Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २७ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 537
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २७ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २७ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ (२०८९०३) र १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा सूचीकृत भएका छ।

    शेयर बजार : नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा , ५ अर्ब १८ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा आएको छ । यस दिन ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज १३ मध्ये ५ समूहका सूचक सकारात्मक बनेका छन् । होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि भएको छ ।

    यस दिन ३१३ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र सिटी होटल परेका छन् ।

    साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १५ प्रतिशत बोनस शेयर वितरण गर्‍यो

    काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर एक महिनाभित्र वितरण गरेको हो ।

    धितोपत्र दोस्रो बजारमा जेठ २१ गते बोनस शेयरवापत्को शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । चैत ८ गतेसम्म कायम शेयरधनीरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

    श्री डिष्टिलरी लिमिटेडले आइपीओ जारी गर्ने , विशेष साधारण सभा असार ११ गते

    काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आइपीओ प्रस्ताव सहित असार ११ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक १५.९२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १५.९२ विन्दुले बढेको छ । यससँगै सूचक २०९३.७१ अंकमा आएको छ । ३० लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको ४ हजार ५ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।

    प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ ।बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ ।
    यो सेयरका खरिदका लागि जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।

    सुनको मूल्य तोलामा चार हजारले घट्यो , प्रतितोला रु एक लाख ४१ हजार

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।

     

    यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ ।

    पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई पक्राउ

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

     

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    पोखरामा सहकारी गठीमा संलग्न दुई जना पक्राउ

    काठमाडौं । पोखरामा सञ्चालित सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ परेका छन् । मित्र मिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा सो सहकारीका  पूर्वअध्यक्ष  पोखरा महानगरपालिका–२१ कृस्तीका ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी छन् ।

    शुक्रबार  पक्राउ परेका उनीहरूलाई वडा प्रहरी कार्यालय गगनगौडले  दुवै जनालाई आइतबार अदालत पेश गरेको छ ।

    त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन् ।

    स्क्वायर बचत तथा ऋण सहकारीका रकम हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

    काठमाडौं । प्रहरीले  काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालयमा संचालकहरूले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी सार्वजनिक गरेका हुन् ।

    पक्राउ पर्नेमा सहकारीका अध्यक्ष कुलेश्वर बस्ने ६६ वर्षीय बासुदेव मान जोशी, सचिव ६७ वर्षीया सुवर्ण सेलालिक र सदस्य ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन्।उनीहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाएर निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए।

    राजस्व चुहावट तथा अवैध ओसारपोसार नियन्त्रण गर्न गृह मन्त्रीको निर्देशन

    काठमाडौं । राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकाहरुलाई निर्देशन दिइएको छ ।

    बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

    लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुमा संलग्न निकायबीच समन्वयको अभाव हुने गरेको विषय सार्वजनिक हुँदै आएका छन् ।

    काठमाडौं महानगरपालिकाले हचुवाको भरमा  सरकारी स्कूलका सटर खाली गराउँदै , विद्यालयसँग सम्झौता गरी बसेका साना व्यवसायीको बिचल्ली

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र रहेका सरकारी विद्यालयको हातामा रहेका कोठा र सटरहरू हचुवाको भरमा खाली गराउन सुरु गरेको छ ।काठमाडौं महानगरपालिका भित्रका सरकारी विद्यालयमा बनेका कोठा र सटरहरू खाली गराउने निर्णय महानगरपालिकाको पूर्ण बैठकबाट नलिई हचुवाको भरमा खाली गराउन लागिएको हो ।

    महानगरपालिकाका शिक्षा अधिकारी इन्द्रप्रसाद दाहालले काठमाडौं महानगरपालिका भित्र रहेको सरकारी स्कूलका सटरहरू खाली गराउन सुरु गरिसकिएको बताए ।आइतबार डिल्लीबजारस्थित विजयस्मारक स्कूल र पद्मकन्या स्कूल, बागबजारस्थित पद्मोदय स्कूल र शहिद शुक्र स्कूल हटाउन लागेको शिक्षा अधिकारी दाहालले नयाँ सडकसँग बताए ।उनका अनुसार यसरी ३७ वटा स्कूलका सटरहरू खाली गराउन लागिएको छ ।

    राष्ट्रिय अनुसन्धान विभागमै नकली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने विरुद्ध मुद्दा दायर

    काठमाडौं ।राष्ट्रिय अनुसन्धान विभागमै नकली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नकली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको जनाएको छ ।

    राजस्व अनुसन्धान विभागद्वारा ९२ मुद्दा दायर, साढे १३ अर्ब बढी बिगो र सजाय माग

    काठमाडौं । राजस्व अनुसन्धान विभागले चालु आवको १० महिनामा  राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ  कुल साढे १३ अर्ब बढी बिगो सजाय मागदाबीसहित  ९२ मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले १० महिनामा विभिन्न प्रकृतिका राजस्व चुहावटसँग सम्बन्धित २०२ जना प्रतिवादी बनाइ मुद्दा दायर गरेको हो ।

    विभागले विभिन्न मितिमा दायर गरेको मुद्दामा साढे १३ अर्ब बढीको बिगो सजाय मागदाबी गरेको छ ।राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ दायर गरिएको मुद्दामा बिगो ६ अर्ब ४५ अर्ब ८१लाख रुपैया कायम गरिएको छ भने सजाय मागदाबी  रकम  ७ अर्ब ३० करोड ३३ लाख कायम गरिएको विभागले जनाएको छ ।

    म्युचुअल फण्ड के हो  ?

    साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई  ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानीगर्ने कम्पनी भनेको म्युचुअल फन्ड हो। म्युचुअल फन्ड एक सामूहिक लगानी कोष हो। यँहा लगानी गर्ने हरेक लगानीकर्ता कम्पनीको समूहको सदस्य बन्दछन। म्युचुअल फन्ड कम्पनीमा विवेकशील र सम्बन्धति क्षेत्रमा ज्ञान र अनुभवभएका व्यक्तिहरूले कम्पनी सञ्चालन गरेका हुन्छन।धितोपत्र बजार सम्बन्धी पर्याप्त जानकारी नभएका र बढी जोखिम लिन नचाहने लगानीकर्ताहरुले सामूहिक लगानी कोषहरु ९म्युचुअल फन्ड० मा लगानी गर्न सक्दछन् । यस्ता कोषहरुले लगानीकर्ताहरुलाई एकांक निष्कासन गर्दछन् र संकलित रकम विभिन्न किसिमका धितोपत्रहरुमा दक्ष तथा ब्यावसायिक रुपमा लगानी गर्ने कोषहरुको उद्देश्य रहेको हुन्छ ।यसरी गरिएको लगानीबाट प्राप्त प्रतिफलमा कोषले व्यवस्थापन शुल्क तथा अन्य खर्चहरु कटाई बाँकी रकम सम्बन्धित लगानीकर्ताहरुलाई नै वितरण गर्दछ ।

    लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी

    काठमाडौँ ।  हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको बताएको छ ।

    विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती  र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा ती प्रदेशका बाँकी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

     

     
     
     
     
     
     
     
     

     

     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस