Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 540
    Shares

  • प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै
    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानुहुने भएको छ ।
     
    प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।
     
    भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।  प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो । 
     
    मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।
     
    सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो । श्री मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गर्नुभएको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गर्नुभएको थियो ।रासस

    प्रतिक्रिया दिनुहोस