Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्   जेठ ३० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 573
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्   जेठ ३० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ ३० बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले एकिकृत कारोबार गर्न स्वीकृती पाए

    काठमाडौं । नेपाल राष्ट्र बैंकले जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको  छ ।
    अन्तिम स्वीकृति पाएसँगै ती दुबै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् । 

    बुटवल उपमहानगरपालिका–११, रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था  र लम्कीचुहा नगरपालिका– ४, कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्नेर गाभिने ९मर्जर० सन्दर्भमा नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते “घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।

    शेयर बजार : नेप्से परिसूचक ६.३७  अंकले बढेर  २१२१.६२ विन्दुमा ,५ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ६.३७  अंकले बढेर  २१२१.६२ विन्दुमा आएको छ । ।आज  ५ अर्ब  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन ३१२ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६३ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ग्रीन लाइफ हाइड्रोपावर अग्रस्थानमा रहेका छन् ।

    हिमालयन लाइफ इन्सुरेन्सको ‘लक इन’ अवधि असार ३१ गते सकिने

    काठमाडौं ।  हिमालयन लाइफ इन्सुरेन्सको ‘लक इन’ अवधि असार ३१ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर अब साउन १ गतेबाट कारोबारका लागि योग्य हुनेछ । 

    कम्पनीको (साबिक युनियन लाइफ इन्सुरेन्स) को २०७८ साल साउन १ गते सेयर बाँडफाँट भएको थियो । कम्पनीको आइपीओ बाँडफाँड भएको ३ वर्ष पुगेको हुनाले ‘लक इन’ अवधिसमाप्त हुन लागेको हो ।

    सुनको मूल्य तोलामा छ सयले बढ्यो , प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ

    काठमाडौँ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १८ सय २० रुपैयाँ कायम भएको छ ।

    आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति

    काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बरावरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट प्रति ऋणपत्र रु।१ हजार अंकित दरका ३० करोड रुपैयाँबरावरको ३ लाख कित्ता भएको ‘९ प्रतिशत आइसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको स्वीकृति पाएको हो । 
    कम्पनीको उक्त आवेदनलाई केन्द्रीय बैंकले जेठ २८ गते स्वीकृती प्रदान गरेको हो ।अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै  ऋणपत्र निष्कासन गर्नेछ ।

    प्रभु बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा , सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

    युनाइटेड अजोड इन्सुरेन्सको विशेष साधारण सभा जेठ ३१ गते , हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले  हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न भोलि बिहीबार जेठ ३१ गते विशेष साधारण सभा बस्ने भएको छ । 

    विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

    हिमालयन बैंकको ५० लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका ६ जना संस्थापकले सेयर बिक्री गर्न लागेका हुन् । यसमा हिमालयन बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड

    गोदार ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह ९एमबिबीएस० अध्ययन–अध्यापन कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    आज प्रतिष्ठानका उपकुलपति प्राडा अङ्कुर साह, रजिष्ट्रार प्राडा विनोदकुमार यादव र मातहतको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल डाइरेक्टर डा रामनरेश पण्डितसँगको छलफलमा उहाँले कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रममा समेत समावेश गरिसकेको जानकारी स्मरण गराउनुभयो ।

    ‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटोः रोड टु डेथ’

    काठमाडौँ । नेपालमा पछिल्लो समय फरक फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हाँस्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन् । केही साता अघि मात्र प्रदर्शन भएको चलचित्र ‘फर्की फर्की’ मा ‘टाइमलुप’को प्रयोग गरिएको थियो । जसलाई दर्शकले रुचाउनुभयो । 

    यही जेठ ३२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘बाटोः रोड टु डेथ’ नेपालमा पहिलोपटक ‘रोड थ्रिलर’ विधामा तयार गरिएको सोही चलचित्रका अभिनेता उत्पल झाले बताउनुभयो । “नेपालमै यो विधामा चलचित्र निर्माण भए जस्तो लाग्दैन । केही नयाँ गर्ने प्रयास हामीले गरेका छौँ । कोरोना महामारीको समयमा एउटा यात्रा तय गर्नुपर्ने हुन्छ । त्यही यात्रामा भेटिने साथी र हुने घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । यो एउटा यात्राको कथा हो”, अभिनेता झाले भन्नुभयो ।

    कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु

    कुवेत सिटी । कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

     

    आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएका छन् । मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो ।

    प्रदेश प्रदत्त खानेपानी बजेट भ्रष्टाचार गर्ने संखुवासभा शारदा माविका तत्कालीन प्रधानाध्यापकसमेत चार विरुद्ध मुद्दा दायर

    काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भनी तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले विद्यालयको खानपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।विद्यालयले प्रदेश सरकारबाट खानेपानी योजना र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट कुनै पनि काम नै नगरी बिल भरपाई मिलाई अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

    ९ लाख रुपैया भन्दा बढी आम्दानी गर्नेहरूका लागि विशेष कर छुट योजना

    काठमाडौं। सरकारले वार्षिक ९ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेलाई  करमा विशेष छुट योजना ल्याएको छ । सरकारले आयकर नियमावलीमा १५औं संशोधन जारी गरी  सरकारी, अर्धसरकारी र निजी क्षेत्रका कर्मचारीका लागि राहत दिएको हो ।सरकारले आयकरको मूल नियमावलीको नियम २१ मा संशोधन गर्दै ‘करयोग्य आयमा घटाउन मिल्ने’ रकमलाई वृद्धि गरिदिएको छ। यो व्यवस्था साउन १ गतेबाट लागू हुने छ ।

    बाबुलाल अग्रवालको  भोटेबहालस्थित  “जिन भवानी इम्पेक्स एन्ड कम्पनी”द्वारा क्लिप काँटा र लेडिज अन्डर गार्मेन्ट आयात र बिक्री वितरणमा ठुलो मात्रामा राजस्व छली

    काठमाडौं । काठमाडौंको भोटे बहालमा रहेको जिन भवानी इम्पेक्स, राज ट्रेड कन्सर्नलगायतका कम्पनीले ठुलो मात्रामा राजस्व छलेको पाइएको छ ।बाबुलाल अग्रवाल र उनका छोरा अमित अग्रवालले सञ्चालन गर्दै आएको जिन भवानी इम्पेक्स(भोटेबहाल)लगायतका कम्पनीहरूले क्लिप काँटा, लेडिज अन्डर गार्मेन्टलगायतका वस्तुहरूको आयात र बिक्री वितरण गर्दा ठुलो मात्रामा राजस्व छली गरिरहेका हुन् ।

    विगत लामो समयदेखि क्लिप काँटा , महिलाहरूले प्रयोग गर्ने विभिन्न प्रकारका वस्तु तथा महिलाकै अन्डर गार्मेन्ट आयात र बिक्री वितरण गर्दै आएका बाबुलाल  अग्रवाल/अमित अग्रवाल क्लिप काँटाको इम्पोर्ट र होलसेल व्यवसाय गर्नेहरू मध्येका ठुला व्यापारी हुन् ।काठमाडौंको भोटेबहालमा अफिस र भोटेबहालमै शोरुम तथा गोदाम गरेका उनीहरूले जिनभवनाी इम्पेक्सलगायतका कम्पनी सञ्चालन गर्दै आएका छन् ।

    यो आवको १० महिनामा अधिकांश वाणिज्य बैंकले गत वर्षको तुलनामा नाफा गुमाए

    काठमाडौं। वाणिज्य बैंकहरुको खुद नाफामा ठुलै गिरावट आएको छ । बैंकहरुको नाफा १५ प्रतिशतले घटेको पाइएको हो । 
    १४ बैंकहरूको नाफा खुम्चिरहँदा ६ वटाको नाफा विस्तार भएको छ ।वाणिज्य वैंकहरूको नाफामा बढ्दो लागत र खराब कर्जाका कारण  गिरावट आएको औँल्याइएको छ ।

    चालु आर्थिक वर्ष (आव)को १० महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए। गतवर्षको तुलनामा यो आवको १० महिनाको बैंकहरुले ८ अर्ब ५६ करोड रुपैयाँ नाफा गुमाए ।

    नबिल बैंकले सबैभन्दा बढी खुद नाफा कमाएको छ । नबिलको खुद नाफा ५ अर्ब ४६ करोड छ ।  नबिलले भने गतवर्षको तुलनामा यो नाफा १०.७५ प्रतिशत कम कमाएको हो । नबिलले गत आर्थिक वर्ष वैशाखसम्म ६ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।नबिलपछि दोस्रो बढी नाफा कमाउने ग्लोबल आइएमईले ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको छ। तर गतवर्षको तुलनामा ग्लोबल आइएमईले यो आवमा  २२.८१ प्रतिशत कम नाफा कमाएको हो।

    राष्ट्रपति पौडेल जेनेभामा

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ ।उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । उहाँले यही जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस)को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

    काठमाडौँ ।   काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।

    सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ ।

     

     
     
     
     
     
     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस