Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

दश वर्षमा पुल निर्माणको प्रगति पाँच प्रतिशत


नया सडक

२०८१, जेठ ३२ शुक्रबार

  • 288
    Shares

  • दश वर्षमा पुल निर्माणको प्रगति पाँच प्रतिशत

    त्रिवेणी (रुकुम पश्चिम) ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ । निर्माण कम्पनीले काम छाडेपछि कम्पनीसंग ठेक्का सम्झौता रद्द गरिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले १० वर्षसम्म पुल निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीसंगको ठेक्का सम्झौता अन्त्य गरेको हो । कार्यालयका प्रमुख तेजस्वी शर्माले देवस्थल चौरजहारी राडीज्युला डोल्पा सडकखण्डअन्तर्गत मध्यपहाडी राजमार्ग नजिकै भेरी नदीमाथि पुर्तिमकाँडा र गरायला जोड्ने पुल निर्माण अलपत्र अवस्थामा छाडिएकाले ठेक्का रद्द गरिएकोे जानकारी दिनुभयो ।

    उहाँका अनुसार पुल निर्माण गर्न सपना शैलुङ जेभी ललितपुर र तत्कालीन मध्यपश्चिमाञ्चल डिभिजन सडक कार्यालय घोराही दाङबीच २०७१ साल मङ्सिर २ गतेमा सम्भौता भएको थियो । सम्झौता भएको दुई वर्षअर्थात् २०७३ पुस १ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो अवधिमा पुल निर्माण हुन नसकेपछि दोस्रो पटक २०७७ साल पुस १३ सम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । तर १० वर्ष बितिसक्दा पनि हालसम्म पुल निर्माणको काम पाँच प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

    निर्माणको काम अलपत्र अवस्थामा छाडेपछि निर्माण व्यवसायीलाई लिखित तथा मौखिकरुपमा पटकपटक अनुरोध गर्दा सम्पर्कमा नआएपछि शर्तबमोजिम दायित्व पूरा गर्न नसकेको हुँदा ठेक्का सम्झौता अन्त्य गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा (५९–७) र ठेक्का सम्झौताको आधारमा ठेक्का अन्त्य गरिएको कार्यालयले जनाएको छ । एक सय ६० मिटर लामो आरसिसी पुल निर्माणका लागि रु १४ करोड ७४ लाखमा सम्झौता भएको थियो ।

    पुल निर्माणको प्रगति पाँच प्रतिशत भए पनि निर्माण व्यवसायीले रु ५५ लाख भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ । कार्यालयको तर्फबाट निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत सुरु भएको र बाँकी कामको मूल्याङ्कन हुने र सम्पूर्ण खर्च सरकारी नियमअनुसार असुलउपर गरिने डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो ।(रासस) 

    प्रतिक्रिया दिनुहोस