसमा साधारण शेयर तथा डिवेञ्चर दुवैको विशेषता पाइन्छ ।

    ग्लोबल इक्विटी फण्डको विशेष साधारण सभा  असार ७ गते , हकप्रद निष्कासन गर्ने

    काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले असार ७ गते विशेष साधारण सभा बोलाएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सानेपा, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय टुङ्ग्याउनेछ । साथै सञ्चालकहरूको नियुक्ती अनुमोदनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते एक दिन बुक केज गर्ने भएको छ ।

    सिटिजन्स बैंक इन्टरनेशनलको ४ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४० दशमल ८७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ ।

    यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ ।  प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजबाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बिहीबार जेठ १४ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज  दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

    युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा जेठ २७ गते , हकप्रद सेयर प्रस्ताव गर्ने

    काठमाडौं ।  युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको  साधारण सभा  जेठ २७ गते हुने भएको छ ।
    यस कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवध्रित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव रहेको छ । 

    हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

    सरकारले खाद्यवस्तुमा १०प्रतिशतसम्म अग्रिम आयकर वृद्धि गरेपछि बजारमा मूल्य वृद्धि

    काठमाडौं । सरकारले चामल दाल गहुँ मैदा जस्ता खाद्यवस्तुमा अग्रिम आयकर वृद्धि गरेपछि बजारमा खाद्यवस्तुको मूल्य वृद्धि भएको छ ।सरकारले बजेट मार्फत यी खाद्यवस्तुहरूमा १०प्रतिशतसम्मको अग्रिम आयकर वृद्धि गरेको घोषणा गरेयता व्यवसायीहरूले मूल्य वृद्धि गरेका हुन् ।

    विदेशबाट चालु आर्थिक वर्ष २०८०/८१को १० महिनामा सबै खाले चामलको आयात साढे ७ करोड किलो बढी आयात गरिएको छ ।भन्सार विभाग सार्वजनिक गरेको प्रतिवेदन अनुसार बासमतीलगायत सबै किसिमका चामलको आयात साउनदेखि बैशाख  महिनासम्म ७ करोड ६३ लाख २७ हजार ९६७ किलो आयात भएको छ ।

    सुनको भाउ बिहीबार फेरि नयाँ रेकर्ड कायम, १ लाख ४४ हजार रुपैयाँमा कारोबार

    काठमाडौं । सुनको भाउ बिहीबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ प्रतितोला १ लाख ४४ हजार पुगरे नयाँ रेकर्ड कायम भएको हो ।  गत जेठ २२ गते १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ बिहीबार अर्को रेकर्ड  बिन्दु पुग्यो ।

    बिहीबार छापावाला सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन १ हजार ८०० रुपैयाँ नयाँ रेकर्ड कायम गरेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।यी देशमा कांग्रेस(माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए । भारतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको भारत भ्रमण स्वीकृत गरेको छ ।

    राजस्व चुहावट नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायत सरकारी निकाय आक्रामक बन्दै

    काठमाडौं । राजस्व चुहावट नियन्त्रण गर्नका लागि राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका सरकारी निकाय सक्रिय हुने भएका छन् ।राजस्व अनुसन्धान विभागका महानिर्देशक  चक्रबहादुर बुढाको संयोजकत्वमा  राजस्व चुहावट नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागमा बसेको बैठकले राजस्व चुहावट नियन्त्रण गर्न सरकारका सबै निकाय एक आपसमा समन्वय गरी आक्रामक हुने निर्णय गरेको हो ।

    गत बुधबार २३ गते विभागमा बसेको बैठकमा भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौला, आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, सम्पत्ति शुद्धीकरणका महानिर्देशक कमलप्रसाद भट्टराई , नेपाल प्रहरी राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसमेतको सहभागिता थियो । बैठकमा राजस्व चुहावट नियन्त्रण गर्नका लागि विभिन्न १०वटा निर्णय गर्दै हरेक महिना यस्तै उच्चस्तरीय  समीक्षा बैठक बस्ने निर्णय समेत गरिएको छ ।

    १४ किलो सुन तस्करी प्रकरणका सबै प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

    काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणका सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश दिइएको छ । 

    उच्च अदालत पाटनले  १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    विहिबार उच्च अदालतका न्यायाधीशद्धय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको छ।

    आइएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध गराउने

    काठमाडौ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रतिनिधि मण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा टिडियान किन्डा नेतृत्वको टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेको हो ।

    भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– इसिएफ) अन्तरगतको चौँथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौँथो किस्ताबापत ४२ मिलियन अमेरिकी डलर ( पाँच अर्ब ५९ करोड ) उपलब्ध गराउन बाँकी छ ।

    ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

    काठमाडौँ।  प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल, सोविता गौतम, निशा डाँगी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी र नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैँक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न उक्त विधेयक ल्याउनुपरेको बताउनुभयो ।

    विद्यार्थी सङ्ख्या नियन्त्रण अर्थतन्त्रको लागि हानिकारक हुने : अष्ट्रेलिया

    क्यानबेरा ।अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ ।

    बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताउनुभयो  ।

    उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा कटौती अदूरदर्शी कार्यक्रम भएकाले अष्ट्रेलियाको अर्थतन्त्रमा प्रतिकूल असर पार्ने बताउनुभएको छ ।

    “अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले राष्ट्रिय स्तरमा दुई लाख ५० हजार रोजगारीलाई समर्थन गर्दछ । शिक्षामा मात्र नभई खुद्रा, पर्यटन र आवासजस्ता क्षेत्रहरूमा पनि रोजगारीका अवसरहरू रहेको उहाँले बताउनुभयो ।  

     

     
     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस