Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार २ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, असार २ आइतबार

  • 654
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार २ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    व्यापारिक समूहबीचको टकरावले धितोपत्र बोर्डको अध्यक्ष चुन्न सकस

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनोट सूचीमा परेका पाँच जना उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित रहेका छन् ।राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा छनोट समितिले उनीहरूलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएपनि उनीहरू अनुपस्थित भएका हुन् ।

    अनुपस्थित हुनेहरूमा अर्थ मन्त्रालय  मातहत रहेको धितोपत्र बोर्डका सबैभन्दा वरिष्ठ कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की हुन् । सोही निकायमातहत काम गरिरहेका दुई वरिष्ठ कर्मचारी अन्तर्वार्तामा नै नआउनु भनेको हदैसम्मको गैरजिम्मेवारी भएको मन्त्रालयका अधिकारीहरूको भनाइ रहेको छ ।

    शेयर बजार : नेप्से परिसूचक १७.४ अंकले घटेर २०९५.२५ विन्दुमा ,५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १७.४ अंकले घटेर २०९५.२५ विन्दुमा आएको छ । आज ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३१७ कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र ङादी ग्रुप पावर परेका छन् ।

    नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट सूचीमा परेकाहरूको आज अन्तर्वार्ता

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका तीन जनाको सिफारिस गर्न आज अन्तर्वार्ता भइरहेको छ ।यसअघि आवेदकहरू मध्येबाट छनोट गरिएका पाँच जनाहरू मध्येबाट तीन जना छान्न अन्तर्वार्ता सुरु भएको हो ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको सिफारिस समितिमा छनोटमा परेकाहरूलाई कार्ययोजना प्रस्तुतिकरण गर्न लगाई तीन जनाको छनोट गरिने छ ।

    छनोट सूचीमा सामेल भएकाहरूमा  नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी तथा मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोषनारायण श्रेष्ठ छन् ।

    आज नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असार ४ गते बुक क्लोज गर्देछ । तर, नेपाल सरकारले भोली अर्थात असार ३ गते सोमवार, सार्वजनिक बिदा दिने घोषणा गरेको छ । यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन । 
    कम्पनीले असार १८ गते, मंगलवार, होटल भिष्वा, वीरगञ्ज, पर्सामा २३ औँ र २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

    विजय लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९र८० को लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । असार १ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ुकनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य , प्रतितोला एक लाख ४१ हजार रुपैयाँ

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

    तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो ।

    आज कुमारी बैंकको साढे १४ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । कुमारी बैंकको १४ लाख ६१ हजार ६०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (असार २ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

    यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 
    सेयर खरिद गर्न इच्छुक संस्थापकले आजबाट ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

    प्रि ओपन सेसन :नेप्से सूचक ३.७३ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ३.७३ विन्दुले बढेको छ । यससँगै सूचक २११६.०३ अंकमा आएको छ । ५६ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ७ हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

    सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन

    काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । 

    मन्त्रालयमा आज आयोजित माताहतका निकाय प्रमुखहरुसँगको बैठकमा उहाँले सूचना प्रविधि दशकको प्रस्ताव मुलुकको रुपान्तरणकारी परियोजनाको रुपमा अघि सारिएको उल्लेख गर्दै यसलाई बनाउने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभएको हो ।

    “सूचना प्रविधि दशक सफल पार्न मन्त्रालयले समग्र गुरुयोजना बनाउने नै छ”, मन्त्री शर्माले भन्नुभयो, “त्यसलाई सहयोग गर्ने गरी हरेक निकायले क्षेत्रगत योजना बनाउन आवश्यक छ ।” मूलतः यसमा सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकमलगायतको नेतृत्वदायी भूमिका रहने भए पनि आवश्यक प्रचारप्रचारका लागि आमसञ्चार क्षेत्रले पनि योजना बनाउनुपर्ने उहाँले बताउनुुभयो । सबै निकायले आन्तरिक योजना बनाउँदा सूचना प्रविधि दशकलाई नै केन्द्रमा राखेर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

    कुन प्रदेशको कस्तो कर नीति ?

    काठमाडौँ ।  सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेका छन् । प्रदेशहरुले विनियोजन विधेयक तथा आर्थिक विधेयकमार्फत करका विभिन्न सहुलियत तथा नयाँ व्यवस्था ल्याएका छन् । 

     

    प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुङ्गा, गिट्टी, बालुवालगायतका विभिन्न क्षेत्र लाग्दै आएका करका दरहरु केहिले परिमार्जन गरेका छन् भने केहिले यथावत् राखेका छन् । सवारी साधन दर्ता तथा नवीकरण, उद्योग दर्ता तथा नवीरकणलगायतका विभिन्न शूल्कमा भएको परिवर्तन र प्रदेशहरुले आगामी आर्थिक वर्षको बजेटमार्फत् तय गरेका राजस्व नीतिबारे राससले समीक्षा गरेको छ ।  

     

    कोशी प्रदेश

     

         कोशी प्रदेशले राजस्वसम्बन्धी गरेको नयाँ व्यवस्थाअनुसार निजी सवारी साधनधनीले चाहेमा लाग्ने सवारी साधन कर पाँच वर्षसम्मका लागि एकमुष्ठ रुपमा बुझाई नवीकरण गर्न सक्नेछन् । अन्य प्रदेशको सरुवा सहमतिबाट यस प्रदेशमा दर्ता भएका सवारी साधनहरुलाई लाग्ने सवारी साधन करमा ५० प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।

    विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल सम्पन्न

    काठमाडौँ । विनियोजन विधेयक, २०८१ अन्तर्गत आज विभिन्न तीन मन्त्रालयका शीर्षकमा छलफल सम्पन्न भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल सम्पन्न भएको हो । छलफलमा सांसदहरूले दलीय आधारमा ती मन्त्रालयका विभिन्न शीर्षकमा टिप्पणी र सुझाव प्रस्तुत गर्नुभयो ।

    सभाको अर्को बैठक यही असार ४ गते मङ्गलबार बिहान ११ बजे बस्ने छ ।

    विश्वकप क्रिकेटः नेपालले बङ्गलादेशसँग खेल्ने

    काठमाडौँ ।  आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । 
     
     वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर बङ्गलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ । 
     
     समूह डि बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अब समूह डि बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ ।

    मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ अध्यक्ष ढकालको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरुले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । 
    ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको बताउनुभएको छ ।

    सहकारी अपचलन छानबिन गर्न बनेको संसदीय समितिको  औपचारिकरूपमा काम गर्न कार्यविधि फाइनल

    काठमाडौं । विभिन्न सहकारीमा भएको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन समितिले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची निर्धारण गरेको छ । नयाँ बानेश्वरमा आइतबार बसेको सो समितिको बैठकले कार्यविधि अनुसार कार्यसूची बनाएको  हो ।

    पहिलो चरणमा सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची  निर्धारण गरिएको समितिका सभापति सूर्य थापाले जानकारी सार्वजनिक गरेका छन् ।

    कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट

    झापा ।कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा उक्त रकम विनियोजन गरिएको हो ।

     

    ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्ने उद्देश्यसहित बहुआयामिक विकासलाई तीव्र रुपमा अघि बढाउने सङ्कल्प गरिएको उक्त बजेटमा झापाको प्रादेशिक अस्पताल भद्रपुरलाई ‘उत्कृष्ट सेवा केन्द्र’का रुपमा विकास गरिने घोषणा गरिएको छ ।

    चालु आर्थिक वर्ष २०८०/८१ : एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा जेठ मसान्तसम्ममा रु आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर खर्च भएको छ ।

    मनकामना केबुलकार ५० दिन बन्द हुने

    मुग्लिन ।  नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । 

     

    केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । 

    शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस, ३५ वर्षयताकै गर्मी उच्च मापन

    काठमाडौ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । यो २०४६ सालएताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार असार १ गते ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि सन् २०२० सम्मको अवधिको अधिकतम तापक्रम ०।०५ डिग्री सेल्सियसले बढेको छ । जुन महिनाको मात्रै सबैभन्दा ताता दिनहरुको ट्रेण्ड ०।०५ डिग्री सेल्सियसले बढेको छ ।

     

     
     
     
     
     
     
     

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस