Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २९ मंगलबार का मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, जेठ २९ मंगलबार

  • 564
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २९ मंगलबार का मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २९ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माण र नीतिगत सहजता सरकारको प्राथमिकतामा

    काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले सरकारले सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माण र नीतिगत सहजता प्रदान गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ ।

     

         नेपाल आर्थिक पत्रकार समाज (सेजनले) आज यहाँ आयोजना गरेको ‘सूचना प्रविधि दशकः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पुनले सूचना प्रविधिलाई अर्थतन्त्रको संबाहकका रुपमा अघि बढाएको बताउनुभएको हो ।

     

         “आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधि क्षेत्रको विकासलाई केन्द्रमा राखेको छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “विगतमा कृषिलाई अर्थतन्त्रको आधार मान्दै आएका थियौं । अहिले पनि कृषि क्षेत्र प्राथमिकतामै छ । सँगसँगै जलविद्युत् पर्यटनलगायतका क्षेत्र पनि प्राथमिकतामै छन् । अहिले सूचना प्रविधि क्षेत्र पनि आएको छ ।”

    शेयर बजार : नेप्से परिसूचक ३३.१५ अंकले बढेर  २११५.२४ विन्दुमा ,५ अर्ब ५५ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ३३।१५ अंकले बढेर  २११५।२४ विन्दुमा  आएको छ ।आज  ५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 
    यस दिन ३११ कम्पनीको १ करोड २६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड ३० लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेका छन् ।

    कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । कुमारी बैंकले आज (जेठ २९ गते) देखि ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

    श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ३७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ ।  श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले १ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३७ हजार १३६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा फाइनान्सका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९जेठ २९ गते० बाट ३५ दिन भित्र यस कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक १७.६८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १७.६८ विन्दुले बढेको छ । यससँगै सूचक २०९९.७७ अंकमा आएको छ । २१  लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८२ कम्पनीको ४ हजार १ सय ९२ कित्ता सेयर कारोबार भएको छ ।

    माउन्टेन इनर्जी नेपालको बोनस सेयर डिम्याट खातामा जम्मा

    काठमाडौं । माउन्टेन इनर्जीले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीको २०८० चैत १३ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशवितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।बोनस शेयर गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।

    बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारण सभा जेठ ३० गते , हकप्रद निष्कासन प्रस्ताव पारित गर्न

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद निष्कासन प्रस्ताव पारित गर्न कम्पनीको भोलि बुधबार जेठ ३० गते विशेष साधारण सभा बस्ने भएको छ । कम्पनीको विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे बस्नेछ । 

    सभा प्रयोजनका लागि यसले जेठ २३ गते बुक क्लोज गरिसकेको छ ।

    नेपालमा उत्पादित कटहर सीमावर्ती भारतीय बजारमा लोकप्रिय

    जनकपुरधाम।  धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदैगएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् । नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीयले बताएका छन् ।सीमावर्ती बजार हरिनेका कटहर व्यवसायी श्यामशङ्कर कामतले नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको बताउनुभयो । वैशाखदेखि भदौ महिनासम्म कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा आफूजस्तै विभिन्न स्थानका करिब पाँचसय युवा संलग्न रहेको उहाँले बताउनुभयो ।

    राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

    काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन आज अपराह्न जेनेभा प्रस्थान गर्नुभएको छ । 

    उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिदाइ गर्नुभयो । त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । 

    राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुुख एवं प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

    अमित शाहलाई दोस्रो कार्यकालका लागि भारतीय गृहमन्त्रीको जिम्मेवारी

    नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा) नेता अमित शाहले  लगातार दोस्रो कार्यकालका लागि मङ्गलबार भारतको गृह मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । 

    जिम्मेवारी सम्हालेपछि दिनुभएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उहाँले नयाँ सरकारले देशको सुरक्षालाई अर्को तहमा पु¥याउने र भारतलाई आतङ्कवाद, विद्रोह र नक्सलवादविरुद्धको सुरक्षाकवचका रुपमा निर्माण गर्ने बताउनुभएको छ । 

    प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो सरकारका ३० क्याबिनेट मन्त्रीको नयाँ सूचीमा शाहलाई गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ । पदबहाल सम्हालेलगत्तै शाहले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा राख्दै भन्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा मैले आज पुनः गृह मन्त्रालयको कार्यभार सम्हालेको छु । गृह मन्त्रालय देश र जनताको सुरक्षाका लागि सधैंजस्तै प्रतिबद्ध रहनेछ ।”

    सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको, गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोप उनीहरु विरुद्ध लागेको छ । आयोगले आरोपीविरुद्ध समान रु ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ बराबरको बिगो दाबी गरेको छ ।

    आयोगले नगरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध रु ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ बराबरको बिगो दाबी गरेको छ ।

    विदेश पठाइदिने भन्दै पन्ध्र करोड ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौँ । कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्सलगायतका देश पठाइदिन्छु भनी तीन सयभन्दा बढी व्यक्तिबाट रु १५ करोड ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

     

    प्रहरीले पक्राउ गरेकाहरूमा चितवनको भरतपुर महानगरपालिका(१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिका(८ घर भई हाल पोखरा महानगरपालिका(९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन विक र कास्कीकै पोखरा महानगरपालिका(८ घर भई हाल चितवनको भरतपुर महानगरपालिका(८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् ।

    सर्लाहीको भरत तालमा पनि भ्रष्टाचार गरेको बागमती नगरपालिका थापा विरुद्ध अर्को मुद्दा दायर

    काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध  भ्रष्टाचार गरेको अर्को  मुद्दा दर्ता गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार अर्को मुद्दा दर्ता गराएको हो ।आयोगले  थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो ।थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको दाबी छ ।

    यसअघि २८ चैतमा अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको  थियो ।ताल निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले बागमती नगरपालिकाकी उपमेयर लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले मोक्तानलाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने माग गरेको छ ।

    भन्सार छलि गरी लैजान लागेको पहेँलो धातुसहित दुई जना पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेको नेपाल प्रहरीद्वारा सार्वजनिक समाचार बुलेटिनमा उल्लेख छ ।

    अन्य परियोजनालाई पनि प्रभावित पार्ने सर्वोच्चको सम्पत्ति अधिग्रहणसम्बन्धी फैसला, बिजुलीको तार तानी लाने मुनिको जग्गाको पनि मुआब्जा तिर्नुपर्ने फैसला

    काठमाडौं । सर्वोच्च अदालतले  विद्युत प्रसारण लाइन विस्तारका क्रममा हुने गरिने निजी सम्पत्ति अधिग्रहणमा नयाँ नजिर स्थापित गरेको छ ।तार जाने बाटो वा तार मुनिको भाग अर्थात राइट अफ वेको पनि उचित क्षतिपूर्ति दिनुपर्ने ठहर सर्वोच्च अदालतले गरेको हो। 

    सरकार वा उसको स्वामित्वको नेपाल विद्युत प्राधिकरण, परियोजना र आयोजनाहरुले विद्युत प्रसारण लाइन निर्माण गर्छन्। ती आयोजनाहरुले आफ्ना विद्युत गृहबाट प्राधिकरणको सबस्टेसनसम्म पु¥याउँछन्। प्राधिकरणले प्रसारण लाइन विस्तार गर्दा तार टाँग्न ठाउँ–ठाउँमा टावर निर्माण गर्छ।

    हाल  प्राधिकरणले जहाँ टावर रहने हो त्यहीँ वरपरको जग्गा अधिग्रहण गर्दै त्यसरी निजी सम्पत्ति अधिग्रहण गरेबापत उसले मुआब्जा उपलब्ध गराउँदै आएको छ।अब टावर र त्यस वरपरको सम्पत्ति अधिग्रहणमा मात्र मुआब्जा दिएर नपुग्ने गरी एउटा टावरबाट अर्को टावरसम्म तार टाँग्दा त्यो तार जाने बाटो (तार मुनिको भाग अर्थात राइट अफ वे) को पनि उचित क्षतिपूर्ति दिनुपर्ने ठहर सर्वोच्च अदालतले गरेको हो।

    सरकारले ढुवानीमा नयाँ सवारी कर लगाउँदा मालवस्तु महँगो हुने चिन्ता, ग्यास बुलेट भन्सारमा रोकिए

    काठमाडौं । सरकारले ढुवानीमा नयाँ सवारी कर लगाउँदा मालवस्तु महँगो हुने चिन्ता बढ्न थालेको छ ।साथै सरकारले बजेटमार्फत लगाइएको नयाँ करका कारण ग्यास बुलेट भन्सारमा रोकिएका छन्। ढुवानीका भारतीय सवारी साधनमा लगाइएको १ हजार ५०० रुपैयाँ अतिरिक्त शुल्क कसले तिर्ने भन्नेमा अन्योल भएपछि ग्यास बुलेट भन्सारमा रोकिएका हुन्।

    आइतबारदेखि ग्यास बुलेटमा लाग्ने १ हजार ५०० रुपैयाँ अतिरिक्त शुल्क भन्सारले प्रज्ञापनपत्रमै समावेश गर्न थाले पछि विवाद चर्किन पुगेको छ । यसले अतिरिक्त शुल्कको भार नेपाल आयल निगमले ब्यहोर्नु पर्नेछ । निगमले भने यसबारे अहिलेसम्म केही निर्णय गरेको छैन। अतिरिक्त शुल्कको अन्योलले ग्यास बुलेट भन्सारमा रोकिएका हुन्। व्यवसायीहरुका अनुसार नाकामा ३५ देखि ४० वटा ग्यास बुलेटको भन्सार पास भएको छैन।

    फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

    काठमाडौँ ।  फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । 

     

    साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो । विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल आज यमनविरुद्धको खेलमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ । 

     

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले आफ्नो अन्तिम खेलमा जीत हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताउनुभयो । कप्तान लिम्बूको यो खेलसँगै सय अन्तर्राष्ट्रिय खेल पूरा हुँदैछ ।

    सम्पत्ति शुद्धीकरण ऐन संशोधनबाट अनुसन्धान १४ निकायले गर्न पाउने भएका कारण पुँजी पलायन हुने चिन्ता

    काठमाडौं । सम्पत्ति शुद्धीकरण ऐन संशोधनको नकारात्मक असरका कारण नेपालबाट पुँजी पलायन द्रुतगतिमा हुने चिन्ता बढेको छ ।हालै सम्पत्ति शुद्धीकरण ऐन २०६४को संशोधन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्न पाउने अधिकार अन्य १४वटा निकायलाई दिएयता यस्तो चिन्ता एक कान दुई कान मैदान हुन थालेको हो ।

    यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्र गर्दै आएको थियो । देखासिकी र दातृ निकायको करकापमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सो जिम्मेवारी विस्तार गरी अब नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग, वैदेशिक रोजगार विभाग, वन कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, आन्तरिक राजश्व कार्यालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकलगायत १४ वटा निकायलाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरेर मुद्दा चलाउन सक्ने अधिकार दिएको छ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

     

     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस